५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

किसानलाई सधैं धोका

उन्नत जातको बीउ भन्दै सिफारिस गरेको सरकारले नक्कली बीउ परेपछि दुई वर्षअघि सुदूरपश्चिमका किसानले धान खेतीमा धोका खाएका थिए। प्रदेश सरकारले मसिनो धान खेतीका लागि ‘आकर्षक’ कार्यक्रम ल्याएपछि गरिमा धानको बीउ रोपेका किसानले फसल नदिँदा दुई वर्षअघि ठूलै धोका खाए।

कैलाली र कञ्चनपुरको ६ सय ५३ हेक्टर क्षेत्रफलमा गरिमा जातको धान लगाएका किसान नक्कली धानको बीउका कारण त्यो बेला धोकामा परेका थिए। ठीक त्यसैगरि यसपालि पनि धान भित्र्याउनै लाग्दा आएको वर्षात्ले बारीमा भिज्नुका साथै बगाएपछि पीडित किसानलाई अहिलेसम्म सरकारले राहत उपलब्ध गराउन नसक्दा भने उनीहरूलाई ठूलै धोका भएको हो।

धान खेतीमा मात्रै नभई हरेक बालीमा किसानले धोका खाँदै आएका छन्। किसानलाई कहिले मौसमले त कहिले सरकारले धोका दिँदै आएको छ। सरकारले किसानका लागि भनेर ल्याउने मल समेत समयमै नल्याइँदिँदा पनि ठूलै धोका व्यहोर्दै आएका छन्।

किसानले कहिले मल,बीउ नपाउनु त कहिले फलेको फसलले उचित मूल्य तथा बजार नपानु र कहिल्यै भित्र्याउन ठीक्क पारेको फसल बारीबाटै वर्षातको बाढीले बगाउँदा सधैँ किसान ठगिँदै आएका छन्। मल तथा बीउविजन नपाउँदा सरकारसँग गुनासो राख्दा ढिलोगरि पाइने गरे पनि यसपालि भने सुदूरका किसानलाई प्रकृतिले नै धोका दिइदियो।

गत असोज ३१ गते बेलुकीदेखि लगातार तीन दिनसम्म परेको वर्षातले सुदूरपश्चिमका कृषकको बारीमा लगाइएका बालीनालीमा क्षति पुगेको थियो। लगातारको वर्षाले सुदूरका किसानको बारीमा लगाइएका बालीनाली सबै सखाप भए।भित्र्याउन तयारी अवस्थाको धान खेतमै भिज्नुका साथै बगे।

दशैं अघि धान काटेर सुकाउन खेतमै राखेका किसानको धानबाली भिजेर काम नलाग्ने अवस्थामा पुग्यो भने छरिएको तोरी तथा तरकारी बालीलाई पनि क्षति पुग्यो। ‘हामी पटक–पटक ठगिँदै आएका छौँ,’ गौरीगंगाका किसान चेतराज जोशीले भने,‘दुई वर्षअघि गरिमा धानबाट ठगिएका हामी यसपटक भने प्रकृतिले नै ठगिदियो।’

कहिल्यै सरकारले त कहिल्यै प्रकृतिले नै ठगिदिने गरेको बताउँदै उनले भने,‘सरकारले त ठग्थ्यो ठग्थ्यो यसपटक त प्रकृतिले पनि ठगिदियो।’ समयमै मल बीउ नपाउँदा सरकारबाट ठगिएका किसानलाई यसपालि भने वर्षातले पनि ठगिदिएको प्रदेश कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशी बताउँछन्। ‘भिœयाउन ठिक्क पारिएको धान पानीले भिज्नुका साथै बगाइदिएको थियो,’ उनले भने,‘अन्न उब्जाएर सबैलाई पाल्ने किसाननै यसपालि ठगिएका छन्।’

प्रकृतिबाट ठगिएका किसानलाई यसपालि राहत उपलब्ध गराइदिन भन्दै उनीहरूको क्षतिको विवरण संकलन गरेर प्रदेशस्थित भूमि व्यवस्था तथा कृषि मन्त्रालयमा पठाइएको उनले बताए। ‘हामीले तथ्याङ्क संकलन गरेर रातह उपलब्ध गराइदिन भन्दै सिफारिस गरिदिने हो,’ उनले भने,‘हामीले क्षति भएकै समयमा चाँडै विवरण संकलन गरेर माथि पठाइदिएका थियौँ, अहिलेसम्म राहत पाएको छैन भनेर किसानले गुनासो भने गर्दै आएका छन्।’ बेमौसमी वर्षातले खाद्यान्न, तेलहन, तरकारी तथा फलफुल बालीमा क्षति व्यहोरेको डेढ महिना वितिसक्दा पनि राहत नपाउँदा किसान आशैआशमा बसेका छन्।

खेतमा धान भिजेपछि पीडित बनेका किसानलाई सरकारले राहत दिने भन्ने सुनेको बताउँदै अर्का किसान राजेन्द्र चौधरीले भने,‘धान भिजेको डेढ महिना वितिसक्दा पनि त्यो राहत आउनै सकेको छैन।’ सरकारले दिने राहतको बाटो पर्खदै बसेको बताउँदै उनले भने,‘समयमै राहत दिएको भए आएको पैसाले धान रोप्दा लागेको ऋण तिरौला सोचेको थिएँ, त्यो पनि नहुने भयो।’ ऋण तिर्नकै लागि पनि राहत दिने सरकारको बाटो कुर्दै बसेको उनले बताए।

संघीय सरकारले धान बालीमा क्षति पुगेको किसानलाई राहत दिने घोषणा गरे पनि अहिलेसम्म सम्बन्धित जिल्लामा राहत नपुगेको बताउँदै सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता तथा सूचना अधिकारी गोकुलप्रसाद बोहराले भने,‘संघीय सरकारले घोषणा गरेको राहत सम्बन्धित जिल्ला प्रशासनमार्फत् नै आउने हो,तर अहिलेसम्म भने आइपुगेको छैन।’ दैवी प्रकोप उद्धार समिति रहेको जिल्ला प्रशासनबाटै आउने राहतलाई सम्बन्धित जिल्लाका कृषि ज्ञान केन्द्रले पठाएको तथ्याङ्ककै आधारमा आउने उनले बताए।

यस्तै धानबाहेक दलहन, तेलहन, तरकारी र फलफुल खेतीमा पुगेको क्षतिपूर्तिबापतको राहत रकम भने सुदूरपश्चिम प्रदेश सरकारको कृषि मन्त्रालयले व्यहोर्ने उनले बताए पनि प्रदेश सरकारको राहत समेत सम्बन्धित किसानले पाउन सकेका छैनन्।

वर्षात्ले सुदूरपश्चिममा ८४ हजार ९ सय १७ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा क्षति पुगेको थियो। प्रत्येक जिल्लाका स्थानीय तहका कृषि शाखाले संकलन गरेको तथ्याङ्क अनुसार सुदूरपश्चिमका दार्चुलाबाहेकका ८ जिल्लामा ६ अर्ब ३७ करोड रूपैयाँ बराबरको धान बालीमा क्षति पुगेको प्रदेश कृषि निर्देशनालय दिपायलका प्रमुख जोशीले बताए। उनले भने,‘स्थानीय तहको कृषि शाखाले दिएको तथ्याङ्कले नै सुदूरपश्चिममा ठूलो मात्रामा धान खेतीमा क्षति पुगेको देखिन्छ।’

यस्तै सुदूरपश्चिममा धान बालीबाहेक तरकारी, दलहन, तेलहन र फलफुलमा पनि उत्तिकै मात्रामा क्षति पुगेको थियो। सुदूरपश्चिममा वर्षात्ले २ हजार ५ सय १ हेक्टर क्षेत्रफलमा लगाइएको आलु, ४ हजार ९ सय हेक्टरमा लगाइएको तोरी, २ हजार ७८ हेक्टरमा लगाइएको केरा, २ हजार ४ सय २१ हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी र ९ सय ९९ हेक्टर क्षेत्रफलमा लगाइएको कोदोमा क्षति पुगेको थियो।

प्रकाशित: २७ मंसिर २०७८ ०६:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App