१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

व्यवस्थापन समितिमा विवाद हुँदा प्रधानाध्यापकमाथि कुटपिट

विद्यालय व्यवस्थापन समिति अध्यक्ष बनाउने विषयमा विवाद हुँदा सुनसरी बर्जु गाउँपालिका वडा नं. १ रामगञ्ज बेलगछीयाको शुक्रबारेमा रहेको श्री नवदुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट भएको छ। ३८ वर्षीय कञ्चन मण्डलमाथि सोमबार दिउँसो कुटपिट भएको हो।  

विद्यालय व्यवस्थापन समितिका लागि अभिभावकबाट सदस्य र शिक्षक प्रतिनिधि छनोट भएपनि अध्यक्षको टुंगो नलगोकोमा त्यही विषयका लागि सोमबार बिहान ८ बजे बैठक डाकिएको थियो। बैठकको पहिलो प्रस्तावमै अध्यक्ष छनोट गर्ने राखिएको र निर्णयमा अर्को बैठकमा अध्यक्ष चयन गर्ने निर्णय पनि गरिएको थियो।  

बैठक सकिने बेलामा गाउँका केही अभिभावक आएर तत्काल चयन गर्न दबाब दिए। त्यही विषयमा समितिका सदस्यहरु अभिभावकबाट सकारात्मक सल्लाह आएकाले गर्दा गरेरै टुग्याउँनुपर्छ भन्नेमा पुगे। तर, प्रधानाध्यापक मण्डलले निर्णय भइ सकेकाले गर्दा अर्को बैठकबाटै गर्नुपर्ने अडान राखे।  

त्यसपछि पक्ष विपक्ष भएर तर्कवितर्क हुन पुग्यो। त्यही बेला वडा नं. १ का वडाध्यक्ष श्याम गुरुङ आफ्नो गाउँपालिकामा बैठक भएकाले केही नहोस् भनेर हिँडे। त्यसपछि त्यहाँ केही अभिभावक र बाहिरका व्यक्तिले प्रधानाध्यापक मण्डललाई घाँटी समात्दै विद्यालयभित्र लगेर कुटपिट र दुर्व्यवहार गरेका गरेका थिए।  

‘वडाध्यक्ष आफै अध्यक्ष हुने चाहना राखेपछि समितिमा छनोट भएका मदन गुरुङ र शंकर गुरुङलगायतका व्यक्तिले घाँटी समातेर लछारपछार गर्दै कुटपिट गरे,’ प्रधानाध्यापक मण्डलले भने, ‘विद्यालयको सटर थुनेर लछारपछार गर्दै कुटपिट गरे अनि अन्तिममा आइन्दा विद्यालयमा अनुहार देखाउन आइस भने ठीक हुँदैन भनेर धम्की दिए।’ उनले भने, ‘निकै बेर लछारपछार गरेर फुत्किन सफल भएपछि प्रहरी चौकी र गाउँपालिकामा गएर घटनाबारे जानकारी गराएँ।’ इलाका प्रहरी कार्यालय दुहवीले घटना भएपनि कुनै उजुरी भने आएको जनाएको छ।  

वडा नं. १ का वडाध्यक्ष गुरुङले आफू गाउँपालिकाको बैठकमा पुग्नका लागि हिँड्ने बेलामा सबैलाई सम्झाएर हिँडेको बताए। ‘गाउँपालिकामा बैठक बसीरहेका बेला ४ बजेतिर पुगेर त प्रधानाध्यापक मण्डलले मैमाथि आरोप लगाउँदा अचम्भित भए,’ गुरुङले भने, ‘मेरो वडामा कुनै घटना भए त्यसलाई रोक्ने र समाधान गर्ने मेरो दायित्व हो। म नभएको बेला घटना भएछ अनि मलाई सुनियोजित आरोप लगाइएको छ।’  

उनले घटनापछि आफूले वास्तविकता बुझ्दा प्रधानाध्यापक मण्डललाई अभिभावकले ‘लु तपाईं नै अध्यक्ष बन्नु’ भनेर अबीर लगाएर दुर्व्यवहार गरि एक/दुई थप्पड पनि हानेको बताए। ‘म वडाध्यक्षको हिसावले प्रधानाध्यापकले नाम किटान गरेर दिए उनीहरुले कारबाही भोग्नुपर्छ,’ उनले भने, ‘यसभन्दा अघि पनि म विद्यालय व्यवस्थापन समिति अध्यक्ष हुँदा कामको चटारोले सक्दिन भनेर पन्छिएको मान्छे फेरि कसरी मै हुन्छु?’

विद्यालयमा अभिभावकबाट प्रतिनिधि र शिक्षकबाट प्रतिनिधि छनोट भई सक्दा पनि अध्यक्ष चयन नभएपछि गाउँपालिकाले विद्यालयको नाममा असार १३ गते पत्र काटेको थियो। लगत्तै बैठक बसेको थियो।  

गाउँपालिका अध्यक्ष रघुनन्दन चौधरीले विद्यालयमा प्रधानाध्यापकमाथि घटना भएको जनाउँदै अब वास्तविकता बुझेर समस्या समाधान गरिने बताए।

प्रकाशित: १५ असार २०७८ १०:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App