५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

सडकमै ट्राफिक प्रहरीको काँडेतार

ट्राफिक प्रहरीले तारबार लगाएर बन्द गराएको हटलाइनदेखि सरकारी कार्यालय जोड्ने लिंक रोड । तस्बिरः नगेन्द्र/नागरिक

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले हटलाइन सडक हुँदै सरकारी कार्यालय जोड्ने ‘लिंक रोड’मा तारबार गरिदिएपछि नागरिकहरुलाई यात्रामा समस्या हुन थालेको छ। हटलाइन सडकदेखि ट्राफिक प्रहरी कार्यालयको गेट हुँदै मुख्यमन्त्री कार्यालय, जिल्ला र उच्च सरकारी वकिल कार्यालय, जिल्ला अदालतलगायतका सरकारी कार्यालयमा जाने छोटो सडक ट्राफिक प्रहरीले काँडेतार लगाएर बन्द गरिदिएको हो।  

वीरेन्द्रनगर नगरपालिकाले उक्त सडक कालोपत्रेको तयारी गरिरहेको थियो। मेयर देवकुमार सुवेदीले सडक बन्द गरेरै तारवार गरिएको विषयमा आफूले पनि जानकारी पाएको बताए। ‘हटलाइन सडकदेखि उत्तरतर्फका सरकारी कार्यालयहरु जोड्ने लिंक रोडलाई कालोपत्रे गर्ने तयारी नगरपालिकाले गरिरहेको छ,’ मेयर सुवेदीले भने, ‘ट्राफिक प्रहरीले कुनै समन्वयविनै तारबार गरेर सडक बन्द गराएको सुन्नमा आएको छ, तत्काल तारबार हटाउन पत्राचार गर्‍छौं।’

हटलाइन सडकदेखि ट्राफिक प्रहरी कार्यालयको गेट हुँदै मुख्यमन्त्री कार्यालय, जिल्ला र उच्च सरकारी वकिल कार्यालय, जिल्ला अदालतलगायतका सरकारी कार्यालयमा जाने लिंक रोड ट्राफिक प्रहरीले काँडेतार लगाएर बन्द गरिदिएको छ।

अहिले ट्राफिक प्रहरी बसेको ठाउँमा केही वर्षअघिसम्म जिल्ला प्रहरी कार्यालय थियो। सशस्त्र द्वन्द्वका बेला पनि उक्त सडक प्रहरीले बन्द गरेको थिएन। नगर विकास समितिको प्लानिङमा पनि ट्राफिक प्रहरीले काँडेतार लगाएर बन्द गराएको ठाउँमा हटलाइन हुँदै सरकारी कार्यालय जोड्ने ‘लिंक सडक’ छ।

ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक उपेन्द्र आचार्यले नगर विकास समितिले दिएको जमिनमै आफूहरुले तारबार गरेको दावी गरे। उनले २०६४ सालमा साढे चार कट्ठा जमिन नगर विकास समितिले ट्राफिक प्रहरीको नाममा दिएको बताए। ‘नगर विकास समितिले ट्राफिकलाई दिएको जमिनमै हामीले तारबार गरेका हौं,’ उनले भने, ‘केही समस्या भयो भने फेरबदल गरौंला।’ उनले ट्राफिक प्रहरीलाई नगर विकास समितिले दिने निर्णय गरिसकेको जमिनका विषयमा नगरपालिकासँग सोधिराख्न आवश्यक नभएको बताए।

‘नगर विकास समितिले जमिन दिएको हो, त्यसैले नगरपालिकासँग तारवार गर्दा समन्वय गर्न आवश्यक ठानिएन्,’ उनले भने, ‘ट्राफिक कारबाहीमा धेरै सवारी साधन ल्याइने भएकाले सुरक्षाका लागि पनि तारबार गरेका हौं।’ उनले तारबार गर्दा कति खर्च भयो भन्ने बारेमा आफू जानकार नरहेको बताए। 

‘प्रदेश ट्राफिक प्रहरी कार्यालयले यसको तारबार गरेको हो,’ उनले भने, ‘खर्चको बारेमा मलाई जानकारी छैन।’

प्रकाशित: ३ श्रावण २०७८ १४:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App