७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

उपत्यकामा नृसिंह जयन्ती

हरेक वर्ष वैशाख शुक्ल चतुर्दशीका दिन नृसिंह जयन्ती मनाइन्छ। हामी सबैलाई थाहा भएकै कुरा हो कि शक्तिशाली राक्षसराज हिरण्यकशिपुका पुत्रका रूपमा भगवत भक्त प्रल्हादको जन्म भएको हो। भक्त प्रल्हादले कुरा गर्न जान्ने भएदेखि नै भगवान्को नाम लिने गरेका थिए। जहिले पनि नारायण भगवान्को नाम लिइरहने आफ्ना पुत्रसँग राजा हिरण्यकशिपु रिसाइरहन्थे। उनले ‘यहाँ कोही पनि भगवान् छैन, म नै भगवान् हुँ, मेरो नाम लिनू’ भने पनि प्रल्हादले कहिल्यै मानेनन्। हिरण्यकशिपुले ‘यहाँ मेरै राज भइरहेको छ, मेरो नाम नै सबैले लिनुपर्छ’ भनी आफ्ना समस्त प्रजालाई जहिले पनि आफ्नै नाम लिन लगाइरहेका थिए। 

भगवान् भन्नु नै म नै हुँ, भगवान्को नाम लिने होइन, मेरो नाम लिनुपर्छ भनी हिरण्यकशिपुले आदेश दिएकाले समस्त प्रजाले राजा हिरण्यकशिपुलाई नै भगवान् सम्झेर मानिरहे। तर हिरण्यकशिपुका छोरा प्रल्हादले जहिले पनि भगवान् नारायणको नाम लिइरहेकाले अत्यन्तै क्रोधित भई हिरण्यकशिपुले प्रल्हादलाई कहिले भीरबाट खसालेर मार्न लगाउन खोजे, कहिले घनघोर वनमा पठाएर जंगली जनावरले मारोस् भनी अनेकौँ प्रयास गर्दा पनि प्रल्हादलाई मार्न नसकेपछि अन्त्यमा शिरण्यकशिपुका बहिनी होलिकाको काखमा राखेर दनदनी बलिरहेको आगोमा राखेर मार्न खोजियो। आगोले नछुने वरदान प्राप्त होलिका आगो लागि मर्छिन् तर प्रल्हादलाई भने आगोले छुँदैन। प्रल्हाद बाँच्न सफल हुन्छ।  

प्रल्हादलाई मार्न जति प्रयास गरे पनि नसकेपछि एक दिन सिंहासनमा बसिरहेका हिरण्यकशिपुले छोरा प्रल्हादलाई तेरो नारायण कहाँ छ भनी सोध्दा प्रल्हादले मेरो भगवान् जहीँतहीँ छन् भनी जवाफ दिन्छन्। त्यसो हो भने तेरो भगवान् नारायण यो लट्ठामा पनि छ भनी बैठकमा रहेको ठूलो लट्ठामा देखाउँदा प्रल्हादले यहाँ पनि छ भनेकाले हिरण्यकशिपुले क्रोधित भई लौ त तेरो भगवान् नारायण भनी तरबारले उक्त लट्ठामा प्रहार गरिदिन्छन्। तर घोर आश्चर्य तत्कालै उक्त लट्ठा फुटाएर नृसिंहको अवतार लिई भगवान् नारायण प्रकट भइदिन्छन्।  

कुनै पनि मानिस वा जनावरले मार्न नसक्ने, कुनै पनि हतियारले मार्न नसक्ने, न राति न दिनमा कसैले पनि मार्न नसक्ने वरदान ब्रह्माबाट पाएका हिरण्यकशिपुलाई नृसिंहले साँझको समयमा आफ्नो काखमा राखेर भन्छन्– हेर अहिलेको समय भनेको न दिन हो, न रात। त्यस्तै तँलाई मैले मेरो काखमा राखेको छु, यो न आकाश हो, न धर्ती। त्यस्तै म न जनावर हुँ, न मानिस। मेरो हातमा रहेका लामा लामा नंग्रा पनि हतियार होइन, त्यसैले मैले त्यही नंग्राबाट तेरो पेट चिरेर मार्न लागेको छु हुन्छ कि हुँदैन भन्दै हिरण्यकशिपुको पेट चिरेर मारी दिन्छ। नृसिंह पुराणमा उल्लेख गरे अनुसार यो दिन वैशाख शुक्ल चतुर्दशी हो। यही दिन साँझको समयमा नृसिंहको अवतरण भएको हो। यो दिन व्रत बसेमा सबै पाप नाश हुन्छ भनिएको छ। स्कन्द पुराणमा उल्लेख भए अनुसार यो दिन सोमबार, रेवती नक्षत्र र प्रदोष समयमा नृसिंहको अवतार भएको हो। नृसिंह भगवान्ले भनेका छन्, जसले यो दिनका बारेमा थाहा पाएका छन्, उसले अवश्य पनि व्रत गर्नुपर्छ।  

यस विषयमा पौराणिक कथा यस्तो छ। हिरण्यकशिपुलाई मारी सकेपछि पनि नृसिंहको रिस शान्त नभई कामीरहे। कुनै पनि देवता त्यहाँ नजिक आउन सकेनन्। ब्रह्मा, विष्णु र महादेवले आकाशवाणी गरेर भक्त प्रल्हादलाई भन्छन् कि प्रार्थना गरेर नृसिंहको क्रोध शान्त पार। भक्त प्रल्हादले नृसिंहको प्रार्थना गर्दा गर्दा नृृसिंहको क्रोध शान्त हुन पुग्छ। त्यसपछि नृसिंह खुसी भई प्रल्हादलाई आफ्नो काखमा राख्छन्। तब प्रल्हादले दुवै हात जोडेर नृसिंहलाई प्रार्थना गर्दै भन्छन्, ‘म हजुरकै भक्त हुँ। त्यसैले मैले एउटा तथ्य सोध्छु, भक्ति भनेको विभिन्न किसिमका छन् तर मैले हजुरको कस्तो भक्ति गरेको प्रभावले हजुरको मनपर्ने हुन सकेँ ? यो कुरा भनी बक्सियोस्।’

प्रल्हादका यस्ता कुरा सुनेर भगवान् नृसिंहले भने, ‘तिम्रो भक्ति भावको प्रभावले पूर्व जन्ममा तिमी एउटा ब्राह्मण भएका थियौ। तर उक्त जन्ममा तिमीले पढेनौँ, भगवान्को पूजा पनि गरेनौँ। वेश्याहरूको संगतमा प¥यौ। जहिले पनि वेश्यासँग मात्र आसक्त भएर बस्यौ। त्यसो भए पनि तिमीले एकपटक मेरो व्रत बसेका रहेछौ। त्यही व्रतका प्रभावले तिमीलाई अहिले आएर यस किसिमको भक्ति पाउन सकेका हौ।’ नृसिंहका यस्ता कुरा सुनेर प्रल्हादले फेरि सोध्छन्, ‘पूर्व जन्ममा म कसको छोरा थिएँ। वेश्याहरूसँग आसक्त भएर पनि मैले कुन भगवान्को व्रत गरेको थिएँ ? जुन व्रतका प्रभावले मलाई यो फल प्राप्त भयो, यसको रहस्य बताइबक्सियोस्, भगवान्।’

प्रल्हादका यस्ता अनुनय विनय सुनेपछि भगवान् नृसिंहले भने, ‘अवन्तिपु भन्ने स्थानमा सबैले मान्ने गरेका वेदमा पारंगत भएका सुशर्मा नामका ब्राह्मण र उनका पतिव्रता सुशीला ब्राह्मणीबाट पाँचा छोरा हुन्छन्। सबै छोराहरू आफ्ना पिताप्रति श्रद्धा र भक्तिभाव राख्ने गर्दथे। तिनै पाँच छोरामध्ये तिमी कान्छा छोरा हौ। तिमी वेश्याहरूको संगतमा परेर तिमीले धेरै पाप गर्न पुग्यौ। एक दिन तिम्रो र वेश्याको बीचमा ठूलो झगडा हुन गयो। त्यही झगडाको कारण तिमी भोकै बस्नुपर्‍यो। त्यही तिम्रो व्रत हुन पुग्यो। तिमीले मनमा चिन्ता लिई रातभरि निदाउन सकेनौ, त्यही तिम्रो जाग्राम हुन पुग्यो। तिम्रो यस्तो व्रत देखेर स्वर्गका देवताहरू पनि खुसी भए। 

महादेवले पहिला त्रिपुरवधका लागि ठूलो फल पाइने यो व्रत बसेका हुन् जसको प्रभावले सम्पूर्ण सिद्धि प्राप्त गरेका हुन्। यसरी यो उत्तम व्रत वेश्यासँग भएको झगडाका कारण तिम्रो यो व्रत पूर्ण भएको हो। हे प्रल्हाद थाहा नपाइकनै पनि तिमीले व्रतको प्रभावले तिमीलाई उत्तम गति प्राप्त भयो। तिमीसँग झगडा गर्ने वेश्या पनि यसकै प्रभावले विभिन्न किसिमका भोग गरिसकेपछि मुक्त भइन्। जसले जानी वा नजानी यो व्रत बस्छ, उसको सय कल्पसम्म संसारमा जन्मिन आउनुपर्दैन। अपुत्र भए पुत्र प्राप्ति हुन्छ, निर्धन भए धन प्राप्त हुन्छ र मुक्ति पनि पाइन्छ।’

यस्ता उत्तम कुरा सुनेर भक्त प्रल्हाद अत्यन्तै खुसी भई कुन दिनमा, कुन महिनामा यस्तो उत्तम व्रत गर्नुपर्छ, यसको विधि कस्तो छ भनी सोध्दा अत्यन्तै खुसी भई भगवान् नृसिंहले भने– वैशाख महिनाको शुक्ल पक्षको चतुर्दशीका दिन विधिपूर्वक व्रत बसी पूजा गरी रातभर जाग्राम बसेर प्रार्थना गर्नुपर्छ। प्रार्थना यसरी गर्नुपर्छ, ‘क्षीरा बुधिनिवासस्त्वं चक्रपाणे जनार्दन। व्रतेनानेन देवेश मुक्ति मुक्ति प्रदोभव।’ यसरी प्रार्थना गरिसकेपछि सम्पूर्ण पाप नाश गर्ने व्रतको महिमाको कुरा सुन्नाले मात्र पनि सबैको कल्याण हुन्छ, यसमा केही सन्देह छैन। अन्त्यमा नृसिंह धाम प्राप्त हुन्छ।  

स्मरणीय छ, काठमाडौंको असन न्ह्याय्कँ टोलमा नृसिंह आजुको मन्दिर छ। नेवारले नृसिंह भगवान्लाई आजु (बाजे) को रूपमा मान्दै आइरहेका छन्। हरेक वर्ष घोडेजात्राको अघिल्लो दिन पाहाँचःह्रेमा नृसिंह आजुको जात्रा गर्ने चलन छ। पाहाँचःह्रेका दिन टोलटोलमा रहेका विभिन्न देवीदेवतालाई खटमा राखी जात्रा गरिन्छ, जसमा नृसिंह भगवान्लाई पनि हुन्छन्।  

त्यसरी नै ललितपुरमा हरेक वर्ष गाईजात्रा पछि गरिने अकलंसाया भनी गरिने गाईजात्रामा नृसिंह र प्रल्हादको जात्रा गरिन्छ। नृसिंह भगवान्को मुकुट लगाएर नृसिंह हुने मानिसले पसल पसलमा गई पूजा थाप्न जान्छन्। त्यस्तै प्रल्हादको मुकुट लगाएर सानो केटा पनि नृसिंह सँगसँगै नगर परिक्रमा गरेर पूजा थाप्न जान्छन्। यी दुवै देवता गाईजात्रा घुमाउने बाटोमा परिक्रमा गर्छन्। विभिन्न स्थानमा यी देवताको पूजा पनि गरिन्छ।

प्रकाशित: १५ जेष्ठ २०७८ ०४:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App