२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

स्थलगत छानविन गर्दै अख्तियारको टोली

गोदावरी नगरपालिकामा योजनाका कागज पत्र हेर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय टोली । तस्बिरः नागरिक

गोदावरी नगरपालिकाद्वारा आयोजनाको छानविन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय  टोली कैलालीको अत्तरिया आइपुगेको छ। गोदावरी नगरपालिकाद्वारा सञ्चालित आयोजनामा अनियमितता भएको उजुरी परेपछि केन्द्रको टोली स्थलगत निरीक्षणका साथै छानविनका लागि आएको हो।  

अख्तियारको केन्द्रीय टोलीले मंगलबार दिउँसो गोदावरी नगरपालिकामा गई आयोजनाका कागज पत्रको अनुसन्धान गरेको छ। ‘गोदावरी नगरपालिकाले निर्माण गरेका सडक, सिँचाइ लगायतका काममा अनियमितता भएको उजुरी आएपछि हाम्रो टोली त्यहाँको स्थलगत अनुगमनमा गएको हो,’ अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले भने,‘टोलीले गोदावरीको निर्माणका कामहरूको स्थलगतरूपमै गई अध्ययन गरेर केन्द्रलाई प्रतिवेदन बुझाउने छ।’

आयोगका डिभिजनल इन्जिनियर राजेशकुमार दास नेतृत्वको टोलीले गोदावरीको विकास निर्माणमा भएको अनियमितता बारे स्थलगत अध्ययन गर्ने उनले बताए। ‘उहाँहरूको  टोलीले स्थलगतरूपमै गएर स्टमेट अनुसार काम र गुणस्तर भए/नभएको हेर्नेछ,’ उनले भने,‘अन्तमा त्यसको रिपोर्ट केन्द्रलाई बुझाउने छ।’ आफू गोदावरी नगरपालिकाले निर्माण गरेका कामहरूको अध्ययनमा आएको बताउँदै डिभिजनल इञ्जिनियर दासले भने,‘यो भन्दा धेरै बोल्न मिल्दैन, त्यसभन्दा बढी चाहिएमा केन्द्रमा रहेका प्रवक्तसँग सोध्नुस्।’  

अख्तियारको कञ्चनपुर कार्यालयका प्रवक्ता हरिशचन्द्र  जोशीले पनि अख्तियारको केन्द्रको टोली अत्तरियाको गोदावरी नरपालिकामा आएको बताए। ‘केन्द्रको टोली आएको छ भन्ने जानकारी मात्रै छ ,’ उनले भने, ‘कुन योजनामा अनियमिता भएको हो र कुन कुन तहमा छापा मार्छ भन्नेबारे जानकारी छैन।’ गोदावरी नगरपालिकाका प्रमुख  प्रशासकीय अधिकृत देवराज जोशीले नगरपालिकामा अख्तियारको टोली आएको बताए। ‘अख्तियारको नियमित कार्यक्रम हुन्छ, त्यही कार्यक्रममा आउनु भएको होला,’ उनले भने।

प्रकाशित: १६ भाद्र २०७८ ०४:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App