१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

बिपत्तीले बिचल्ली : काख खोसिएपछि साथ खोज्दै चार छोरी

आइतबार प्यूठानको नौबहिनी गाउँपालिका–१ स्याउलिबाङ चौतारामा घर भत्किँदा बुवा आमाको मृत्यु भएपछि चार नाबालक छोरीको बिचल्ली भएको छ।

४० वर्षीय बोमबहादुर मल्ल, उनकी ३३ वर्षीया श्रीमती गमी मल्लसँगै ३ वर्षीय छोरा शिशिर मल्लको सोही घटनामा मृत्यु भएको थियो।

घटनाका दिन मामा घर गएकी १५ वर्षीया जेठी छोरी कुमारी मल्लको काँधमा अरु ३ बहिनीको जिम्मेवारी थपिएको छ। आमा, बुवा र भाइको किरिया बसेकी कुमारी एकोहोरो भएकी छिन्।  

मनमा पीडा अनि जिम्मेवारीले थिचिएकी कुमारी निशब्द छिन्। अर्को कोठामा सुतेका १२ वर्षीया करिश्मा, ९ वर्षीया गंगा र ७ वर्षीया सपनाले बिहान बुवा, आमा र भाइको मृत शरीर देखेका थिए। घटनाले विक्षिप्त उनीहरु यतिबेला सहाराको खोजीमा छन्। हाल आफन्तकोमा सहारा लिइरहेका उनीहरुलाई बाँकी भविष्यको चिन्ताले पिरोल्न थालेको हो ।  

वडा अध्यक्ष शेरबहादुर सेनका अनुसार जेठी छोरी अंकलको घरमा बुवा, आमा र भाइको किरिया बसेकी छिन्। ‘जेठी छोरी किरिया बसेकी छिन्। कमजोर आर्थिक अवस्थाको परिवार हो। मृतक मिस्त्री काम गर्थे,’ सेनले भने, ‘घर भत्किएकाले हामिले तत्काल बासको लागि व्यवस्था गर्ने बारेमा छलफल गरिरहेका छाैं। उनीहरुको भविष्य, पढाइ र गाँसबासकै चिन्ता छ।’  

वडा अध्यक्ष सेनले किरिया खर्चका लागि कार्यपालिकामा सल्लाह गर्ने बताए। जिल्लाका कुनै निकायबाट पीडितको घरसम्म अहिले पनि सहयोग गएको छैन।

प्रमुख जिल्ला अधिकारी संयोजक रहेको दैवी प्रकोप समितिले पनि आजसम्म कुनै सहयोग गरेको छैन। ‘वडा र प्रहरीको मुचुल्काको आधारमा किरिया खर्च दिने सोच बनाएका छौं। सहयोग यति नै भन्ने छैन, अलिअलि दिनेछौं,’ प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले भने, ‘थप सहयोगका लागि लेखेर प्रदेश सरकारमा पठाउने कुरो भएको छ।’ दुर्गम गाउँको विपन्न घरमा परेको ठूलो बिपदमा राज्यले चासो नदिएको देखेपछि स्थानीयहरुमा समेत थप नैराश्यता बढेको छ।

प्रकाशित: ११ जेष्ठ २०७८ १०:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App