१६ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

मनाइयो पाँचतले मन्दिरको जन्मोत्सव

तस्बिरः माेनिका मल्ल/नागरिक

विश्वप्रसिद्ध भक्तपुरस्थित पाँततले मन्दिरको आइतबार जन्मोत्सव मनाइएको छ। यसलाई नेपाल भाषामा ङातापोल देयगा बुँसदा भनिन्छ। यस अवसरमा सिद्धिलक्ष्मी देवीको पूजा गर्नुका साथै मन्दिरको गजुरमा झण्डोतलन गरिएको छ।  

मन्दिरको सबैभन्दा माथिल्लो पाँचौ तलाको गजुरमा झण्डात्तोलन गरेर जन्मोत्सव मनाइएको हो। झण्डात्तोलन वर्षेनी असार शुक्ल प्रतिपदाको दिन मनाइन्छ। यो दिन ङातापोल मन्दिरको सबैभन्दा माथिल्लो तला (गजुर) सम्म मानिस पुगेर झण्डा राखेर झण्डात्तोलन गरिएको हो।  

वर्षेनी असार शुक्ल प्रतिपदाको दिन बुसाँरा (झन्डात्तोलन) गरिन्छ। यसमा भक्तपुरका तुछिमलाका अवाल संलग्न हुन्छन्। उनीहरु मन्दिरको माथिल्लो तल्लाको गजुरमा पुगेर झण्डा हाल्छन्। यसका लागि आधा दर्जन मानिस गजुरसम्म पुग्छन्। मन्दिरको भित्रभित्रै हुँदै उनीहरु मन्दिरको गजुरसम्म पुग्छन्।  

साँस्कृतिवृद् ओम धौभडेलले ङातापोल (पाँचतले) मन्दिर निर्माण सम्पन्न भएको उपलक्ष्यमा झन्डोत्तोलन गरिने चलन चलेको बताउँछन्। मन्दिर नेपाल संम्वत् ८२२ पौष शुक्ल नवमीमा जग राखेको थियो। मन्दिरको छाना बनाउने काम तुछिमलाका अवालहरुले गरेकोे किम्वदन्ती छ। ङातापोल मन्दिर एउटाको मात्र नक्सा रहेको धौभडेल बताउँछन्।

टौमढी टोलका भैरव डरलाग्दो, रिसाहा र घमण्डी भएकाले उनलाई शान्त पार्न भैरवको अगाडि सिद्धिलक्ष्मी स्थापना गरिएको बताइएको छ। मन्दिरलाई अग्लो बनाउनुको कारण भैरवनाथभन्दा ठूलो मन्दिर बनाएपछि भैरवनाथको रिस कम हुन्छ भन्ने धारणाले बनाइएको बताइएको छ। सिद्धिलक्ष्मी देवतालाई तान्त्रिक देवता तथा शक्तिको देवी, शक्तिको प्रतीक मानिन्छ।  

परम्परादेखि चल्दै आएको यो चलन आर्थिक अभावका कारण सञ्चालनमा समस्या भएको छ। स्थानीयका अनुसार वर्षमा एक पटक झण्डात्तोलनका लागि सरकारले चार हजार रुपैयाँ मात्रै दिने गर्दै आएको छ। सरकारले दिने चार हजार रुपैयाँले परम्परा धान्न नसकिने सरोकारवालाहरु बताउँछन्।

तुछिमला टोलसुधार समितिका अध्यक्ष हरिशरण अवाल बुसाँरा (झण्डोत्तोलन)का लागि २० जना अवालहरु मन्दिरमा जाने गरेको बताउँछन्। कार्यक्रमका लागि आर्थिक अभाव भएकोबारे उनीहरुले गुठी संस्थान, भक्तपुरका साथै भक्तपुर नगरपालिका, वडा कार्यालयलाई जानकारी गराएका थिए।  

नेपालकै सबैभन्दा अग्लो यो मन्दिर बारम्बारको भूकम्पको धक्काका बावजुद पनि बाँचिरहेको छ। पछिल्लो २०७२ सालको महाभूकम्पमा पनि यो मन्दिरमा देखिने गरी क्षति पुगेको थिएन। समयसमयमा मर्मतसुम्हार भइरहने भएकाले मन्दिरमा क्षति हुन नपाएको सरोकारवालाहरु बताउँछन्।  

पछिल्लो पटक पनि २०७२ सालको महाभूकम्पपछि मन्दिरको जिर्णाेद्धार गरिएको छ। मन्दिरको माथिल्लो तलाहरु जिर्णाेद्धार गरिएका हुन्। मन्दिरको छाना छाउने काम सम्पन्न गरिएको थियो।  

पछिल्लो पटक मन्दिरको पुनः निर्माण २०७६ मंसिर ६ गतेबाट सुरु भएको थियो। त्यसपछि कोभिड–१९ को लकडाउनका कारण चैत ११ गतेदेखि काम बन्द गरिएको थियो। तर पछिल्लो पटक फेरि लकडाउनकाबीच नै मन्दिर पुनर्निर्माणको काम सुरु भएको थियो।

प्रकाशित: २७ असार २०७८ ११:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App