१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

सधैँ ठगिँदै किसान

समयमा मल बीउ नपाउनु किसानका लागि सामान्य थियो। जुगाडबाजी गरेर किसानले सधैँ बर्खेबालीका रुपमा धान खेती गर्दै आएका थिए। किसानले कहिले मल, बीउ नपाउनु त कहिले फलेको फसलले उचित मूल्य तथा बजार नपाउँदा सधैँ ठगिँदै आएका छन्। दुई वर्षअघि मसिनो तथा बास्नादार र खानका लागि स्वादिलो हुने भन्दै नेपाल सरकारले पञ्जिकृत गरेको गरिमा जात(वर्णशंकर) को धान कैलाली–कञ्चनपुरका किसानले रोपेका थिए।

सरकारलाई परीक्षणका लागि सक्कली बीउ दिएका भारतीय रेनोभा कम्पनीले किसानलाई नक्कली बीउ उपलब्ध गराउँदा किसान ठगिएका थिए। कैलाली–कञ्चनपुरमा ६ सय ५३ हेक्टर जमिनमा लगाएको गरिमा जातको धानले फसल नदिँदा यहाँका १५ सय ३६ किसान ठगिएका थिए। यसपालि भने सुदूरका किसानलाई प्रकृतिले ठगिदिएको छ।

सरकारले उन्नत जातको बीउ सिफारिस गर्ने र नक्कली बीउ किसानको हातमा पर्दा फसलमा पटक–पटक ठगिँदै आएका किसान यसपालि भने प्रकृतिबाटै ठगिएका हुन्।  

गरिमा धानको बीउ रोपेको ९० देखि ९५ दिनमा फूल फुल्ने, १२० देखि १२५ दिनमा पाक्ने मसिनो जातको गरिमा धान प्रति हेक्टरमा ५८ देखि ६३ क्विन्टसम्म फसल दिने बताइए पनि दुई वर्षअघि कैलाली, कञ्चनपुरका किसानले गरिमा धानबाट धोका खाएका थिए। कैलाली र कञ्चनपुरको ६ सय ५३ हेक्टर क्षेत्रफलमा गरिमा जातको धान लगाएका किसानलाई नक्कली धानको बीउका कारण ठगिएका थिए। सरकारलाई परीक्षणका लागि गरिमाको सक्कली बीउ दिएको भारतीय रेनोभा कम्पनीले किसानलाई नक्कली बीउ उपलब्ध गराउँदा किसान ठगिएको निष्कर्ष कृषि मन्त्रालयले निकालेको थियो। यस्तै, २०६८ सालमा डोटीमा १२ सय ७२ रोपनी जमिनमा लगाएको राधा –४ र सावित्री धान बालीले फसल दिएको थिएन।

सरकारले कृषिलाई प्राथमिकता भन्दै आए पनि उन्नत बीउ, पर्याप्त सिँचाइ, मलखाद र प्रविधिको अभावमा राम्रो उत्पादन गर्न नसकेका किसानहरु सरकारले नै सिफारिस गरेको धानको बीउले फसल नदिँदा कृषिलाई कर्म बनाउनेहरुमा निराशा बढेको छ। ‘सरकारबाट उन्नत बीउ, मलखाद तथा कृषि प्रविधिमा सोचेजस्तो उत्पादन गर्न सकिरहेका थिएनौं,’ कैलारीका रामदिन चौधरीले भने, ‘यसपालि भने मिहिनेत गरेर धानको फसल राम्रै भएको थियो, भित्र्याउने बेलै प्रकृतिले ठगिदियो।’ दुई वर्षअघि सरकारले उन्नत जातको बीउ भन्दै सिफारिस गरेको गरिमाले ठगिएका आफूहरुलाई यसपालि भने प्रकृतिले नै ठगिदिएको गौरीगंगा नगरपालिका–८, लिक्माका अर्का किसान चेतराज जोशीले बताए। उनले भने, ‘गरिमा धानमा बाल नलागेर ठगिएका हामीहरुलाई यसपालि भने प्रकृतिले पनि ठगिदियो ।’

असोज ३१ गते बेलुकीदेखि लगातार तीन दिनसम्म परेको वर्षाले सुदूरपश्चिमका कृषकको बारीमा लगाइएका बालीनालीमा क्षति पुगेको हो। लगातारको वर्षाले सुदूरका किसानको बारीमा लगाइएका बालीनाली सबै सखाप भए। भित्र्याउन तयारी अवस्थाको धान खेतमै भिज्नुका साथै बगेका छन् । दशैं अघि धान काटेर सुकाउन खेतमै राखेका किसानको धानबाली भिजेर काम नलाग्ने अवस्थामा पुगेको छ भने छरिएको तोरी तथा तरकारी बालीलाई पनि क्षति पुगेको छ। खेतबारीमा रोपिएका तथा भित्र्याउन ठिक्क पारिएका बालीनाली वर्षाले पूरै नष्ट पारिदिएको बताउँदै गरिबु चौधरीले भने, ‘कात्तिकमा कहिल्यै पानी नपर्ने भए पनि यसपालि भने ढुक्क भएर दशैँ मनाउँदै गर्दा आएको पानीले वर्षभरिको उत्पादन बगाइदिएको छ।’ असारमा गरिएको मिहिनेत कात्तिकमा आएको बाढीले सपना बगाइदिएको बताउँदै उनले भने, ‘बाढीले परिवारको सबै सपना बगाइदियो, अब कसरी गुजारा गर्ने भन्ने चिन्ता थपिएको छ।’  

समयमै मल बीउ नपाउँदा सरकारबाट ठगिएका किसानलाई यसपालि भने वर्षाले पनि ठगिदिएको प्रदेश कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशी बताउँछन्। ‘भित्र्याउन ठिक्क पारिएको धान पानीले भिज्नुका साथै बगेको छ,’ उनले भने, ‘केही किसानको धान त खेतबाटै बगेको पनि छ।’ कैलाली र कञ्चनपुरमा प्रारम्भिक तथ्याङ्क अनुसार धानमा ३० प्रतिशतले क्षति पुगेको बताए। उनले भने, ‘सुदूरपश्चिमको प्रमुख अन्नभण्डारकै रुपमा रहेको कैलाली र कञ्चनपुरमा ३० प्रतिशतले धान खेतीमा क्षति पुगेको छ।’ कैलाली र कञ्चनपुरमा  ५ लाख २९ हजार १ सय ३४ मेट्रिक टन धान उत्पादन हुने गरेको भए पनि यसवर्षको वर्षाले १ लाख ५० हजार मेट्रिक टन उत्पादनमा कमी आउन सक्ने आँकलन गरिएको छ। ‘वर्षाले धान बगाउनुका साथै भिजेर नष्ट भएका कारण यस वर्ष कैलाली र कञ्चनपुरमा मात्रै धानको उत्पादनमा १ लाख ५० हजार मेट्रिक टन कमी आउने आँकलन गरिएको छ,’ उनले भने, ‘यो क्षतिले सुदूरपश्चिममा खाद्यान्न संकट निम्तन सक्छ।’

प्रकाशित: ४ कार्तिक २०७८ ११:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App