७ भाद्र २०८१ शुक्रबार
image/svg+xml
समाज

गुन्डा नाइके अभिषेक गिरीलाई कारागार प्रवेश गराउने र नगराउनेको प्रदर्शन

मोरङ जिल्ला कारागार भदौयता अशान्त बन्दै गएको छ। विराटनगर घर भएका गुन्डा नाइके अभिषेक गिरीलाई मोरङ कारागार ल्याउने निर्णय भएसँगै कारागार अशान्त बनिरहेको छ। अपहरण तथा शरीर बन्धक मुद्दामा गिरी कैद सजाय भुक्तान गरिरहेका छन्। 

४ वर्षअघि मोरङ करागाराबाट सरुवा गरी काठमाडौंस्थित डिल्ली बजार कारागार लगिएको थियो। सरकार परिवर्तन भएर काँग्रेसको सरकार बनेपछि गिरीलाई मोरङ ल्याउन पार्टीका नेताहरुले दबाव दिँदै आएका थिए। काँग्रेस निकट रहेका गिरीलाई पार्टीका नेताहरुले मोरङ सरुवा गरी ल्याउन दबाव दिएपछि भदौ १७ गते सरुवा (स्थानान्तरण)को निर्णय भएको हो। सोही निर्णयका आधारमा डिल्ली बजार कारागारबाट गिरीलाई २०७८ कात्तिक १६ गते मोरङ कारागार ल्याइएको थियो। तर, कारागारभित्रका कैदीबन्दीले भित्रै र कैदीबन्दीका आफन्तले कारागारको गेट बाहिर गिरीविरुद्ध प्रदर्शनका कारण प्रवेश पाएनन्। प्रदर्शनबाट अवरोधपछि गिरीलाई जिल्ला कारागार सप्तरी पठाइएको थियो। सप्तरी पठाइए पनि पुनः गिरीको विराटनगर सरुवा गरिएको छ।

मोरङ कारागारमा सरुवा भएर प्रवेश नपाएपछि उनकै योजनामा कारागारमा अनेकौं झमेला  हुँदै आएको स्रोतले बताएको छ। गिरीलाई अहिले सप्तरी कारागारमा राखिएको छ। गिरीलाई सहज रुपमा कारागार प्रवेश गराउनु पर्ने माग राख्दै आइतबारदेखि उनी समर्थक कांग्रेसका नेता कार्यकर्ताले मोरङ कारागार अगाडि प्रदर्शन गरेका छन्। प्रदर्शनको नेतृत्व काँग्रेस विराटनगर महानगर समितिका सहसचिव सचिन पोखरेलले गरेका थिए।  

४०/५० जनाको संख्यामा रहेका प्रदर्शनकारीले कारागार प्रशासन र कारागारका चौकीदार कात्तिक कामतलगायतका कैदीबन्दीविरुद्ध नाराबाजी गरेका थिए। पोखरेलले भने गिरीका लागि भन्दा पनि कारागारमा भइरहेको बेथितीविरुद्ध आन्दोलन गरिएको दाबी गरेका छन्। ‘प्रशासनको मिलेमतोमा कारागारभित्र दिनदिनै झमेला भइरहेको छ। यातना र कुटपिटका कारण धेरै कैदीबन्दीको मृत्यु पनि भइसक्यो,’ पोखरेलले भने, ‘जेल सुधार गृह हो। तर सुधार गृहभित्र बसिरहेका कैदीबन्दी असुरक्षित भएपछि आन्दोलनमा जानुपर्ने अवस्था आयो।’ कारागारभित्र भइरहेको कैदीबन्दीको मृत्युका सवालमा छानबिन हुनुपर्ने माग गरेका छन्। शनिबार मृत्यु भएका कैदीबन्दी गोपाल शर्माको मृत्यु यतनाका कारण भएकाले छानबिन हुनु पर्ने बताएका छन्। शर्मा पक्राउ पर्दा नेपाल टे«ड युनियन काँग्रेस मोरङका अध्यक्ष थिए।  

कारागारमा पुनः गिरी आउने भएपछि कारागार प्रवेश गर्न नदिने तयारीमा अन्य कैदीबन्दी लागेका छन्। ‘कारागारभित्र रहेका हामी सबै बन्दी गिरीको विरुद्धमा छौं,’ एक कैदीले भने, ‘कात्तिकमा उसलाई रोक्यौं, अब पनि रोक्छौं।’ प्रशासनले जबरजस्ती उसलाई प्रवेश गराउन खोज्यो भने त्यसपछि हुने घटनाको जिम्मेवारी कसले लिने भनेर चेतावनी दिएका छन्। पुनः मोरङमा  गिरीलाई ल्याउन नहुने भन्दै कैदीबन्दीले कारागार व्यवस्था विभागमा निवेदन दिएका छन्।

गिरी चौकीदार रहेका बेला मोरङ कारागारभित्र गुन्डागर्दी र असुली गर्दै कैदीबन्दीमाथि चरम यातना दिएको विषय बाहिरिएपछि मोरङबाट २०७४ चैत २३ गते डिल्लीबजार स्थानान्तरण गरिएको थियो। गिरीको स्थानान्तरणपछि नवीन राई चौकीदार भए। गिरीलाई ल्याउनकै लागि चौकीदार नवीन राईलाई गत असोज १८ गते झुम्का कारागार लगियो। गिरीलाई मोरङ ल्याएर चौकीदारको जिम्मेवारी दिने तयारी अनुरुप राईलाई झुम्का लगिएको थियो।  

सप्तरी पठाएको दुई सातामै पुनः गिरीलाई मोरङ पठाउने निर्णय भएको पत्र आएको निमित्त जेलर रामप्रसाद पोखरेले बताए। उनका अनुसार शुक्रबार बेलुका कारागार व्यवस्थापन विभागले गिरीलाई विराटनगर स्थानान्तरण गरेको पत्र पठाए पनि उनलाई ल्याइसकिएको छैन। तत्काल गिरीलाई मोरङ ल्याउने वातावरण राम्रो नभएको कारागार व्यवस्थापन विभागलाई जानकारी गराइसकेको निमित्त जेलर पोखरेलले भने।  

गत कात्तिक १६ गते गिरीले प्रवेश नपाएपछि उनकै योजनामा कात्तिक २४ गते मोरङ कारागारमा झडप भयो। झडपमा गिरीको विपक्षमा रहेका चौकीदार किरण गुरुङसहित ६ जना घाइते भए। घटनापछि गिरीको विपक्षमा रहेका चौकीदारसहित १४ जना नाइके तथा भाइनाइके कैदीबन्दीलाई झुम्का, झापा र इलाम कारागारमा स्थानान्तरण गरियो। तर, गिरीका पक्ष लागेर झडपमा संलग्न भएकाहरुलाई भने स्थानान्तरण गरिएन। चौकीदार गुरुङसहितका कैदीबन्दीको स्थानान्तरणपछि कात्तिक कामतले चौकीदारको जिम्मेवारी पाए। कामत पनि पहिले गिरीकै पक्षमा थिए। चौकीदार बनेपछि उनी अहिले गिरीलाई प्रवेश गर्न नदिने पक्षमा उभिएका छन्।  

मोरङ कारागार चौकीदारका लागि राम्रो आम्दानीको स्रोत मानिन्छ। २ सय ५० जना क्षमता रहेको कारागारमा ९ सय ५८ जना कैदीबन्दी राखिएको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले आन्दोलन हुन थालेपछि कारागार वरपरको सुरक्षा व्यवस्था कडा पारिएको बताए। सबैतिर सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाएर सुरक्षा व्यवस्था मजबुत बनाइएको डिएसपी श्रेष्ठले भने।

प्रकाशित: ६ मंसिर २०७८ ११:४२ सोमबार

मोरङ जिल्ला कारागार गुन्डा नाइके अभिषेक गिरी