२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आश्रममा कुटपिट प्रहरीले उजुरी नै दर्ता गरेन

सर्लाहीस्थित मानव सेवा आश्रममा रहेकी एक महिलामाथि निर्घात कुटपिट भएको विषयमा अनुसन्धान गर्न प्रहरीले अस्वीकार गरेको छ। सर्लाहीकै रेखाकुमारी कार्कीलाई आश्रम सञ्चालकहरूले कुटपिट गरी परिवारको साथमा फिर्ता पठाएपछि पीडित परिवारले अनुसन्धानका लागि प्रहरीमा पुग्दा उजुरी लिन अस्वीकार गरेको हो। 

इलाका प्रहरी कार्यालय हरिवन र जिल्ला प्रहरी कार्यालय सर्लाही दुवैले आश्रमको विरुद्ध उजुरी लिन अस्वीकार गरेपछि सरकार वकिल कार्यालयमा जाने तयारी गरेका छन्। पीडितका दाजु विमलकुमार कार्कीका अनुसार इलाका प्रहरी कार्यालय हरिवनले जाहेरी नलिएपछि पीडितहरू शुक्रबार जिल्ला प्रहरी कार्यालय पुगेका थिए। त्यहाँ पनि जाहेरी लिन नमिल्ने भन्दै फकाइएको छ। ‘हामीले अनुसन्धान गरिदिनुस मात्रै भनेका हाैं, तर प्रहरीले जाहेरी लिन मिल्दैन भन्दै फर्काएको छ,’ पीडितक दाजु विमलले भने।

आश्रममा लगेको एक महिनामै बिरामी रहेकी रेखालाई शरीरभर निलडाम हुनेगरी कुटपिट गरिएको र परिवारलाई फिर्ता पठाइएको छ। सो सम्बन्धमा पीडित परिवारले इलाका प्रहरी कार्यालय हरिवनमा उजुरीसमेत दर्ता गराउन बिहीबार पुगेका थिए। प्रहरी कार्यालयले उजुरीसमेत दर्ता गर्न आनाकानी गरेपछि पीडित परिवार जिल्ला प्रहरी कार्यालय सर्लाही गएका थिए। 

‘बिरामी बैनीलाई हामी पुर्‍याउन गएका होइन उनीहरू घरमै आएर हामी उपचार गर्छौ भन्नुभयो तर कुटपीट गरेर शरीरभरि घाउचोट लगाई घर पठाउनुभयो, हामीले शरीरमा चोट छ त यो कसरी भयो भनेर सोधीखोजी गर्दा तपाईहरूलाई बताउन जरुरी छैन भने भन्ने जवाफ दिइयो,’ पीडितका दाजु विमल कार्कीले भने। इलाका प्रहरी कार्यालयका प्रहरी नीरिक्षक भूपेन्द्र गिरीले पीडितका दाजु नेपाल प्रहरीकै सई भएकाले समन्वय गरिरहेको बताए। ‘कुटपिटमा परेकी महिलाका दाजु नेपाल प्रहरीकै सई हुनुहुन्छ। उहाँसँग समन्वय गरिरहेका छौं,’ प्रहरी निरीक्षक गिरीले भने।  

पीडितका आफन्तहरूले बिहीबार आश्रमका सञ्चालक सुकदेव कार्कीविरुद्ध उजुरी गर्न गएका थिए। आश्रमका सञ्चालक सुकदेव कार्कीले यो सामान्य घटना भएको बताए। उनले मनोरोगीबीचमा झगडा भएकाले यसलाई सामान्य रुपमा लिन आग्रह गरे। ‘यसमा केही भएको होइन सर, मनोरोगी–मनोरोगीहरूबीच झडप भएको हो उहाँ पनि मनोरागी हुनुहुन्थ्यो, यसलाई ठूलो बनाउन जरुरी छैन। त्यस्तो केही भएको छैन यो एउटा राम्रो संस्था हो तपाईहरू पनि सकारात्मक बन्नुपर्यो,’ सञ्चालक कार्कीले भने, ‘उनी मनोरोगी हुन यो खासमा केही होइन कहिलेकाहीँ समस्या हुन्छ,’ रेखा आठ वर्षअगाडिदेखि बिरामी परी मानसिक रोगका कारण होस ठेगानसमेत नरहेको अवस्थामा घरमै बसेका बेला आश्रमका सञ्चालकहरू आएर लगेका थिए। 

रेखाकी आमा चन्द्रकला कार्कीले प्रहरी कार्यालय हरिवनमा दिन लागेको जाहेरीमा आफ्नी छोरीको स्वास्थ्य क्रमिक रुपमा सुधार हुँदै गएका बेला आश्रमका मानिसहरू आएर लगेको उल्लेख गरेकी छिन्। उनले बिहीबार आश्रमका सञ्चालकविरुद्ध उजुरी दर्ता गराउन जाँदा उजुरी लिन नमानेको बताएकी छिन्। ‘छोरी बिरामी भएपछि निज छोरीलाई विभिन्न अस्पतालमा उपचार गरी छोरी पूर्णरुपमा निको नभए पनि सामान्य जीवनयापन गर्न सक्नेसम्म भएकी थिइन्। यसरी छोरी रेखाकुमारी कार्कीलाई विभिन्न अस्पतालमा उपचार गरे पनि पूर्णरुपमा निको नभएकाले चिकित्सकको सल्लाहअनुसार घरमा नै बसी उपचार गराइरहेकी थिएँ। 

यसरी घरमा नै उपचार गराई रहेकी छोरीको स्वास्थ्यमा ढिलै भए पनि क्रमिक सुधार आइरहेको थियो। यसै अवस्थामा सुकदेव कार्की मेरो घरमा आई छोरीको बारेमा बुझी लगेँ तर अहिले चोटपटक लगाएर फिर्ता गरेका छन्’, पीडितकी आमा चन्द्रकला कार्कीले जाहेरीमा उल्लेख गरेकी छिन्। तर सञ्चालक सुकदेव कार्कीले आफूहरूलाई छोरी आश्रममा लगिदिन आग्रह गरेपछि ल्याएको दावी गरेका छन्। ‘यहाँ झगडा भएको हो हामीले कुटपीट गरेको होइन शरीरमा अलि अलि चोट देखिएको सत्य हो,’ सञ्चालक सुकदेव कार्कीले भने। पीडित रेखाको भने शरीरको संवेदनशील अंगमा समेत चोट लागेको छ। आँखा, ढाँड, पाखुरा, तिघ्रा र शरीरको संवेदशील अंगमा समेत चोटपटक लागेको छ। शरीरमा लागेको चोटपटकलाई जस्ताको तस्तै राखेर आश्रमले परिवारलाई फिर्ता गरेको छ।  

‘हामीले शरीरमा चोटपटक कसरी लाग्यो अनुसन्धान मात्रै गर्नुपर्यो भनेको हो आश्रम राखेर कुटपीट गर्न पाइदैन भन्ने हाम्रो भनाई हो’, पीडित रेखाका दाजु विमल कार्कीले भने, ‘आज बहिनीमाथि कुटपिट भयो भोली अरुमाथि यस्तै अन्याय होला, सडकमा रहेका मानिसहरूको उद्धार गर्ने नाममा यस्तो गर्न पाइँदैन भन्ने हाम्रो भनाइ हो।’ पीडितका दाजु विमल कार्कीका अनुसार प्रहरीले केस फारमसमेत भर्न नदिई सो घटनालाई दबाउन खोजेको छ। ‘हामीले छानबिन होस् भनेर घाउ जाँचको केस फारम भर्न खोजेको र उजुरी दिन खोजेको यसलाई यतै मिलाऔं भन्दै प्रहरी नै यो घटना मिलाउन खोजिरहेको छ,’ पीडितका दाजु कार्कीले भने।

प्रकाशित: १४ कार्तिक २०७८ ०१:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App