१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

गौतमबुद्ध विमानस्थलमा एरो थाईले क्यालिब्रेसन फ्लाइट गर्ने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) गर्न थाइल्याण्डको एरो थाईले अनुमति पाएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौता अनुरुप एरो थाईलाई क्लालिब्रेशन फ्लाइट गर्न अनुमति दिएको हो।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयारी अवस्थामा छ। क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने प्रक्रिया हो। यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्नुपर्छ।

एरो थाइले क्लालिब्रेसन फ्लाईट गर्ने अनुमति पाएसँगै परीक्षण उडानको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए। उनका अनुसार अबको एकमहिनाभित्रै परीक्षण उडान हुनेछ। त्यसबीचमा प्राधिकरणले आन्तरिक तयारी गर्नेछ। एरो थाई थाइल्याण्डको प्रतिष्ठित हवाई कम्पनी हो। थाई एयरवेजका लागि एटिसिलगायत प्राविधिक जनशक्ति एरो थाइले उपलब्ध गराउने गरेको बताइन्छ। आगामी नोभेम्बर २२ तारिखमा एरो थाईले प्राविधिक जनशिक्तसहित नेपालमा जहाज ल्याएर प्रक्रिया पुरा गरी क्लालिब्रेसन फ्लाइट गर्ने प्राधिकरणले जनाएको छ। यो काम एकसाता अवधिको हुनेछ।

कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष नै उद्घाटन गर्ने भनिएको उक्त आयोजना केही बिलम्ब भएको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनबमोजिम प्राधिकरणले क्लालिब्रसन फ्लाइटको टुङ्गो लगाएको हो।

महानिर्देशक क्षेत्रीले भूकम्प, नाकाबन्दी तथा ठेकेदारले बेलैमा पैसाको जोहो र निर्माण सामग्री गर्न नसक्नुले पनि आयोजना सम्पन्नमा ढिलाइ भएको बताए।

परीक्षण उडान गरेपछि अन्तर्राष्ट्रिय वायुसेवालाई नियमित उडानका लागि आह्वान गरिने उनको भनाइ छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुने जनाइएको छ। विमानस्थलको टेक्निकल स्टाटसको काम लगभग सकिसकेकाले अबको पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुने महानिर्देशक क्षेत्रीले बताए।

गौतमबुद्ध विमानस्थल अङ्ग्रेजी वर्ष सन् २०२१ को सुरूआतबाट सञ्चालनमा ल्याइने जनाइएको थियो। सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ को सुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो। पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्यरूपमा प्रगति भयो।

पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो। प्राविधिक कारण ढिलाइ भएको उक्त आयोजनालाई कोरोनाको सन्त्रासले थप विलम्ब बनाएको हो। विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरेको हो। एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको उक्त आयोजनाका लागि दुवै चरणमा गरी रु सात अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ।

कुल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ। प्राधिकरणका अनुसार हाल ८० प्रतिशत भौतिक प्रगति सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अबको छ महिनामा परीक्षण उडान हुने गरी तयारी भइरहेको जानकारी दिँदै एक वर्षभित्र अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिने बताए।

प्रकाशित: २१ कार्तिक २०७८ ०९:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App