सपनाको सहर काठमाडौंभित्र नखोजिएका कथा भेटिन्छन्। ति कथाभित्र थरीथरीका पात्र भेटिन्छन्। आम मानिसले पढ्दा वा सुन्दा त्यो कथा मात्रै होला तर यो कथा बुन्न उक्त मानिसको पूरा जिन्दगी लागेको हुन्छ। यिनै करोडौँ कथा भित्रकी एक पात्र हुन् बबिता बानियाँ।
काभ्रेबाट झण्डै अढाई दशकअघि काठमाडौं आएकी बबिता आफ्नै यथार्थ कथाकी एक पात्र हुन्। जिन्दगीका अप्ठ्याराहरुलाई पार गर्दै उनी यहाँसम्म आइपुगेकी हुन्। उनको जिन्दगी अहिले फुटपाथ व्यापारमा अडिएको छ।
जब साँझ पर्न थाल्छ काठमाडौंका प्रमुख सडकहरु एकाएक भरिन थाल्छन्। फुटपाथमा व्यापार गर्नेहरुको लावालस्कर नै लाग्छ। उनीहरु केही छुटे जस्तो हतार हतार गर्दै संधै झै आफूहरु संधै बस्ने ठाउँमा आइपुग्छन्। तिनै मध्यकी एक हुन् बबिता।
विशेष गरि काठमाडौंका मुख्य स्थान सुन्धारा, नयाँ बानेश्वर, रत्नपार्क, कालीमाटी, पाटन, लगनखेल, गोंगबु, नयाँ बसपार्क जस्ता मुख्य सडकहरुमा पसल गर्नेको घुँइचो लाग्ने गर्छ। त्यसकै लय पछ्याउँदै बबिता पनि प्रत्येक दिन चुलो बाल्न फुटपाथमा ओर्लिन्छिन्।
४९ वर्षीया बबिता हरेक साँझ बिहान सामान पोको पारेर सडक पेटिमा जान्छिन्। दिनभरको कमाइले घर भाडा तिर्ने परिवारको पेट पाल्ने उनको जिम्मा छ। उनी फुटपाथमा सामान फिजाउँछिन् र सुरु हुन्छ उनको दैनिकी। साँझको समयमा भीडभाड बढ्दै जाँदा फुटपाथमा व्यापार सुरु हुन्छ। फुटपाथमा नपुग्ने बेलासम्म उनको मनमा अनेकौं कुराहरु खेलिरहेका हुन्छन्।
आज व्यापार भएन भने बेलुकाको छाक कसरी टार्ने भन्ने चिन्ता भइरहने उनी भन्छिन्, 'फुटपाथले नै साँझ-विहान चुलो बलिरहेको छ र त सडकमा भाग दौड गरिहेकी छु।'
नयाँ बसपार्क नजिकै सडकमा बबिता पछिल्लो २४ वर्षदेखि कपडा, साबुन, जुत्ता पालिस, जस्ता सामान बेच्छिन्। घरभाडा, विहान बेलुकाको छाक सबै यसैमा निर्भर छ उनकाे। बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्म सडक व्यापारमा हुन्छिन् उनी। धेरै कमाउन नसकेपनि आत्मनिर्भर बन्न यो व्यवसायले सघाएको उनी अनुभव छ।
जब साँझ पर्दै जान्छ यी मनमा डर र त्रास उत्तिकै बढ्दै जाने उनी बताउँछिन्। कतै महानगरबाट 'कोइ आई पो हाल्ने हो कि' भन्दै यता उति हेर्दै व्यापार गर्न बाध्य भएको उनको गुनासो छ। केही वर्ष अघिको स्मरण गर्दै उनले सुनाईन्, 'ऋण लिएर दिउँसो भरि विभिन्न पसल डुल्दै सामान ल्याएकी थिएँ, एकाएक महानगरका प्रहरी आएर सामान लगिदिए।'
काठमाडौंको यात्रा
जीवन जेनतेन चलिरहेकै थियो। २ छोरी र एक छोरा। उनै छोराछोरीको सुन्दर भविष्यका लागि बबिता परिवारसहित २०५२ सालमा काभ्रेबाट काठमाडौं आएकी थिइन्। यहाँ केही न केही कर्म नगरी बिहान बेलुका छाक टार्न गाह्रै थियो उनलाई। दिनदिनै उनको खर्च पनि बढिरहेको थियो। उनीसंग ठूलो व्यापार गर्नलाई पर्याप्त रकम पनि थिएन। सानोतिनो व्यापारले परिवारको खर्च धान्नै मुश्किल पर्छ की भन्ने लाग्थ्यो बबितालाई। उनले जिविकोपार्जनका लागि केही गर्ने सोच बनाईन्।
होटलबाट घाटा भएपछि फुटपाथमा
उनी र उनका श्रीमान मिलेर सानो होटल सञ्चालन गर्ने सोच बनाए। ऋण धन गरेर सानोतिनो होटल सञ्चालन गरेका थिए। तर होटलबाट दिनदिनै घाटा ब्योहोर्नु परेको उनले सुनाइन्। ‘जिविकोपार्जन र ३ सन्तानको पढाइ खर्चमा सघाउ पुगोस भन्ने हेतुले होटल चलाएकी थिएँ’, विगत सम्झिँदै उनले भनिन्, 'तर होटलबाट पनि घाटा व्योहोर्नु पर्यो घर भाडा तिर्न र छोराछोरीको पढाइ खर्च जुटाउन धौ धौ नै भयो।’
यसबीच घर भाडाले पनि उत्तिकै सताइरहेको थियो यता सन्तानको पढाइ खर्च उनलाई सबै जुटाउनै मुश्किल भयो। उनी अगाडि भन्छिन्,'एक मनले सोचेँ फर्केर गाँउमै जान्छु उतै केही गर्छु। फेरि सोचेँ छोराछोरीको पढाइको लागि भएपनि केही न केही संघर्ष त गर्नैपर्छ। जुन उद्देश्यले आएकी थिएँ जसरी पनि पूरा गर्छु।'
फेरि अर्को व्यवसाय गर्ने सोचमा उनी पुगिन्। उनीसंग पर्याप्त रकम थिएन सानोतिनो रकमले ठूलो व्यवसाय रोज्न पनि असम्भव।
उनी अब के गर्ने भन्ने सोचमा थिईन्। यत्तिकैमा उनले चिनेजानेका मान्छेबाट फुटपाथमा व्यापार राम्रो हुने सुनिन्। उनले परिवारलाई पनि यो कुरा सुनाइन्। उनको कुरामा परिवार सहमत भयो। र, सुरु गरिन् फुटपाथ व्यापार।
'धुलो धुँवा नभनी सडकमा बसेर व्यापार गर्ने पक्कै पनि कसैको रहर त हुँदैन होला। आफूले च्यातिएका लुगा लगाएर नयाँ नयाँ कपडा बेच्न राखेका व्यापारीको कमी छैन सडकमा। सबैका आफ्ना आफ्ना समस्या छन्, मेरो पनि आफ्नै समस्याले नै जितेर म यहाँ आएकी हुँ। मेरो सडकसंगको संघर्ष जतिनै सुनाएपनि सकिँदैन,' उनले लामो सास फेर्दै दुःख साटिन्।
यसमा उनलाई उनका श्रीमानले पनि साथ दिए। थोरै थोरै लगानीमा फुटपाथमा व्यापार हुने भएपछि उनी खुसी भईन्। फुटपाथको कमाइले उनलाई पुग्ने त कुरै थिएन तैपनि थोरै थोरै गर्दै उनलाई थोरैमा रमाउने बानी परिसकेको उनले बताइन्।
सडकको व्यापारले भाडा तिर्नै सकस
'व्यापार हुने भनेकै दशैँ, तिहारमा हो तर यहाँ मान्छेको भीडभाड मात्रै छ व्यापार छैन, अलि अलि व्यापारले घरभाडा तिर्नै धौधौ परेको छ,’ उनले भनिन्, ‘यत्रो समय घरभित्रै बस्यौं, अहिले पनि सडकमा भीडमात्र छ। घरबेटीले त्यत्रो लकडाउनको बेलामा पनि एक रुपैँया भाडामा छुट दिएनन् दशैँ तिहारमा पनि व्यापार गर्न पाइएन भने घरभाडा कसरी तिर्ने? यहि पीडाले सताइरहन्छ।'
लकडाउनमा झनै सास्ती
६ महिना व्यापार ठप्प भएपछि उनलाई दैनिकी चलाउन निकै गाह्रो भएको थियो। दिनभर कमाएर साँझ–बिहान हातमुख जोड्ने वर्गलाई कोरोना महामारीले ठूलो असर पुगेको उनले बताइन्। ‘यस्तै दिन आइरहे बाँच्न सकिने अवस्था छैन,’ उनले भनिन्।
महानगरले झस्काइ रहन्छ
जब साँझ पर्दै जान्छ यी मनमा डर र त्रास उत्तिकै बढ्दै जाने उनी बताउँछिन्। कतै महानगरबाट 'कोइ आई पो हाल्ने हो कि' भन्दै यता उति हेर्दै व्यापार गर्न बाध्य भएको उनको गुनासो छ। केही वर्ष अघिको स्मरण गर्दै उनले सुनाईन्, 'ऋण लिएर दिउँसो भरि विभिन्न पसल डुल्दै सामान ल्याएकी थिएँ, एकाएक महानगरका प्रहरी आएर सामान लगिदिए।' उनीसँग महानगर आएपछि छिटो छिटो सामान बाँधेर भाग्ने पीडाको अनुभव धेरै छ।
'नियम मिचेको भन्दै मलाई नै डर देखाइँयो चुप लागेर बस्न विवश भएँ। विभिन्न समयमा विभिन्न समस्यासँग झेल्दै घरबार चलाउन बाध्य भएरै सडकमा व्यापार गरेको महानगरले हाम्रो पीडा बुझ्दैन,' उनले गुनासाे पाेखिन्।
रहर की बाध्यता
'धुलो धुँवा नभनी सडकमा बसेर व्यापार गर्ने पक्कै पनि कसैको रहर त हुँदैन होला। आफूले च्यातिएका लुगा लगाएर नयाँ नयाँ कपडा बेच्न राखेका व्यापारीको कमी छैन सडकमा। सबैका आफ्ना आफ्ना समस्या छन्, मेरो पनि आफ्नै समस्याले नै जितेर म यहाँ आएकी हुँ। मेरो सडकसंगको संघर्ष जतिनै सुनाएपनि सकिँदैन,' उनले लामो सास फेर्दै दुःख साटिन्।
प्रकाशित: १५ कार्तिक २०७८ १३:२८ सोमबार