२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

'बिरालो छोपेर श्राद्ध' जस्तै भयो विपद पछिको पोष्टमार्टम

अन्त्येष्टीका लागि शव लैजाँदै छिमेकी । तस्बिरः दिनेश/नागरिक

मंगलबार राति रोल्पा नगरपालिका ९ होमाको गर्पा गाउँमा घरमाथि पहिरो जाँदा एकै घरका तीन महिलाको मृत्यु भयो भने तीन जना घाइते भए । सदरमुकामबाट करिब ४ घण्टाको पैदल दूरी तय गर्दै रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदी लगायतको टोलि त्यहाँ पुगेर उद्धार गर्यो । बर्षातको मौषम, अस्तब्यस्त सडकका कारण घटनामा घाइते ३ जनामध्ये दुई जनालाई थप उपचारमा समस्या भएपछि प्रमुख जिल्ला अधिकारी नबराज सापकोटा लगायतको पहलमा नेपाली सेनाको हेलिकप्टरले उद्धार गर्नु पर्यो ।  

एकै घरका ३ जनाको मृत्यु अनि ३ जना घाइते भएपछि घाइते टिकासिंह बुढाको परिवार मात्र नभएर गाउँ नै शोकमा डुबेको छ । उपचार, खाने, बस्ने र भविष्यको चिन्ताभन्दा पनि अकालमा ज्यान गुमाउनेका पोष्टमार्टम र अन्त्येष्टीको झन्झटले अर्को समस्या थपियो । धन्न बिरामी लिन आएको हेलिकप्टरले गाउँबाट सदरमुकामको अस्पतालसम्म शव लिएर छोडिदियो तर त्यहाँ न आफन्ती थिए न त छिमेकी नै । तीन महिलाको शव अस्पताल आएपछि छिमेकी र आफन्त वर्षे झरिमा ४ घण्टा पैदल दूरी पार गर्दै राती मात्र अस्पताल पुगे । अन्त्येष्टीका लागि शव फर्काएर गाउँ लैजाने अवस्था नभए पछि थोरै छिमेकीको सहयोगमा बिहीबार दिउँसो अबेला सतगत गरियो ।  

‘बिरालो छोपेर श्राद्ध’ गरे जस्तै विपदका घटनामा पोष्टमार्टमको औपचारिकता गर्नै पर्ने कानुनी ब्यवस्थाले दुर्गमका बासिन्दालाई जहिल्यै पीडाका बेलामा झनै पीडा थप्ने गरेको छ । हरेक वर्ष दुर्गममा हुने दर्जनौ यस्ता विपदका घटनाका मृतकका पोष्टमार्टमको झन्झटले पीडित थप पीडामा पर्ने गर्दछन् । झट्ट हेर्दा सामान्य बिधि जस्तो देखिने यस्तो प्रकृयाले आम नागरिकलाई जहिल्यै दुखाउने गर्दछ । गाडी रिर्जब गरेर अस्पतालसम्म ल्याउनु पर्ने अवस्था आयो भने त पीडित ठूलो आर्थिक मारमा समेत पर्ने गर्दछन् ।

विपदमा परेका यस्ता घटनाहरुमा पोष्टमार्टमको औपचारिकता प्रति कोही सन्तुष्ट छैनन् । ‘पोष्टमार्टम गर्न ल्याउने परिवारलाई दुख संगै पीडा थपिन्छ ।’ रोल्पा अस्पतालका डा. आधार वली भन्छन्, ‘आफैलाई असजिलो लाग्छ । कहिले प्रकृया नमिल्दा झनै ढिला पनि हुन्छ ।’ अस्पतालमा प्रकृयाका कारणले राती अर्थात सूर्योदयअघि र सूर्यास्तपछि पोष्टमार्टम नगरिने भएका कारण पनि पीडितले थप झन्झट बेर्होनु पर्दछ । गाउँ छेउमा डाक्टरसहितको अस्पताल अथवा स्वास्थ्य संस्था नभएका कारण दुर्गमका जनताले जहिल्यै दुःख पाउने गर्दछन् । जीउँदो हुँदा गतिलो उपचार नपाउने उनीहरुले मृत्युपछि पनि दुःख पाउने गर्दछन् ।

सहरमा बसेर गाउँ लक्षित नीति नियम तयार गरेकै कारण जहिल्यै आम नागरिकले कष्ट भोग्ने गरेका हुन् ।

प्रकाशित: १० असार २०७८ १०:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App