१४ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

नपत्याएको खोलाले तहसनहस मनाङः वर्षाको रेकर्ड अहिलेसम्मकै उच्च

मर्स्याङ्दी नदीमा आएको बाढीले कतान गरेको क्षेत्र। तस्बिर : नागरिक

‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखानै छ। हो, हिमालपारिको जिल्ला मनाङका बासिन्दाले मर्स्याङ्दी र आसपासका खहरेमा यस्तो बाढी आउला र घरबारै बगाउला भनेर कहिल्यै सोचेका थिएनन्। सधैंजसो काठे र झोलुंगे पुलबाट वारपार गरिरहेका उनीहरूलाई खोलाले बगाउला भन्ने त पत्यारै थिएन। किनकि अहिलेसम्म यो आकारको बाढीको सामना कहिल्यै गर्नुपरेको थिएन।  

तर उखानले भनेझै यसपटक नपत्याउने खोलाले सिंगो बस्ती नै बगायो। संयोगवश बाढीले मानवीय क्षति नगरे पनि ठूलो आकारमा भौतिक नोक्सानी पुर्‍याएको छ। बाढीले तटीय क्षेत्रका धेरै बासिन्दाको उठीबास लगाइदिएको छ। भौतिक क्षति कति भयो भन्ने अहिलेसम्म यकिन छैन। बाढीको कहर अझै कम भइसकेको छैन।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले भन्छन्, ‘हिमाली जिल्लामा यस्तो भीषण बाढी आउला भन्ने हामीलाई पत्यारै थिएन। तर नसोचेको अवस्था आयो। बाढीले सिंगो जिल्लालाई नै थिलथिलो पारेको छ।’ उनका अनुसार मर्स्याङ्दी सहजै तर्न सकिने खोला हो। कतिपय ठाउँमा झोलुंगे त कतैकतै काठे पुलबाट वारपार गर्ने चलन थियो। तर अहिले भने बाढीले सबैतिर ध्वस्त बनाएको उनले बताए। ‘हामीले आजसम्म यो अवस्था भोग्नुपरेको थिएन, अग्रजले पनि यस्तो संकट बेहोर्नुपरेको थिएन,’ घलेले भने, ‘योपटक भने नपत्याएको खोलाले बगाएको छ। चामेमा मात्र ५ सयजना मान्छे घरविहीन भइसकेका छन्। खोला किनारका बस्तीबारे सोच्ने बेला भएको छ।’

जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी प्रदेशमा सबैभन्दा कम पानी पर्ने जिल्ला मनाङ हो। तर योपटक मनाङले भारी वर्षासँगै निम्तिएको संकट र क्षतिको सामना गर्नुपरेको छ।  

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको हावापानी शाखाका अनुसार यो वर्ष (२०२१) को मनसुनी वर्षाले अघिल्ला वर्षसम्मका सबै रेकर्डलाई उछिनेको छ।

शाखाको मनाङ हुम्देस्थित स्टेसनको रेकर्ड अनुसार जुन १६ (२०७८ असार २) मा मनाङमा अहिलेसम्मकै बढी वर्षा भयो। त्यस दिन हुम्देमा ८२.२ मिलिमिटर वर्षा भयो। अघिल्लो दिन असार १ गते हुम्देमा ५४.६ मिलिमिटर वर्षा भएको थियो। गत जेठ १५ मा ६०.६ मिलिमिटर वर्षा भएको थियो। तर यो वर्षको मनसुन सुरु भएपछिको दुईदिनमै मनसुनी प्रणाली देशभर फैलिँदा मनाङले अघिल्ला वर्षका सबै रेकर्ड तोड्दै नयाँ कायम गरेको विभागका पोखरास्थित प्रमुख राजाराम ढकालले बताए।

‘यो वर्षको मनसुनी वर्षाले मनाङमा अघिल्ला सबै रेकर्डलाई उछिनेको छ। त्यसै भएर बढी क्षति भएको हो,’ ढकालले भने। ढकालका अनुसार यस वर्ष नेपालमा मनसुन भित्रिएको भोलिपल्ट जेठ २९ देखि असार २ सम्मको अवधिमा हुम्देमा मात्र १७५.८ मिलिमिटर वर्षा भएको थियो। असार १ मा ५४.६ मिलिमिटर र २ गते ८२.२ मिलिमिटर वर्षा भएको छ।

‘यसअघि कहिल्यै यति धेरै वर्षा भएको थिएन। यसपटक मनसुनी प्रभाव हिमाली भेगबाट देखियो,’ ढकालले भने। उनका अनुसार हिमाली भेगमा २४ घण्टामा ५० मिलिमिटिर भन्दा बढी वर्षा हुनुलाई अधिक मानिन्छ। अन्यत्रका लागि २४ घण्टामा ५० मिमिमिटर वर्षा हुनु सामान्य भए पनि हिमाली जिल्लामा भीषण मानिने उनले बताए। ‘वर्षभरिमा हुम्देमा २ सय ५० मिलिमिटर वर्षा हुनुपर्नेमा यसपटक पाँचदिनमै १ सय ७५ मिलिमिटर कटिसक्यो, यो हिमाली भेगका लागि चुनौतीको संकेत हो,’ ढकालले भने, ‘हिमाली जिल्लामा यति सारो क्षति होला भन्ने आँकलन नै थिएन।’

प्रि–मनसुनका बेला (गत जेठ १५ मा) पनि त्यो बेलासम्मको सबैभन्दा बढी ६०.६ मिलिमिटर वर्षा हुँदा मनाङमा बाढीपहिरो निम्तिएको थियो। त्यसबेला पनि बाढीपहिरोले सडक, पुल, पुलेसासहित बस्तीमा असर गरेको थियो। जेठ १५ को असर कम हुन नपाउँदै पुनः मनसुनी वर्षाले तहसनहस पारेको उनले बताए। ‘साँघुरो खोंच हुँदै मनाङमा खोलानाला बगेका छन्। सिरान क्षेत्रमा हिउँ थुप्रिएको र पानी पर्दा हिउँ पग्लिने र त्यसले खोलामा बहाव बढाउँदा आसपासका बस्तीमा क्षति पुगेको हो,’ उनले भने, ‘साँघुरो खोंचमा भेलबाढी पस्दा आसपासका क्षेत्रमा असर पारेको छ।’ हिमाली भेगमा कम पानी पर्ने हुँदा बाढीको त्रासबिना ढुक्कले बसेका स्थानीय योपटक पहिलोचोटि बाढीको चपेटामा परेको उनले बताए। ‘कम पानी पर्ने भएकाले तटीय क्षेत्रका बासिन्दा बाढीको आँकलन गर्ने अवस्थामा थिएनन्। तर अहिले बाढीले झुक्यायो,’ ढकालले भने, ‘अब हिमाली क्षेत्रमा पनि खतराको जोखिम बढेको छ।’  

पृथ्वीको तापक्रम बर्सेनि ०.०६ डिग्री सेन्टिग्रेड वृद्धि भइरहँदा हिमशृंखला पग्लने क्रम पनि बढेकाले थोरै पानी पर्नासाथ हिमाली भेकमा बाढीपहिरोको जोखिम निम्तिने उनले बताए। मनाङमा मनसुन अवधिमा २ सय ३४ मिलिमिटर वर्षालाई औसत मानिन्छ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार अहिले मनाङवासीले प्राकृतिक प्रकोपको पहिलोपटक तितो अनुभव बटुलेका छन्। ‘मैले ९० वर्ष हाराहारीमा पुगेका वृद्धवृद्धासँग कुराकानी गर्दा यस्तो बाढीपहिरोको अनुभव अहिलेसम्म भएको रहेनछ। अहिले त बाढी प्रकोप बनेरै आयो,’ लामिछानेले भने, ‘यस्तो क्षतिको अनुमान स्थानीयवासीसँग त थिएन नै हामीले पनि अनुमान गरेका थिएनौं।’ उनका अनुसार मनाङका अधिकांश खोलानाला कुला आकारका खोल्साखोल्सी छन्। धेरैठाउँमा पैदल र कतैकतै काठेपुलबाटै वारपार गर्न सकिने अवस्था भए पनि अहिले अवस्था बदलिएको उनले बताए।

‘तटीय क्षेत्रमा सन्त्रास छाएको छ। तटीय क्षेत्रमा जोखिम निम्तिने संकेत देखिएको छ। यहाँका बासिन्दा पनि ढुक्क छैनन्,’ उनले भने, ‘यस्तो क्षति हुनुमा जलवायु परिवर्तनको असर हुन सक्छ। प्रकृतिमा परिवर्तन आएको अनुमान हाम्रो छ। कहिल्यै अनुमान नगरेको विपत् अहिले निम्तिएको छ। यो सबै अध्ययनको विषय हो।’ उनका अनुसार सदरकमुकाम चामे, तल्लो भेक धारापानी र तालगाउँ योपटक बाढीबाट बढी प्रभावित भएका छन्। अहिलेसम्मको तथ्यांकमा ५५ घर पूर्ण रूपमा ध्वस्त भएका छन्। मर्स्याङ्दी र आसपास नदीमा गरी आठवटा झोलुंगे र २ वटा पक्की पुल पनि बगेका छन्।

हिमाली क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि अनुसन्धान गरिरहेका श्रीकमल द्विवेदी भन्छन्, ‘जलवायु परिवर्तनको असरको सबैभन्दा ठूलो मार अब हिमाली क्षेत्रका बासिन्दाले खेप्नुपर्ने संकेत देखिएको छ।’ उनका अनुसार वर्षभरिमा २ सय मिलिमिटर हाराहारीमा पानी पर्ने ठाउँमा छोटो समयमा भीषण वर्षा हुँदा क्षति पुगेको हो। ‘छोटो समयमा भीषण वर्षा भएको छ। एकाएक ठूलो वर्षा हुँदा नोक्सान बढी भएको हो,’ उनले भने। माथिल्लो भेगसम्म पानी पर्न थाल्दा नयाँ खालको प्राकृतिक विपद्को संकेत मिलेको उनले बताए।

‘यसले उच्च हिमाली भेकमा जोखिम बढिरहेको संकेत गरेको छ। आगामी दिनका लागि त अझै जोखिमपूर्ण छ,’ द्विवेदीले भने, ‘अब जतिसक्दो छिटो हिमाली भेगका खोलाको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्नुपर्छ।’ कम पानी पर्ने र यसअघि खोलानालामा बाढी नआएकाले पनि खोलाकिनारका बासिन्दा ढुक्क भएर बसेका थिए। तर अब त्यसरी ढुक्क हुने अवस्था नरहेको उनले बताए। ‘मनाङमा समथर मैदान नभएकाले पनि स्थानीय खोलाकिनारमा बसेका थिए। तर अब तटीय क्षेत्र झनै जोखिमपूर्ण छ। अब योजनाबद्ध रूपमा उनीहरूरूलाई सुरक्षित ठाउँमा सार्नुको विकल्प छैन,’ उनले भने।

प्रकाशित: ६ असार २०७८ ००:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App