१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

सडक ठेक्का तोड्न माग गर्दै आन्दोलन घोषणा

भक्तपुरस्थित नगरकोट सडकको ठेक्का तोड्न माग गर्दै चाँगुनारायण नगरपालिकाले आन्दोलनको घोषणा गरेको छ। नगरपालिकाले पत्रकार सम्मेलन गरेर पुस ७ देखि १५ गतेसम्मको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो।

सडक निर्माण कार्य अलपत्र पार्नुको कारणबारे पुस ७ गते सरोकारवालासँग अन्तक्र्रिया, ११ गते जिल्ला प्रशासन कार्यालय भक्तपुर घेराउ र १५ गते सडक सुधार तथा विकास आयोजना कार्यालय काठमाडौं घेराउ कार्यक्रम सार्वजनिक गरेको हो।

नगरपालिकाका प्रमुख सोम मिश्रले यतिले पनि सुनुवाइ नभए ठेकेदार कम्पनीको कार्यालय तथा निवास घेराउ, माइतीघर मण्डलामा धर्ना कार्यक्रम र अरनिको राजमार्ग चक्काजाम गर्ने कार्यक्रम पनि तय गरेको जानकारी गराए। पछिल्लो कार्यक्रमको मिति भने तय गरिएको छैन। माथिल्लो कार्यक्रमसगै माग सुनुवाइ भए थप आन्दोलन गर्नु आवश्यक नरहेकाले अहिलेलाई मिति घोषणा नगरिएको मेयर मिश्रले बताए। साथै सरोकारवालाहरूसँगको छलफलपछि त्यसअनुसार मिति तोक्नुपर्ने भएकाले पनि पछिल्लो आन्दोलनको कार्यक्रमको मिति घोषणा नगरिएको मेयर मिश्रले जानकारी गराए। उनले अहिलेका ठेकेदारले काम गर्ने विश्वास नभएकाले ठेक्का तोड्नुपर्ने माग राखे।

ठेक्का तोडेर नगरपालिकालाई सुम्पे नगरपालिकाबाट सडक बनाइदिने उनले प्रतिबद्धता जनाए। भक्तपुरको कमलविनायक भत्केकोपाटीदेखि नगरकोटसम्म पुग्ने सडक २०७३ असार ३ गतेभित्र सम्पन्न गर्ने गरी ठक्का भएको थियो। तर, सडक निर्माण सम्पन्न गरिसक्नुपर्ने आठ वर्ष बिते पनि सडक अहिलेसम्म पनि अलपत्र नै छ। निर्धारित मितिमा काम नसकेपछि सरकारले पटकपटक गरी सातपटक म्याद थप गरिसकेको छ।

पछिल्लोपटक भाद्र ३ गतेको मन्त्रिपरिषद्को बैठकलाई आधार मानी असोज २८ गते यो आयोजनाको म्याद सडक सम्पन्न गर्नुपर्ने अवधिलाई चैत मसान्तसम्म थप गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जनाइयो।

प्रकाशित: ४ पुस २०७८ ०१:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App