१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

अमेरिकामा भेटिएको भनिएको मूर्ति नेपाल फर्काउन पहल सुरु

अंशुबर्माकालीन पार्वतीको मूर्ति अमेरिकामा फेला परेको समाचारपछि भक्तपुर नगरपालिकाले त्यसलाई फर्काउन पहल थालेको छ। भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीस्थित एउटा मन्दिरमा रहेको मूर्ति नेपाल फर्काउन भक्तपुर नपाले सरोकारवाला निकायमा पत्राचार गरी पहल सुरु गरेको जनाएको छ।  

भक्तपुरको गोलमढीस्थित वीरभद्रेश्वर महादेव मन्दिरभित्रको कलात्मक पार्वतीको मूर्ति चार दशकअघि उक्त स्थानबाट हराएको थियो। हाल उक्त मूर्ति अमेरिकाको कनेटिकटस्थित येल विश्वविद्यालयको संग्रहालयमा भेटिएको समाचार आएको छ।  

भक्तपुर नगरपालिकाको वडा नं. ७ स्थित गोल्मढीबाट हराएको उक्त मूर्ति अमेरिकाको संग्रहालयबाट नेपाल फर्काइ भक्तपुरको वीरभद्रेश्वर महादेवको मन्दिरमै पुनःस्थापनाको लागि भक्तपुर नगरपालिकाले नेपाल सरकारअन्तर्गतका पुरातत्व विभाग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयमा आवश्यक पहल र सहयोगको लागि अनुरोधसहित पत्राचार गरेको छ।

समाचारमा येल विश्वविद्यालयको वेबसाइटमा उक्त मूर्तिलाई बुद्धिस्ट गडेस तारा भनेर उल्लेख गरिएको र सन् १९७६ मा भक्तपुर, गोल्मढीबाट चोरी भएको उक्त मूर्ति सुरुमा स्पिन्क एण्ड सन लिमिटेड (लन्डन) ले देवीको मूर्ति भनेर कला सम्पदाका संग्रहकर्ता जेम्स एण्ड मार्लिन एल्सडर्फलाई बेचेको भनी समाचारमा उल्लेख छ। साथै सन् १९८४ मा जेम्स दम्पत्तिले यो सम्पदा किनेको र सन् २००२ मा माइकल एण्ड जर्जियाले न्युयोर्कमा उक्त मूर्ति पुर्‍याएको बताइएको छ। येल विश्वविद्यालयमा भने यो सम्पदा सन् २०१५ मा मात्र पुगेको बताइएको छ।

नेपालका विभिन्न समय र कालखण्डमा हराएका यस्ता ऐतिहासिक र पुरातात्विक महत्वका सांस्कृतिक एवम् धार्मिक सम्पदाहरु विगतका दिनहरुमा पनि सरकारको पहलबाट नेपाल फर्काइ यथास्थानमा पुनःस्थापित गरेका धेरै उदाहरणहरू छन्। आर्थिक रुपमा संसारकै धनी राष्ट्रको रुपमा चिनिने र कला, संस्कृति, सम्पदा र मानव सभ्यताका विषयमा विश्वविद्यालयस्तरमा अध्ययन अध्यापन हुने अमेरिकाको एउटा विश्वविद्यालयमा नेपालबाट चोरिएको सम्पदा संग्रहालयमा प्रदर्शित भइरहनु आफैमा उदेगलाग्दो रहेको नगरपालिकाले जनाएको छ। 

नेपाल सरकारको पहलमा नेपालबाट हराएका यी र यस्ता सम्पदा नेपालमै फर्किनेमा नेपालका संस्कृतिप्रेमी एवम् सम्पदाप्रेमीहरु आशावादी रहेका छन्।

प्रकाशित: २९ असार २०७८ ११:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App