५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कर्णालीको अवस्था : साँघुरो बाटोमा जान्छ ज्यान

गाई चरणका लागि जंगल गएका कालीकोटस्थित पलाता गाउँपालिका-७ धप्केका २८ वर्षीय लंक धामीको बुधबार मृत्यु भयो। गाईले माथिबाट ढुंगा खसाउँदा उनको टाउकोमा गहिरो चोट लागेर मृत्यु भएको थियो।

गत पुस २७ गते स्याउला लिन जंगल गएकी नरहरिनाथ गाउँपालिका-३, गोठीकी ३६ वर्षीय गोरीकला बुढाको पनि मृत्यु भयो। जंगल जानुको उद्देश्य थियो, ‘स्याउला ल्याउने।’ तर उनी स्याउला लिएर घर फर्किन सकिनन् र अकालमै मृत्युवरण गरिन्।

गत जेठ २२ गते रुकुम पश्चिमस्थित आठबीसकोट नगरपालिका-१४, का २२ वर्षीय चन्द्रबहादुर बिसीको स्थानीय सञ्जयी भीरबाट लडेर मृत्यु भयो। काठ लिन जंगल गएका उनी घर फर्किँदै गर्दा भीरबाट करिब तीन सय मिटर तल खसेका थिए। गत फागुन ७ गते सल्यान शारदा नगरपालिका-६, कौछेकी ६४ वर्षीया तोली बुढाथोकीको मृत्यु भयो। बाख्रासँगै घाँस बोकेर घर फर्किने क्रममा उनी भालुखोला भन्ने भीरबाट लडेकी थिइन्।

भिरालो जमिन, साँघुरो बाटो हुँदा कर्णालीले बर्सेनि धेरै नागरिक यसरी नै गुमाउँछ । भौगोलिक विकटताले यहाँ ठूला र चिल्ला बाटाहरु निर्माण हुन सकेका छैनन्। अधिकांश मदिरा सेवन गरेका व्यक्ति यसरी भीरबाट लडेर मृत्यु हुने गरेको छ। असुरक्षित भिरालो जमिनमा घाँस काट्न गएकाहरुको पनि मृत्युदर उच्च छ। वर्षातको समयमा अझ बढी नागरिक भीरबाट लडेर अकालमै ज्यान गुमाउन बाध्य छन्। ‘पहाडी तथा हिमाली क्षेत्रमा एक गाउँदेखि अर्को गाउँ जोड्ने बाटाहरु साँघुरा हुन्छन्,’ डोल्पामा लालसिंह छिरिङले भने, ‘साँघुरो बाटोमा ठेस लाग्दा वा चिप्लेर लडिन्छ।’ कतिपय अवस्थामा भने बाटोभन्दा माथिबाट जनावर तथा चरिचरणका लागि आएका बस्तुभाउले ढुंगा लडाउनले बताउँदै उनले भने, ‘गाउँका बाटा धेरै असुरक्षित छन्।’

छोटो दूरीका बाटाहरुबाट लड्दा गाउँलेले थाहा पाउँछन् र उनीहरुको समयमै उपचार हुन्छ। लामो दूरीका जंगलको बाटोमा लडेकाको शव नै भेटिन मुस्किल हुन्छ। सहर बजारमा सडक ‘टू लेन, फोर लेन’ बनाउँछन् तर दूरदराजका बाटाहरुमा कसैको ध्यान जाँदैन। कर्णालीमा झन्डै दुई हजार किलोमिटर मात्र सडक सञ्जालले जोडिएको छ। २७ हजार नौ सय ८४ किलोमिटर क्षेत्रफलमध्ये अरु सबै बाटाहरु गोरेटो बाटो नै हो। जहाँ भारी बोकेर मान्छे ओहोरदोहोर गर्छन्।

सरकारले गाउँलाई केन्द्रित गरे गाउँका गोरेटो बाटाहरुको स्तरोन्नति र सुरक्षित बनाउनु पर्ने हुम्लाका रुकुम पश्चिमका धनबहादुर विकले बताए।

पहाडी क्षेत्रका सडकहरुमा राखिएको सेफ्टी गाउँका गोरेटो बाटोहरुमा पनि निर्माण गर्नुपर्ने उनी बताउँछन्। यहाँका अधिकांश बाटाहरु स्थानीय आफैँले निर्माण गर्छन् र सफाइ पनि उनीहरु नै गर्छन्। मेला, पर्वको अवसरमा बाटाहरु सरसफाइ गरिन्छ। गोरेटो बाटाहरु सुरक्षित भए बर्सेनि करिब ५० भन्दा बढी नागरिकको ज्यान जोगिन सक्छ।

अहिले कर्णालीमा करिब ५० भन्दा धेरै नागरिक भीरबाट लडेर मृत्यु हुने गर्छन्। फराकिलो बाटो नहुँदा चाहिँदो मात्रामा नअटाउँदा घाँस, दाउरासहित सर्वसाधारण भीरबाट लड्ने गरेका छन्। सँधै उपेक्षामा परेका दूरदराजका यी बाटाहरु हजारौं नागरिकको पहुँच छ तर राज्यले यस्ता गोरेटो बाटाहरु सुरक्षित छैनन्।

प्रकाशित: २९ जेष्ठ २०७८ १०:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App