१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

मोरङको छुट्टाछुट्टै स्थानमा भएको घटनामा परी ३ जनाको मृत्यु भएको छ। रंगेलीमा चट्याङ लागेर १ जना, करेन्ट लागेर विराटनगरमा १ जना र सन्दरहरैँचामा १ भारतीय नागरिक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।  

रंगेलीमा बुधबार दिउँसो डेढ बजेतिर अचानक परेको चट्याङले लागेर रंगेली नगरपालिका–६ का २० वर्षीय नितेश रायको मृत्यु भएको प्रहरीले जनाएको छ। चट्याङ लागेर घाइते भएका उनको उपचारका क्रममा रंगेली अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए।  

सबै जना पिठारीको रुखमुनि गफ गरेर बसिरहेको बेला परेको चट्याङले अन्य ४ जना घाइते भएका छन्। रंगेली–६ का ४५ वर्षीय अशोक मण्डल, २२ वर्षीया संगीता राय, २७ वर्षीय रविन मण्डल र १७ वर्षीय विजय मण्डल घाइते भएका हुन्। घाइतेमध्ये अशोकको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार रंगेली अस्पतालमै भइरहेको प्रहरीले जनाएको छ।  

त्यसैगरी, विराटनगर महानगरपालिका–१५ भट्टा चोकमा निर्माणाधीन बजरंगबली मन्दिरका मजदुर भारत जोगबनीका २५ वर्षीय तावारूल आलमको करेन्ट लागेर मृत्यु भएको छ। रड बाँध्ने तार काट्ने क्रममा मेसिनबाट विद्युत् लिक भई करेन्ट लाग्दा आलम घाइते भएको र उपचारका क्रममा विराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, सुन्दरहरैँचा नगरपालिका–१० सुन्दरमार्गस्थित सडक छेउमा बुधबार दिउँसो भारतीय नागरिक ४५ वर्षीय सुरेन्द्र चौधरी मृत फेला परेको प्रहरीले जनाएको छ। सुन्दरहरैँचा क्षेत्रमा कवाडी संकलनको काम गर्दै आएका चौधरी मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको र घटनाको थप अनुसन्धान थालेको डिएसपी राईले जानकारी दिए।

 

प्रकाशित: ९ असार २०७८ १३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App