९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

बाढीपहिरोले पुरियो मनाङको गंगापूर्ण हिमताल (तस्बिरसहित)

असार पहिलो साताको बाढीपहिरोले पुरिएको मनाङको गंगापूर्ण ताल। तस्बिरः सौजन्यः बिनोद गुरुङ

असार पहिलो साताको बाढीपहिरोले हिमाली जिल्ला मनाङमा भौतिक क्षति निकै नै गर्‍यो । सडक, पुलपुलेसा, सरकारी, निजी भवन सहित स्थानीयको बासै उठाउने गरि क्षति गर्दा जनजीवन अझै पूर्ववत अवस्थामा फर्किन सकेको छैन । बाढीपहिरोले सर्वसाधारणलाई त उठिबास लगायो नै प्राकृतिक सम्पदामा पनि उत्तिकै क्षति गरेको छ ।  

बाढीपहिरोले पूर्वाधार मात्र क्षति नगरी मनाङकै गहना मानिने गंगापूर्ण हिमतालमा पनि उत्तिकै नोक्सान पुर्‍याएको छ। अन्नपूर्ण फेरोको पदमार्गमा गएका सबैजसो पर्यटकले घुम्ने गंगापूर्ण हिमताल बाढीपहिरोका कारण सधैंका लागि हराउनेगरि जोखिममा परेको स्थानीयले बताएका छन्। स्थानीयका अनुसार गंगापूर्ण हिमताललाई जोगाउन पहल नगर्ने हो भने पर्यटन क्षेत्रमा निकै नै नोक्सान पुग्नेछ।  

मनाङको गंगापूर्ण तालको पुरानो तस्बिर

पर्यटन व्यवस्थापन समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार असार पहिलो साताको बाढीले तालमा एकाएक क्षति पुर्‍याएको हो। १५ वर्षमा पुरिने जति ताल यो पटक एकैरातमा पुरिएको उनले बताए। ‘१५ वर्षमा जति ताल पुरिन्थ्यो, योपटक एकरातमै त्यत्ति बढी ताल पुरिएको छ,’ उनले भने, ‘लेदो र बालुवा बग्दै आएर ताल पुरिएको छ। तालको अस्तित्व नै जोखिममा परेको छ। तालको दायँबायाँका डाँडाको पहिरो पनि तालमै खसेको छ।’ पहिलेको आकारमा ताल फर्काउन निकै नै सकस रहेको उनले बताए। यो पटक ताल पुर्ने लेदो र बालुवा निकाल्न सकिएन भने गंगापूर्ण ताल सधैंका लागि हराउने चिन्ता रहेको उनले बताए।

‘मनाङ उक्लेका स्वदेशी वा विदेशी पर्यटक गंगापूर्ण ताल नपुग्ने कोही हुँदैनन,’ उनले भने, ‘एकैरातको बाढीले सर्वत्र क्षति पुर्‍याएको छ। यसले ताललाई जोखिममा त पारेको छ नै मनाङको पर्यटन क्षेत्रलाई समेत नोक्सान गरेको छ।’ अन्नपूर्ण फेरोमा जाने हुन वा तिलिचो जाने पर्यटक गंगापूर्ण नघुमि फर्कदैनन्। मनाङ ङिस्याङ गाउँपालिका–६ मा पर्ने यो तालको मुख्य श्रोत गंगापूर्ण, अन्नपूर्ण चौथो र खाङखास काङ हिमालबाट पग्लेर बगेको पानी हो। गंगापूर्ण ३ हजार ५ सय ४० मिटर उचाईमा पर्छ। यसअघि यति भीषण पानी कहिल्यै नपर्दा ताल जोगिएकोमा यो पटक भने एकरातमै पुर्नेगरि लेदो बगेर आएको उनले बताए।  

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका संरक्षण अधिकृत लेखनाथ गौतमका अनुसार यो पटक गेग्रानले तालको ७० प्रतिशत भाग पुरेको छ। ‘अब त ३० प्रतिशत मात्र पानी बाँकी रहेको हाम्रो अनुमान छ। ताल पुरिन थालेको त वर्षाै भयो, तर यो आकारमा पुरिएको थिएन। अहिले त एकरातमै धेरै क्षेत्र पुरियो,’ गौतमले भने, ‘अब त खोला मात्र बगेको देखिन्छ। पानी संकलन भएको क्षेत्र पनि देखिन्न।’  

उनका अनुसार दुईदशक अघिसम्म ताल निकै नै सुन्दर थियो। वर्षायाममा केही मैलो हुने भएपनि यो पटक भने पुरिएरै सकिएको उनले बताए । हिउँदमा यो ताल निकै नै सुन्दर देखिन्थ्यो। ‘पर्यटन क्षेत्रमा तालको निकै नै महत्व हो । तर, यो पटक तालको अस्तित्व नै संकटमा परेको छ,’ उनले भने, ‘मनाङ आएका पर्यटकको बसाई कम्तिमा एकदिन यही तालले बढाएको थियो । तर, अब ताल जोगाउन सकिएन भने यसले पर्यटन क्षेत्रमा निकै नै ठुलो मार पार्नेछ।’ यसअघि पनि बेलाबेला ताल हिमपहिरोको चपेटामा पर्दै आएकोमा अहिले भने बाढीले क्षति गरेको उनले बताए।  

बाढीपहिरोले ताल नै जोखिममा पारेपछि तालको क्षेत्रफल बढाउन र पानीको सतह उकास्ने गरि पर्खाल बनाउनका लागि गाउँपालिकाले टेण्डर आव्हान गरेको छ । मनाङ ङिस्याङ गाउँपालिकाका इन्जिनियर उदय बास्तोलाका अनुसार यो ताल पहिला हिमपहिरो आउँदा पुरिने गरेको थियो । तर, यो पटक भने गेग्रान बगेर आउँदा एकैपटक बढी क्षति गरेको छ । अहिले ताल संरक्षण गर्न पर्यटन मन्त्रालय मार्फत चारकरोड रुपैयाँ आएको र त्यसले आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने र ताल पुर्ने गेग्रान निकाल्ने योजना अनुसार केहीदिन अघि मात्र टेण्डर आव्हान गरिएको बास्तोलाले जानकारी दिए ।  

‘दायाँबायाँका डाँडा समेत खसेर तालमै मिसिएको छ। यो पटक लेदो र बालुवाले तालको अधिकांश भाग पुरेको छ,’ बास्तोलाले भने, ‘ताल निकै नै संकटमा छ। बेलैमा जोगाउन नसक्ने हो भने गंगापूर्ण ताल सधैंका लागि हराउनेछ।’ उनका अनुसार यो बजेटले दुईवर्ष भित्र १९३ मिटर लामो ड्याम बन्नेछ। ड्यामको उचाई ३.५ मिटर हुनेछ। ड्याम बनाएर पानी थुनिँदा सतह २.५ मिटर बढ्नेछ। तालको क्षेत्रफल २१.८ हेक्टर रहेको छ। ‘एक्साभेटर लगाएर भएपनि तालभित्रको लेदो र बालवा निकाल्नुपर्छ । नत्र तालको सतह बढ्दैन,’ बास्तोलाले भने । तालको सिरान क्षेत्रमा रहेका दुईवटा चेकड्याम पनि मर्मतसम्भार हुने उनले बता ।

‘एक्साभेटर लगेर थुप्रिएको बालुवा र लेदो निकाल्ने हो। डोकोमा बोकेर फ्याकेको भरमा सम्भव हुँदैन,’ उनले भने, ‘तालको सतह नै पुरिएर खोलाको बगर जस्तो बनेको छ। उनका अनुसार यो ड्याम माटो भरेर बनाइनेछ। ‘यत्ति ठुलो आकारमा यो तालका लागि कहिल्यै रकम खर्च भएको थिएन । केहीवर्ष अघि पर्खाल लगाउन थोरै रकम खर्च भएपनि ठुलो बजेट खर्चिन थालेको यो नै पहिलो पटक हो,’ उनले भने, ‘कति परिमाणमा लेदो वा बालुवा निस्कन्छ भन्ने यकिन पनि छैन।’

प्रकाशित: २१ श्रावण २०७८ ०९:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App