२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

६ लेन सडकमा अव्यवहारिक जेब्रा क्रसिङ

मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माण भएसँगै खुसी भएका आम नागरिकलाई अव्यवहारिक जेब्रा क्रसिङ र डिभाइडरले भने सास्ती दिइरहेको छ। ठाउँ–ठाउँमा बनाइएका जेब्रा क्रसिङको एक साइडबाट अर्को साइडमा पैदल यात्रुले साइड काट्दा सडक पार गर्न फलामे रेलिङ नाघ्नु पर्ने बाध्यता रहेको छ।

यस्तै करिब एक किलोमिटरको दूरीमा क्रसिङ पास (डिभाइडर) राख्दा एक लेनबाट अर्को लेनमा जाने यात्रुलाई निकै लामो दूरी पार गर्नुपर्ने बाध्यताले सास्ती दिइरहेको छ। धनगढी राजपुर चौकमा कैलाली गाउँबाट आउने पैदल यात्रुले सडक पार गर्न जेब्रा क्रसिङ भएर पश्चिमपट्टिको सडक किनारमा पुग्दा फलामका रेलिङ (बार) नाघ्नु पर्ने बाध्यता रहेको छ। ‘सडक वारिबाट पार गर्नु पर्दा जेब्रा क्रसिङ त बनाएको छ,’ स्थानीय लबरु चौधरीले भने, ‘तर, पारी पुग्दा फलामका रेलिङ लगाइएको छ, यात्रुले फलामको बार नाघ्नु पर्ने बाध्यता छ।’ अव्यवहारिक जेब्रा क्रसिङले यात्रुलाई फलामका बार नाघ्नु पर्ने बाध्यता रहेको उनी बताउँछन्।  

‘धनगढी चौराहबाट पारिपट्टि जाँदा मिलनचोक पुगेर पुनः फर्कनु पर्ने बाध्यता छ,’ स्थानीय तेज बोहराले भने, ‘६ लेन सडकमा अव्यवहारिक क्रसिङ पास राख्दा एक लेनबाट अर्को लेन जान निकै टाढा जानुपर्ने बनाइएको छ।’ धनगढी सुदूरपश्चिमको मुख्य व्यापारिक केन्द्र र त्यसमा पनि प्रदेशकै राजधानी रहेको ठाउँमा जनघनत्वको चाप अत्याधिक रहेकाले त्यस्तो ठाउँमा क्रसिङ राख्दा व्यवहारिकता निभाउनु पर्ने उनी बताउँछन्। ‘धनगढीको मोहनापुलदेखि चटकपुरको मुख्य बजार क्षेत्रमा जम्मा ३ ठाउँमा मात्रै क्रसिङ राखिनाले साइकल, मोटरसाइकल तथा चार पाङ्ग्रे सवारी साधनलाई लामो दूरी तय गर्नुपर्ने बाध्यता छ,’ उनले  भने, ‘यो अव्यवहारिक भएका कारण यात्रुले सास्ती खेप्नु परेको छ।’

क्रसिङ राखिँदा पेट्रोलियम पदार्थ राखिएको पम्प, विद्यालय, भिडभाड हुने सरकारी कार्यालय तथा सवारी साधन पार्किङ गरिने स्थल नजिक हुनु पर्नेमा पूरै अव्यवहारिक र  मनमौजी तरिकाले राखिएको उनले बताए।

६ लेन सडकमा अव्यवहारिक रुपमा बनाइएका जेब्रा क्रसिङले पैदल यात्रुलाई सास्ती हुने गरेको सुदूरपश्चिम ट्राफिकका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले बताए। उनले भने,‘ठाउँ ठाउँमा जेब्रा क्रसिङ त बनाइएका छन्, तर ति अव्यवहारिक हुँदा यात्रुले सास्ती खेप्नु परेको छ ।’ वारिबाट पारिसम्म जेब्रा क्रसिङ बनाइए पनि त्यहाँ पारिपट्टि रेलिङ लगाइँदा जेब्रा क्रसिङको मर्मविपरीत भएको उनी बताउँछन्। ‘जेब्रा क्रसिङ कहाँ र कसरी बनाउने भन्ने कुराको थाहै नपाइ हचुवाका भरमा बनाइएको छ,’ उनले भने, ‘यसले यात्रुलाई समस्या पर्छ, जसले गर्दा यात्रुहरु जहाँ पायो त्यहीबाट बाटो काट्न खोज्छन् र दुर्घटना निम्तन्छ।’

सडक निर्माण गर्दा प्राविधिकसँगै ट्राफिक प्रहरीलाई पनि राख्दा जेब्रा क्रसिङ जस्ता कुरामा ट्राफिक प्रहरीले सहजीकरण गरिदिन सक्ने उनी बताउँछन्। अव्यवहारिक तरिकाले क्रसिङ राख्दा व्यापारी व्यवसायीलाई समेत मर्का परेको बताउँदै नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष शंकर बोगटीले भने, ‘सडकलाई पनि यहाँको जनघनत्व, यात्रु चाप, भिडभाड हुने सरकारी कार्यालय र अत्यावश्यकीय पेट्रोलियम पम्मलाई लक्षित गरेर क्रसिङ दिइनुपर्छ।’   करिब एक किलोमिटर टाढाको दूरीमा एक लेनबाट अर्को लेनमा छिर्ने क्रसिङ बनाइँदा धनगढी बजार क्षेत्रका उद्योगी व्यवसायीलाई समस्या थपिएको उनले बताए।

नजिकै आइपुगेको ग्राहकले लामो दूरी पार गरेर फर्किनु पर्ने बाध्यतालाई सहजीकरण गरेर क्रसिङलाई व्यवहारिक हिसाबले नजिक बनाइनु पर्ने उनले तर्क राखे। ‘उद्योग तथा कलकारखानालाई नजिक पर्ने प्वाइन्टमा क्रसिङ राख्नु पर्नेमा निकै टाढा र अपायक हिसाबले प्वाइन्ट राखिएको छ,’ उनले भने,‘यसलाई व्यवहारिक बनाइनु पर्छ ।’  

मोहनापुलदेखि अत्तरियासम्म सडकमा बनाइएका जेब्रा क्रसिङमा पारिपट्टि रेलिङ लगाइएको भएमा त्यसलाई निकालिने बताउँदै मोहनापुल–अत्तरिया सडक योजनाका प्रमुख युवराज पोख्रेलले भने, ‘त्यस्तो नहुनु पर्ने हो, यदि जेब्रा क्रसिङ भएको ठाउँमा रेलिङ लगाइएको छ भने त्यसलाई हटाउने छौँ ।’ उनले डिभाइडरका हकमा भने १४ दशमलव २ किलोमिटर सडक खण्डमा १५ ठाउँमा क्रसिङ प्वाइन्ट राखिएको बताए। ‘हामीले डिभाइडर (क्रसिङ) हाइवेको ‘कन्सेप्ट’ मा बनाएका हौँ,’ उनले भने, ‘तर यहाँ सडकबीच बजारमा परेकाले केही समस्या देखिएको छ।’ क्रसिङ राख्नका लागि समस्या देखिएपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको रोहबरमा क्रसिङ राखिने स्थल छुट्याइएको उनले बताए। ‘स्थानीयलाई क्रसिङमा केही समस्या भएमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा २०७६ भदौ ३० गते बसेको बैठकले आवश्यकता अनुसार अन्य ठाउँमा पनि क्रसिङ राख्न सकिने निर्णय गरेकाले त्यो सोच्न सकिन्छ,’ उनले भने।  

प्रकाशित: २७ श्रावण २०७८ ११:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App