४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

स्याउ तस्करी काण्डः प्रहरी निरीक्षकसहित आठ जना प्रहरी कारबाहीमा

स्याउ तस्करीमा संलग्नता देखिएपछि सुनसरीमा कार्यरत चार जना सशस्त्र र चार जना जनपथ प्रहरी कारबाहीमा परेका छन्। कारबाहीमा पर्ने सशस्त्रका एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) रहेका छन् भने जनपथका तीन जना असई र एक जना प्रहरी हवाल्दार छन्।  

भारतीय प्रहरीले सुनसरी हुँदै प्रवेश गरेका तीन ट्रक तस्करीको चाइनिज स्याउ जेठ २९ गते बरामद गरेको थियो। स्याउ बरामद गरेपछि सशस्त्र र नेपाल प्रहरीले अलग अलग छानबिन समिति गठन गरेको थियो।  

सशस्त्र प्रहरीको पूर्वी क्षेत्रीय मुख्यालय पकली सुनसरीका एसएसपी प्रकाश थापाको नेतृत्वमा गठित समितिले इन्स्पेक्टर महेष कार्की, असई सन्तोष खड्का, जवान ज्ञानेन्द्र राई र तिलक विश्वकर्मालाई कारबाही प्रक्रिया अगाडि बढाएको छ। यी चारै जना सशस्त्र प्रहरीको बेस क्याम्प कोशी भण्टाबारीमा कार्यरत हुन्।  

यस्तै, नेपाल प्रहरीले घटनालगत्तै छ जनालाई निलम्बन गरेकोमा चार जनाको संलग्नता देखिएको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ। घटनाको छानबिन गर्न एसएसपी राजेन्द्रकुमार चौधरीको नेतृत्वमा गठित समितिले कोशी गाउँपालिकाको श्रीपुर जब्दीमा कार्यरत टेकबहादुर कार्की, प्रदेश नं. १ प्रहरी कार्यालयको रिजनल इन्भेष्टीगेशन टिममा कार्यरत सई किरण मोक्तान, कोशी गाउँपालिकाकै प्रहरी चौकी हरिपुरमा कार्यरत भूपराज पोखरेल तथा सोही कार्यलयमा कार्यरत प्रहरी हवल्दार बिरेन्द्रकुमार यादवको संलग्नता देखिएकाले गर्दा कारबाही प्रक्रिया अगाडि बढाएको हो। जनपथ प्रहरीले चारै जनालाई निलम्बन कायम राखेर कारबाही प्रक्रिया अगाडि बढाएको जनायो।  

प्रदेश नं. १ प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनकुमार राईंका अनुसार सई गंगा थापा र असई आशनारायण माझीको भने संलग्नता नदेखिएकाले गर्दा निलम्बन फुकुवा गरिएको बताए। एसएसपी चौधरीले बुझाएको प्रतिवेदनका आधारमा कारबाही थालिएको हो।  

गत जेठ २९ गते सुनसरीको कोसी गाउँपालिका हुँदै ना ६ ख १५१२, ना ६ ख १८९५, प्रदेश १–०२–००१ ख ८०४१ नम्बरको ट्रकमा लोड गरिएको स्याउ भारतीय प्रहरीले सीमावर्ती क्षेत्र बिरपुरको इटा उद्योगमा अनलोड गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

प्रकाशित: २२ असार २०७८ १४:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App