१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

बाढीले जुम्लाका आधा दर्जन बढि विद्युतमा क्षति, बस्ती अन्धकार

बाढीले कटान गरेपछि जोखिममा परेको गिरीखोला जलविद्युत आयोजनाको विद्युतगृह: धनबहादुर /नागरिक

जुम्लामा यही कात्तिक १ गतेदेखि परेको अबिरल वर्षाका कारण आएको बाढीले आधा दर्जन बढि विद्युतगृहमा क्षति पुगेको छ। जिल्लाको तातोपानी गाउँपालिका र तिला गाउँपालिका क्षेत्रभित्र रहेका विद्युत गृहमा क्षति पुगेको हो। विद्युतगृहमा क्षति पुगेपछि दुई स्थानीयतहका बासीन्दा अन्धकारमा बस्न बाध्य भएका छन्।  

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले गाउँपालिका भित्रका ५ जलविद्युत आयोजनामा क्षति पुगेको बताए। तातोपानी ८ को घट्टेखोला साना जलविद्युत आयोजना २१ किलोवाट,इमिल्चा साना जलविद्युत आयोजना ९ किलोवाट र तातोपानी ७ को ताम्ती साना जलविद्युत आयोजना १८ किलोवाट पुर्ण रुपमा क्षति भएको हो। यी तीनै आयोजनाको नाम निसाना नरहेको उनले बताए। उनले भने,‘यी आयोजनाको सबै संरचना बाढीले बगाइसकेको छ। ’  

यसैगरी तातोपानी ४ स्थित गिरीखोला साना जलविद्युत आयोजना २०० किलोवाटमा क्षति पुगेको छ। हाँकु गाउँमा रहेको साना जलविद्युतमा पनि क्षति पुगेको उनले बताए। गिरीखोला विद्युत आयोजनाबाट भर्खर मात्र विजुली निकालेर गाउँमा लगिएको थियो। यो क्षेत्रको तीन गाउँमा दुइ साता देखि विजुली बलेको थियो।  बाढीले आयोजनाको २ सय किलोवाट क्षमताको विद्युत गृहमा रहेको आउटलेट क्यानल ५७ मिटर,इन्टेक कटान गरि पुरै संरचना पुरिएको विद्युत आयोजनाका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जानकारी दिए।

यो आयोजनाले तातोपानी गाउँपालिकाको बाइराका देखि चन्दननाथ नगरपालिकाको श्रीढुस्का बस्ती सम्म विद्युत सेवा दिने तयारी भइरहेको थियो। विद्युतमा क्षेति पुगेको गाउँवस्तीमा केन्द्रीय प्रसारण लाइन विस्तार गर्न पहल भइरहेको गाउँपालिका अध्यक्ष न्यौपानेले बताए। उनले भने,‘तत्काल विकल्पका रुपमा सोलारको व्यवस्थापन गर्न गाउँपालिकाले जिल्ला विपद व्यवस्थापन समितिलाई आग्रह गर्ने छौँ। त्यो संगसंगै राष्ट्यि प्रसारणलाइन जडानमा पनि प्राथमिकता दिन्छ।’ 

विद्युत गृहमा समस्या आएपछि मोवाइल चार्ज गर्न समेत पाएका छैनन्। जसले गर्दा त्यो क्षेत्रमा संचार सम्पर्क गर्न कठिन छ। यसैगरी जिल्लाको तिला गाउँपालिकामा तीन जलविद्युत आयोजनामा क्षति पुगेको छ। तिला ४ मा रहेको नाङ्गाडा जलविद्युत आयोजनाको पोल र तार बगाएको छ। यहाँबाट १६ किलोवाट विद्युत निकालिएको थियो। गाउँमा बलिरहेको थियो। तर बाढीले क्षति पुगेपछि अहिले बन्द छ।  स्थानीय नैनबहादुर हमालले बिद्युत बगाएपछि गाउँमा सन्नाटा छाएको प्रतिक्रिया दिए। यो विद्युतले गाउँमा दुई मिल चलेका थिए। मिल पनि बाढीले बगाएको छ।

त्यही क्षेत्रमा रहेको नुवाकोट लघु जलविद्युत आयोजना निर्माणाधिन अवस्थामा थियो। स्टोर रुपमा राखेको ४० वटा पोल,५ हजार मिटर सेतो र ५ हजार मिटर कालो तार,अर्थिंङको सामान र प्लेट सबै बगाएको छ। सबै सामान बगाएपछि विद्युत निर्माण अनिश्चित बनेको छ। तिलाकै भेरीखोला लघु जलविद्युत आयोजना सापुल्लीमा २१ किलोवाट विद्युत निकालिएको थियो। बाढीले नहर भत्काएको छ। पावरहाउसमा कटान गरेको छ। मर्मत गरेको खण्डमा बत्ति बल्ने देखिन्छ।

तर, निकै धेरै समय लाग्ने स्थानीय बताउँछन्। सडक संग जोडिएको क्षेत्र भएकोले राष्ट्यि प्रसारण लाइन विस्तारमा जोड दिने भएको छ। स्थानीय हरीबहादुर शाहीले स्थानीय सरकार सग विद्युत मर्मत तथा विद्युतको विकल्प दिन माग गरिएको बताए। अहिले बाढी प्रभावित क्षेत्रमा विजुली नहुँदा स्थानीय सञ्चार सम्पर्कबाट बञ्चित भएका छन्।

प्रकाशित: ५ कार्तिक २०७८ ०५:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App