न्यायका लागि नेपालगन्जबाट काठमाडौँ पैदल यात्रा गरेकी शिला धोबीलाई यसभन्दा पहिला लामो पैदल यात्रा गर्नुपरेको थिएन। तराईमा जन्मे हुर्केकी उनी लामै भए आधा घण्टाजति पैदल हिँडेको अनुभव साट्छिन्। तर यतिबेला उनी एक दुई दिनमात्र होइन नेपालगन्जदेखि काठमाडौँसम्म पैदल यात्रामा निस्केकी छिन्। पैदल यात्राका क्रममा उनका खुट्टाभरि फोकैफोका भएका छन्। लामो दूरीमा हिँड्दा माधप्रसाद धोबी पनि हिँड्न नसक्ने अवस्थमा पुगेका छन्। न्यायका लागि हिँडेका उनीहरुलाई फोका हुँदा पनि हार भने खाएका छैनन्।
‘मनभरि न्यायका आशा छ,’ शिलाले भनिन्, ‘खट्टाभरि फोका लिएर कठिनपूर्ण तरिकाले पैदल यात्रा गरिरहेका छौं।’ उनीहरुसँगै न्यायका लागि पैदल यात्रा गरेका सबैका खुट्टा फोकाले भरिएका छन्। ‘यति लामो दूरीमा कहिल्यै हिँडेको थिएन,’ उनले भनिन्, ‘यसरी हिँड्दा फोका उठ्छ भन्ने पनि थाहा थिएन।’
यताउता गर्दा साइकल प्रयोग गर्ने उनी पैदल यात्रा गर्नुपर्ने बाध्यता छैन। ‘यो नयाँ अनुभव हो,’ माधप्रसादले भने, ‘खुट्टा भरिएका फोकाको वास्ता छैन। केवल न्याय भन्दै हिँडेका छौं।’
न्यायका लागि महिला अधिकार मञ्चका पदाधिकारी र पीडितका परिवारहरु नेपालगन्जदेखि काठमाडौँ पैदलयात्रा गरेका छन्। यात्रा क्रममा फोकामात्र होइन खुट्टा सुन्निएका छन्। शरीर थाकेको छ। तर मन डगमगाएको छैन। यात्रा निरन्तर जारी छ। शरीर दुखे, थाके पनि दैनिक ३२ देखि ३८ किलोमिटर पैदल यात्रा गरिरहेको महिला अधिकार मञ्चकी बाँके इन्चार्ज रुबी खानले बताइन्। ‘खुट्टा फोका उठेर सुनिएको छ। शरीर दुखेको छ,’ उनी भन्छिन्, ‘यही घाइते शरीरको न्याय पाउने आशाले हिँडिरहेछ।’ ‘अहिले नै यात्रा रोकौं भन्ने लाग्छ,’ उनी भन्छिन्, ‘यात्रा रोकिएर त न्याय पाइँदैन। महिलामाथि भएको अत्याचार सहन नसक्दा हिँड्न बाध्य भएका छौं।’
१४ जनाको समूहको गएको उक्त टोली बिहीबार साँझ वा शुक्रबार बिहान बुटवल पुग्ने लक्ष्य राखेको छ। बुटवल पुगेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिने कार्यक्रम छ। उक्त कार्यक्रम सकेर पुनः काठमाडौँको पदैल यात्रा सुरु गर्ने पैदल यात्रामा निस्केकाहरु बताउँछन्। मृतक नन्कुन्नी धोबी र एकल महिला निर्मला कुर्मीको हत्यामा संलग्न दोषीलाई पक्राउ गरी कारबाहीको माग गर्दै उनीहरु न्यायका लागि शुक्रबारदेखि काठमाडौँ पैदल यात्रा सुरु गरेका हुन्। मृतकका परिवारले नन्कुन्नीको आत्महत्या नभई उनका श्रीमान् रामकुमार धोबीलगायतले मारेर झुन्ड्याएको आशंका व्यक्त गरिरहेका छन्। ‘आत्महत्या गरेको व्यक्तिको शरीरमा कसरी निलडाम भयो? कसरी नाक कानबाट रगत बन्यो,’ नकुन्नीका भाइ माधप्रसादले भन्छन्, ‘यो सब राजनीतिक पहुँचका आधारमा घटनालाई सामान्यकरण गरिँदैछ।’ हत्या भएको भनिएका बेला प्रहरीले उजुरीसमेत लिन नमानेको आफन्तको भनाइ छ।
पीडित परिवार र अधिकारकर्मीहरुको धर्नापछि प्रहरीले भदौ २० गते मुद्दा दर्ता गराएको थियो भने धर्ना बसेको १५औँ दिन अर्थात् भदौ २७ गते मृतक नन्कुन्नीका श्रीमान् रामकुमारीलाई प्रहरीले पक्राउ गरेको थियो। अन्यलाई भने प्रहरीले पक्राउ गरेको छैन। एकल महिला निर्मला कुर्मीका नाममा रहेको सम्पत्ती लिनलाई उनको पनि परिवारका सदस्यहरुले हत्या गरेको महिला अधिकार मञ्चकी बाँककी इन्चार्ज खानले बनाइन्।
खान र बस्नको ठेगान छैन
न्यायमा लागि पैदल यात्रा गरेका पीडितका आफन्त र महिला अधिकारकर्मीहरुका लागि खान र बस्नको निश्चित व्यवस्था छैन। जहाँ रात पर्छ त्यही र भोक लागेको स्थानमा खोन गरेका छन्। ‘कहिले त जंगलमै रातपर्छ, भोक लाग्छ,’ महिला अधिकारकर्मी रुवी खानले भनिन्, ‘खान र बस्नको कुनै ठेगान छैन।’ कहिले होटेलको बाहिरै सुत्ने गरेको उनले सुनाइन्। खान र बस्नका लागि उचित व्यवस्था पनि उनीहरुले गरेका छैनन्।
प्रकाशित: ६ आश्विन २०७८ १३:०९ बुधबार