१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पृथ्वी राजमार्ग मर्मतमा करोडौँ खर्च, सडकको अवस्था उस्तै

आर्थिक वर्ष सकिए पनि साउन पहिलो साता पृथ्वी राजमार्गको खैरेनीटार खण्डमा कालोपत्रे सडकलाई कालोपत्रेले टाल्न हतारो थियो। निर्माणमा खटिएका मजदुरले पानी पर्दा काम रोक्ने, घाम लागेपछि सुरु गर्थे। 

एकातिर कालोपत्रेमाथि कालोपत्रे भइरहँदा त्यही राजमार्गको गाछेपानी-कोत्रे खण्डमा राजमार्गमै एम्बुलेन्स फस्ने दूरवस्था थियो। चौतर्फी आलोचना भएपछि सडक डिभिजन कार्यालय दमौलीले सडकमा भएका खाल्डाखुल्डी स्थानीय सामाग्रीले पुर्‍यो। 

कालोपत्रेमाथि कालोपत्रे गरिएको सडक र माटोले खाल्डा पुरिएको सडकको अवस्था अहिले एउटै छ। मर्मतको दुई महिना नबित्दै सडकभरि खाल्डैखाल्डा बनेका छन्। पृथ्वी राजमार्गको कोत्रे, हलेदी, गाछेपानी, मालेबगर, थर्पु, गुणादी, घाँसीकुवा, छिर्कन, डुम्रे बजार क्षेत्रका सडकमा सानाठूला खाल्डा धेरै छन्।

कोत्रेदेखि गाछेपानीसम्म त खाल्डा मात्र नभएर सडकमा कालोपत्रे देख्नै मुस्किल हुन्छ। खाल्डासँगै बर्खायाममा ठाउँठाउँमा पहिरो झरेर अझ जोखिम बढाएको सवारी चालक बताउँछन्। कन्तबिजोग अवस्थाको सडकमा दैनिक हजारौँ सवारी चालक र यात्रुले कष्टकर यात्रा गर्न बाध्य भएका स्थानीयको भनाइ छ।

देशकै प्रमुख राजमार्गको अवस्था ग्रामीण सडकको भन्दा खत्तम रहेको ट्याक्सी चालक अमित श्रेष्ठ बताउँछन्। उनी भन्छन्, ‘बिरामी लिएर पोखराका हस्पिटल पुग्न अप्ठ्यारो छ। भनेको बेलामा पुग्न सकिँदैन, खाल्डाखुल्डीमा गाडी चलाउँदा बिरामीलाई सास्ती।’ उनकाअनुसार वर्षात भए  खाल्डामा पानी जमेर पोखरी जस्तै बन्छ, घाम लागेपछि बाटो नदेखिने गरेर बुङ्बुङ्ती धुलो उड्छ।

सरकारको लाचारीपनले पृथ्वी राजमार्गको अवस्था कहिल्यै सुधार नभएको उनको भनाइ छ। ‘सडक भत्किनेबित्तिकै बन्दैन। बनेपछि कस्तो भयो भनेर अनुगमन हुँदैन। ठेकेदारको मनोमानी चल्छ’, उनले गुनासो गरे। 

पृथ्वी राजमार्गमा गाडी चलाउँदा असुरक्षित महसुस हुने गरेको अर्का सवारी चालक देव श्रेष्ठले बताए। ‘राजमार्ग भन्न पनि लाजमर्दो छ। दुर्घटनाको जोखिम बढेको छ। कसलाई गुनासो गर्ने हो ? निगरानी कसले गरिदिन्छ ? सडक डिभिजन सुतेर बसेको छ,' उनले भने। भत्केको सडकमा बस गुडाउँदा चाँडै बिग्रने समस्याले मर्मतमा खर्च बढेको उनले सुनाए। 

पछिल्लो केही दिनयता पृथ्वी राजमार्गका खाल्डा पुर्न थालिएको छ। गाछेपानी-कोत्रे खण्डमा सडक डिभिजनले आफ्नै मेसिन प्रयोग गरेर सडकको खाल्डा पुरिरहेको कार्यालयकी प्रमुख लक्ष्मी केसीले बताइन्। ‘यो सडक अहिले हाम्रो क्षेत्राधिकारमा पर्दैन। मुग्लिन-पोखरा चार लेन सडकलाई हस्तान्तरण गरिसकेका छौँ। आयोजनाको ठेकेदार फिल्डमा नआएकाले सडक डिभिजनको मेसिन र स्थानीय सामग्रीको प्रयोग गर्दै खाल्डा पुर्न थालेका हौँ,' केसीले भनिन्। 

क्षेत्राधिकारमा नपर्ने भएकाले पृथ्वी राजमार्ग मर्मतका लागि कार्यालयसँग बजेट उपलब्ध नभएको उनको भनाइ छ। सर्वसाधरणलाई सास्ती भएको देखेर बजेट नभए पनि दशैँ अगाडि सडकको खाल्डा पुर्ने केसीले जानकारी दिइन्।

पृथ्वी राजमार्गको मुग्लिन-पोखरा सडक एसियाली विकास बैंक (एडीबी)को सहुलियत ऋणमा चार लेनको बन्दै छ। चार लेन सडक बनाउनलाई दुई खण्डमा विभाजन गरेर ठेक्का प्रक्रियामा गइसकेको छ। १३ भदौमा सडक डिभिजनले मुग्लिन-कोत्रे सडक खण्डको जिम्मेवारी मुग्लिङ-पोखरा सडक योजनालाई दिएको केसीले जानकारी दिइन्।

चार लेन सडकको आँबुखैरेनी-जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर र जामुने-पोखरा ४५ किलोमिटरको दुई प्याकेजमा ठेक्का लगाइएको हो।

५२ वर्षअघि रेखांकन भएको देशकै प्रमुख पृथ्वी राजमार्ग तनहुँमा ७२ किलोमिटर पर्छ। यही सडक मर्मतका लागि मात्र गत आर्थिक वर्ष २०७७/०७८ मा एक करोड १७ लाख ७४ हजार ३६ रुपैयाँ खर्च भयो। 

अघिल्लो आव २०७६/०७७ मा पाँच करोड १८ लाख ४१ हजार १५५ रुपैयाँ खर्च भएको सडक डिभिजन कार्यालय दमौलीले जानकारी दिएको छ। यसरी दुई वर्षमा मात्र सडक मर्मतमा ६ करोड ३६ लाख १५ हजार १९२ रुपैयाँ खर्च भएको छ तर सडकको अवस्था भने उस्तै छ ।

प्रकाशित: १२ आश्विन २०७८ ०७:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App