६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

नयाँ आर्थिक वर्ष दिप्रुङको ‘फिनिसिङ’ वर्ष

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले नयाँ आर्थिक वर्षलाई ‘फिनिसिङ’ वर्षका रुपमा बिताउने नीति तथा कार्यक्रम ल्याएको छ। असार १० गतेको गाउँसभाले आर्थिक वर्ष २०७४/०७५ मा सुरु गरिएका तथा अन्य योजनालाई आर्थिक वर्ष २०७८/०७९ भित्र सम्पन्न गर्ने लक्ष्यका साथ ‘फिनिसिङ’ वर्षको रुपमा बिताउने नीति लिएको हो।

आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम अधुरा योजनालाई सम्पन्न गर्नतिर लक्षित हुने गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए। ‘आगामी आर्थिक वर्ष नयाँ योजना शिलान्यासमा हामी कुद्ने छैनौं । यसअघि सुरु गरिएका योजना पुरा गर्ने र उद्घाटनमा मात्र पुग्ने छौँ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘यो वर्षलाई आफ्नो कार्यकालमा सुरु भएका योजना पूरा गर्ने वर्षका रुपमा लिएका छौँ । नयाँ योजना कमै सुरु हुने छन्।’  

७० वर्षमाथिका ज्येष्ठनागरिकलाई घरमै स्वास्थ्य जाँच  

दिप्रुङ चुईचुम्मा गाउँपालिकाले प्रत्येक वडाको स्वास्थ्य संस्थामा एक्सरे मेसिन व्यवस्था गर्ने, दिर्घ रोगीको स्वास्थ्यलाई ध्यानमा राख्दै प्रत्येक महिना टोल–टोलमा स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याउने, वार्ड अल्ट्रासाउण्ड सेवा सञ्चालनमा ल्याउने, ७० वर्षमाथिका वृद्ध वृद्धालाई घरमै स्वास्थ्य जाँच गर्न घर–घरमा स्वास्थ्यकर्मी परिचालन अभियानलाई प्रभावकारी बनाउने, ‘स्वस्थ बालक समृद्धि’को आधार भन्ने नाराका साथ हरेक घरका गृहिणीलाई बालबालिका हेरचाह र स्वस्थ आहार सम्वन्धी आधारभुत तालिमको व्यवस्था गर्ने, स्थानीय जडिबुटी र आदिवासी ज्ञानलाई प्रवद्र्धन गरेर परम्परागत स्वास्थ्य सुविधा विस्तारमा जोड दिने, शिशु जन्मेको २ वर्षसम्म शिशु पोषण प्रवद्र्धन कार्यक्रमलाई निरन्तरता दिने नीति तथा कार्यक्रम ल्याएको छ।  

यस्तै, कृषि ऐनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, निर्धारित पकेट क्षेत्रबाट उत्पादित आलु, लिची, सुन्तला, कागती जस्ता कृषि उपजको बजार ग्यारेन्टी गर्ने, स्थानीय बजारमा बिक्री हुन नसकेको कृषि उपजलाई गाउँपालिकाले बाहिरी बजारमा निर्यात गर्ने र प्राप्त नाफाको २० प्रतिशत कृषकलाई दिने व्यवस्था मिलाउने, गाउँपालिकाभित्र चिया, टिमुर, अम्रिसो आदि उत्पादन हुने भूभागलाई खेतीमा परिणत गर्ने, स्थानीय उन्नत जातको बिउबिजन जोगाउन कृषि सहकारी संस्थामार्फत बिउबिजन बैंक सञ्चालनमा ल्याउने, गाउँपालिकामा एक वटा कोल्डस्टोर स्थापना गरी सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रम ल्याएको छ।  

गाउँपालिकाले भौगोलिक विकटतालाई ध्यानमा राख्दै आवश्यकीय विद्यालयमा छात्रावासको व्यवस्था मिलाउने, उत्कृष्ट शिक्षक, विद्यार्थी, विव्यस र प्रअलाई पुरस्कृत गर्ने नीतिलाई निरन्तरता दिने, गाउँपालिकाले गत आर्थिक वर्ष वितरण गरेको दरबन्दीलाई यथावत राख्दै आवश्यकताअनुसार दरबन्दी सिर्जना गर्ने, गाउँपालिकामा एक प्राविधिक शिक्षालय स्थापना गर्ने नीति लिने लिइएको जनाएको छ।

यस्तै, साप्सु खोलाको मोटरेबल पुल आगामी आर्थिक वर्ष सम्पन्न गर्ने, रमाइलो–मुलाबारी–पाहारपानी–पञ्चमी हुँदै गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई संघीय र प्रदेश सरकारसँगको समन्वयमा आगामी वर्षदेखि कालोपत्रे गर्न बोलपत्र खोल्ने, दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खादेखि खानीडाँडा विमानस्थल जोड्ने सडकलाई संघीय सरकारसँगको समन्वयमा कालोपत्रे सुरु गर्ने, गाउँपालिकाभित्रको सडक ट्र्याकलाई सोलिङ, ग्राभेलिङ गरी स्तरोन्नतीमा ध्यान दिने, अतिआवश्यक स्थानमा मात्र ट्र्याक खोल्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

यस्तै, पर्यटन महोत्सव, होटल व्यवस्थापन, होमस्टे स्थापना नयाँ पर्यटन स्थलको पहिचान गरी पर्यटन विकासको नीति लिने, धिप्लुङ झरनाको कामलाई तिव्रता दिँदै निर्धारित समयमा नै सम्पन्न गर्न व्यवस्था मिलाउने, राम्चे भ्यू टावरको सौन्दर्यकरणको कामलाई तिव्रता दिने, भुर्चुङमाडाँडाबाट भण्डारेघाट प्याराग्लाइडिङको व्यवसायीक रुपमा उडान सुरु गर्ने, वन उद्यान, वनस्पति उद्यान र प्राण्ी उद्यान स्थापनाका सम्भाव्यता अध्ययनसहित गुरुयोजना निर्माण गर्ने, वनलाई उत्पादनसँग जोडेर उपयोग विहिन बोट विरुवा हटाएर ओखर, हर्रो, बर्रो, चिराइतो, रिट्ठा लगाउने नीति लागू गर्ने भनिएको छ।  

गाउँपालिकामा महिला खेलाडी उत्पादन तथा प्रोत्साहनका लागि आधारभुत तथा माबिमा खेलकुद सामग्री वितरण गर्ने, सम्पत्ती कर, घर नक्सा पास तथा अभिलेख दस्तुर, व्यवसाय कर, बहाल विरौटी शुल्क, सम्पत्ती मूल्यांकन शुल्क, निवेदन दस्तुरको निर्धारण गरी सफ्टवेर प्रणालीबाट असुली गर्ने व्यवस्था मिलाउने उल्लेख छ।  

बुहारीलाई निःशुल्क शिक्षाको अवसर  

गाउँपालिकामा एउटा फलफूल प्रशोधन उद्योग स्थापना गर्ने, समृद्धिको पहिलो आधार शिक्षा र मानिसको पहिलो गुरु आमा भएकाले गाउँपालिकाभित्र बसोबास गर्ने सबै नागरिक शिक्षित हुनुपर्छ भन्ने अवधारणा अन्तरगत पहिलो चरणमा गाउँपालिकाभित्रका कक्षा ११ र १२ मा अध्ययनरत र अध्ययन गर्न चाहने बुहारीलाई निःशुल्क शिक्षाको अवसर जुटाउने नीति लिने, बेरोजगार युवाको तथ्यांक संकलन तथा अद्यावधिक गर्ने, ज्येष्ठ नागरिकलाई उपचारका लागि जिल्ला बाहिर लानु परेमा आवत–जावत खर्च उपलव्ध गराउने, ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई गाउँपालिकाभित्र तथा दिक्तेल र गाईघाटसम्म आवत–जावत गर्न निःशुल्क यातायातको व्यवस्थालाई निरन्तरता दिने, गाउँपालिकाभित्र रहेका साहित्यिक संग्रहहरुको संरक्षण तथा साहित्यकारको प्रोत्साहन गर्ने लगायतका नीति तथा कार्यक्रम ल्याइएको छ।

प्रकाशित: १३ असार २०७८ ०७:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App