७ वैशाख २०८१ शुक्रबार
समाज

ग्यास लिक भएको भन्दै जगदम्बा स्टिलमा तोडफोड

सिमराको जगदम्बा स्टिल उद्योगमा स्थानीयहरुले शुक्रबार तोडफोड गरेपछि देखिएको दृष्य।

वीरगञ्ज–पथलैया औद्योगिक करिडोर अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिकाको सिमरामा रहेको जगदम्बा स्टिल उद्योगमा शुक्रबार स्थानीयहरुले तोडफोड गर्नुको साथै जस्ता प्लान्टको गेटमा तालाबन्दी समेत गरेका छन्।

जस्ता प्लान्टबाट ग्यास लिक भएको भन्दै आक्रोशित स्थानीयहरुले उद्योगमा तोडफोड गर्नुको साथै तालाबन्दी गरेका हुन्।

उद्योगबाट ग्यास लिक भएको बहानामा शुक्रबार उद्योगमा लुटपाट गरिएको र यसबाट उद्योगमा काम गर्ने कर्मचारीमा डरको माहौल बनेको उद्योगका सञ्चालक पवन गुप्ताले गुनासो गरेका छन्।

जस्ता प्लान्टबाट ग्यास लिक भएपछि तत्कालको लागि जस्ता प्लान्टलाई बन्द गराउनुको साटो स्टिल उद्योगमा जबरजस्ती प्रवेश गरि कम्प्युटर, ल्याप्टप, कुर्सी, दराज, मोटरसाईकल लगाएतका गाडीहरुमा तोडफोड गर्ने कार्यले हद पार गरेको गुप्ताले बताए।

केही स्थानीयहरुले पटक-पटक उद्योगमा बिभिन्न बहानामा आक्रमण गर्दै आए पनि अर्बौ राजश्व बुझाउने उद्योगलाई प्रहरी, प्रशासनले सुरक्षा दिनुको साटो आक्रमणकारीहरुलाई संरक्षण गरेको देखेर सिमरामा डरको माहौल बन्दै गएको गुप्ताले बताए।

जगदम्बा स्टिल उद्योग सञ्चालनमा आएपछि अधिकांश घरहरु बनेको र अहिले उद्योगबाट पछि आएका स्थानीयहरुले नै उद्योगलाई सिमराबाट हटाउनुपर्ने भन्दै बिभिन्न बहानामा आक्रमण गर्दै आएको र उनीहरुको आक्रमण सहनुपर्ने अवस्था आएको गुप्ताले बताए।

स्थानीयहरुको आक्रमणले उद्योगमा करोडौको क्षति हुनुको साथै महत्वपूर्ण कागजपत्र समेत नष्ट भएको उनले बताए।

नयाँ स्थापना गरिएको जस्ता प्लान्ट सञ्चालनको बिरोधमा स्थानीयहरु पहिलादेखि नै रहेको र शुक्रबार ग्यास लिक भएको देखेर स्थानीयहरुले एक्कासी आवेशमा आएर उद्योगको गेटमा तालाबन्दी गर्नुको साथै तोडफोड समेत गर्ने कार्यमा उत्रन बाध्य भएको जितपुरसिमरा उपमहानगरपालिकाकाे वडा नम्बर २ का वडा अध्यक्ष तिलक श्रेष्ठले बताएका छन्।

उद्योग सञ्चालकहरुले समेत स्थानीयहरुको समस्या बुझेर अगाडि बढ्नु पर्नेमा एक्लौटी तरिकाले अगाडि बढ्दै गएको कारणले शुक्रबारको घटना घटेको तर्क अध्यक्ष श्रेष्ठले गरे।

शुक्रबार उद्योगबाट लिक भएको ग्यास प्लान्टलाई चिसो गर्ने काममा प्रयोग हुने र यसबाट आगो नलाग्ने भए पनि स्थानीयहरुले ग्यास लिक भएको देखेर नै आक्रोशित भएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्त प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जगदम्बा स्टिलमा स्थानीयहरुले ग्यास लिक भएको बहानामा गरेको तोडफोड र लुटपाटको बिवरण प्रहरीले उद्योग प्रशासनसँग बुझ्ने काम गरिरहेको बताएका छन्।

शुक्रबार उद्योगबाट ग्यास लिक भएको भन्दै स्थानीयहरुले कानुनलाई हाथमा लिएर उद्योगको सम्पत्तिलाई क्षति गरेको र यस्तो कार्य गर्नेलाई कानुन बमोजिम कार्बाही गरिने मिश्रले बताए।

स्थानीयहरुले गरिएको तालाबन्दी र उद्योगमा भएको आक्रमणलाई लिएर प्रहरी, प्रशासन गम्भीर रहेको र दुबै पक्षसँग घटनाको बारेमा बुझ्ने कार्य गरिएको मिश्रले बताए।

शंकर ग्रुप अन्तर्गत रहेको जगदम्बार स्टिल प्रालीले जस्तापाता उत्पादन गर्नको लागि पाँच अर्बको लगानीमा आधुनिक जस्ता प्लान्ट स्थापना गरेर केही महिना पहिलादेखि मात्रै उद्योगका सञ्चालक लगाएको थियो।

जगदम्बा स्टिल र नयाँ सञ्चालन गरिएको जस्ता प्लान्टको विषयलाई लिएर सिमराका राजनीतिक दलका प्रतिनिधिहरुले गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरि उद्योगबाट भएको समस्याको बारेमा जानकारी गराएका थिए।

प्रकाशित: १२ भाद्र २०७८ १३:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App