९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

शृंखलाबद्ध हत्यारा गुल्जार ९ वर्षपछि पक्राउ

सप्तरीको शृंखलावद्ध हत्याका मुख्य योजनाकार गुल्जारलाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका –१ महेशवारी गाउँमा बस्दै आएका सप्तरी सुरुंगा नगरपालिका–१० थलाहाका ६० वर्षीय उनलाई सप्तरी प्रहरीले पक्राउ गरेको हो।

सप्तरी प्रहरीका सर्वाधिक खोजी सूचीमा रहेका गुल्जारलाई सिरहाको महेशबारी टोलमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

गुज्जार कर्तव्य ज्यान र खुनडाका मुद्दाका फारर अभियुक्त भएको डिएसपी काफ्लेले भने। सप्तरीमा भएका शृंखलावद्ध हत्या घटनाका मुख्य योजनाकार साविक टिकुलिया गाविस–६ घर भई कुशहा–६ बस्ने सकिल हुसेन मियाँ, गुल्जार मियाँ र मस्तकिम मियाँ घटनापछि विदेश फरार भएका थिए।

शृंखलावद्ध हत्यारा सकिललाई इन्टरपोलमार्फत कतारमा पक्राउ गरी २०७४ फागुन २० गते नेपाल प्रहरीको जिम्मा लगाएको थियो। सकिलका नाममा २०७२ असार ४ गते इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएको थियो। पक्राउ परेका गुल्जार उनै सकिलका मुख्य सहयोगी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

 सकिलका अर्का मुख्य सहयोगी भारतीय नागरिक मोहम्द मस्तकिम भनिने रइस मियाँलाई ०७३ भदौ महिनामै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो। वैदेशिक रोजगारीका लागि जाने क्रममा उनलाई सप्तरी प्रहरीले पक्राउ गरेको थियो।

रइसमाथि सप्तरीमा ४ र सुनसरीमा ३ जनाको हत्या अभियोग छ। बिहारको मधुवनी जिल्लाअन्तर्गत लौकहा बगमरियाका उनी सप्तरी सारस्वर गाउँमा बस्दै आएका थिए। सकिल, रइस, गुल्जारसहितको समूहले सप्तरीमा ०६९ मा सहबुद मियाँ र निजकी बुहारी सगिरा खातुन,०७० मा जन्डौल ६ की दुलारीदेवी साह र त्रिकोल गाविस–५ की निर्मलादेवी साहको हत्या गरेको अभियोग छ। यस्तै सुनसरीको इनरुवामा एकै परिवारका तीनजनाको हत्या भएको समेत यो समूहमाथि अभियोग छ।

पैसा पचाउन हत्या

सकिल, गुल्जार र रइससहितले पहिलो हत्या सप्तरी कुसहाका ससुरा–बुहारी सहबुद मिया र सगिरा खातुनको गरेको थियो। सहबुदका छोरा तथा मोहम्द आलम कर्तव्य ज्यान मुद्दामा राजविराज कारागारमा रहेका बेला रइसका साथी सकिल हुसेन पनि त्यही थिए।

उनीहरूको कारागारमा चिनजान भएपछि छुटेर आएका सकिलले आलमलाई जेलबाट छुटाइदिने भन्दै ससुरा–बुहारीसित चिनजान गरेका थिए।

सकिल कारागारबाट छुटेपछि सहबुदको घरमा गई ‘तिम्रो छोरा कारागारमा रहेछ म पनि त्यही थिएँ, म पैसा खर्च गरेर छुटेको हुँ। मेरो माथिसम्म चिनेका मान्छे छन्, खर्च गर्छौ भने तिमीहरूको छोरालाई पनि छुटाइदिन सक्छु।’ सहबुद मियाँ र आलमकी श्रीमती सगिरा खातुन सकिल हुसेनको प्रलोभनमा परेर सुरुमा ७६ हजार र २०६९ असोज १ गते दुई लाख रकम निज सहबुदबाट सकिलले लिएका थिए।

कारागार छुटाउनका लागि राजविराज हुँदै काठमाडौंसम्म जानुपर्छ भन्ने बहाना बनाई ०६९ असोज १० गते सकिलले सहबुद र सगिरालाई आफ्नो घर कुसहा बोलाई मोटरसाइकलमा राखेर कल्यायाणपुर ८ मा आफैंले सञ्चालन गरेको कुखुरा फर्ममा लगी दिनभरि त्यही राखेर हत्या गरेका थिए। उनीहरूको हत्या गर्नुको कारण थियो, सापटी लिएको २ लाख ७६ हजार रूपैयाँ।

प्रकाशित: २४ मंसिर २०७८ ०१:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App