१६ चैत्र २०८० शुक्रबार
समाज

१८ नं. बाहिनीका सैनिक जवानद्वारा स्थानीयहरुमाथि कुटपिट

सेनाको कुटाईबाट घाईते इसराईल उपचारको क्रममा चोट नियाल्दै। तस्विरः महेश्वर/ नागरिक

यहाँस्थित नेपाली सेनाको १८ नं. बाहिनी अड्डाका जवानले स्थानीयहरुमाथि कुटपिट गरेका छन्। त्रियुगा नगरपालिका ३ भुल्केस्थित बाहिनीका जवानले जंगलमा घाँसदाउरा गर्न गएकाहरुलाई  मंगलबार कुटपिट गर्दा दुई महिला र एक पुरुष घाईते भएका छन्।

घाँस काटेर फर्कन लागेका बेला साँझ ५ बजे उनीहरुमाथि सेनाहरुले कुटपिट गरी घाईते बनाएको उनीहरुको आरोप छ । कुटपिटबाट ५५ वर्षीय मोहम्मद इसराईल गम्भीर घाईते भएका छन् भने २३ वर्षीया रेतुन खातुन र ३४ वर्षीया मन्जु खातुन सामान्य घाईते छन्। इसराईलको भुल्केस्थित सामुदायिक सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचारपछि बुधबार उदयपुर जिल्ला अस्प्ताल रिफर गरिएको छ भने सामान्य घाईते दुई महिला भने उपचारपछि घर फर्केका छन्।  

स्थानीय ७० वर्षीय वृद्ध ढोराई मियाका अनुसार भुल्केबासीले प्रयोग गर्दै आएको जंगलमा घाँस काट्दै गर्दा जवानहरुले उनीहरुमाथि कुटपिट गरेका हुन्। घाँसदाउरा गर्न गएको ९ महिला र १ पुरुषको समूहमाथि सेनाले हातपात गर्दै उनीहरुको बन्चरो र खुकुरी खोसेको तथा काटिसकेको घाँस घर लान नदिने भनेपछि बिबाद भएको मियाले बताए।

विवाद हुँदाहुँदै सेनाले बुटैबुटले निर्घात कुटपिट गर्दा इसराईल र दुई महिला घाईते भएको मियाले बताए। ‘हामीहरुको सँधै घाँसदाउरा गर्ने जंगल त्यही हो, त्यहाँ जाँदा आर्मीले कुटेर घाईते बनायो’ मियाले गुनासो गरे ‘जंगल जानेहरु सबै छोरीबुहारी थिए, छोरा मान्छे एकजना मात्र थियो, उसले झगडा नगर्न भनेर सम्झाउँन खोज्दा बुटैबुटले कुटेछन्।’

अर्का स्थानीय यदुप्रसाद ढकालका अनुसार सेना र स्थानीयबीच यसअघि पनि जंगल, खोला र सीमानाबारेमा विवाद हुने गरेको थियो। खासगरी स्थानीयको चरिचरण र घाँसदाउरा गर्ने जंगल मिचेर सेनाले घेराबार लगाएपछि बिबाद हुने गरेको उनले बताए। यसपटक पनि सैनिक क्षेत्रभित्र घाँसदाउरा गरेको भन्दै आपत्ती जनाएपछि स्थानीयसँग विवाद भएको अनुमान ढकालले गरेका छन्। कुटपिट भएपछि मंगलबार राति नै स्थानीयहरु जम्मा भएर सेनाको अत्याचारविरुद्ध लड्ने तयारी गरेको भए पनि कोभिड संक्रमणको जोखिम र विवादले कसैलाई फाईदा नगर्ने भएकाले सहमति खोज्न गाउँले राजी भएको ढकालले बताए।

सोही अनुसार बुधबार विहान सेना र गाउँलेलाई राखेर सर्वपक्षीय छलफल भएको छ। त्रियुगा नगरपालिका ३ का वडाध्यक्ष अवधेशप्रसाद चौधरीको उपस्थितिमा स्थानीय प्रहरी, राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवालगायतको सहभािगता भएको छलफलले नियतवश नभएर दुर्घटनावश घट्ना हुन गएकाले सहमति खोज्नु समाधानको विकल्प भएको ठहर गरेको छ।  

जस अनुसार सेनाले घाईतेको उपचार गरिदिने, आगामी दिनमा सौहाद्र्रपूर्णरुपमा मिलेर बस्ने सहमति भएको छ। छलफलको निश्कर्ष निकाल्न बिहीबार विहान ८ बजे पुन बैठक बस्ने निर्णय भएको छ। बाहिनी अड्डाका सूचना अधिकारी सेनानी (मेजर) विकास शाक्यले स्थानीयहरुले सैनिक परिसरभित्र पसेर घाँसदाउरा गरेको पाइएपछि सम्झाउँन खोज्दा विवाद भएको बताए। सैनिक परिसर प्रवेश नगर्न, घाँसदाउरा नकाट्न अनुरोध गर्दा एक महिलाले खुकुरीले झम्टेपछि खोस्न खोज्दा सामान्य ठेलाठेल भएको तर, बाहिर हल्ला भएजस्तो कुटपिट नगरेको मेजर शाक्यको दावी छ।

घाँस काट्न गएका स्थानीयहरु महिला पुरुष ७ जना रहेको र सेनातर्फ पनि २ महिलासहित ७ जनाकै कन्ट्रोल टिमबीच पहिले भनाभन र पछि ठेलाठेल हुँदा एकजना स्थानीय घाईते भएको तर, अरु कसैलाई केही नभएको शाक्यले बताए । घट्ना सानै भए पनि बाहिनीले यसलाई गम्भीर रुपमा लिएर समाधान निकाल्न तुरुन्त जनप्रतिनिधि, स्थानीय भद्रभलाद्मी, गाउँले अगुवा र पीडित पक्षलाई राखेर बुधबारै छलफल चलाएको उनले बताए। 

घाईतेको पीडित इसराईलको उपचार गरिदिने तथा गरिव परिवार भएकाले एक महिना पुग्ने खाद्यान्न राहतस्वरुप उपलब्ध गराउने तयारी भएको मेजर शाक्यले बताए। आगामी दिनमा स्थानीयबासी र सेना मिलेर बस्ने निश्कर्ष छलफलले निकालेको शाक्यले बताएका छन्।

प्रकाशित: ९ भाद्र २०७८ ०७:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App