५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

मनकारी काका भतिजः जसले महामारीमा दिए बिपन्न परिवारलाई दैनिक उपभोग्य बस्तु

सहयोग गर्ने भनेकै आपत परेको बेला हो। आपतको बेला पाएको सहयोगलाइ ठूलो ठान्नेहरुले भन्छन् पनि ‘यो बेला सहयोग लिनेहरुको पनि संकट टर्छ, दिनेहरुलाई पनि आपत टारे बापत पुण्य प्राप्तिको बाटो खुल्छ।’ कोरोना महामारीको यहिँ संकटका बेला छाक टार्न धौधौ परिरहेका ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ८ का काका भतिजले मिलेर वडाभरीका करिव ३ सय परिवारलाई राहत स्वरुप दैनिक उपभोग्य बस्तु वितरण गर्न थालेका छन्।  

कोरोना संक्रमणका कारण लामो समयदेखि कायम रहेको बन्दाबन्दीले रोजगारी गुमाएका आफ्नो गाउँटोलका निम्नस्तरका परिवारको तत्कालको समस्या टार्न चामल, नुन, तेल लगायतका सामग्री वितरण गरिएको छ। बुधबारसम्ममा वितरण गरिसक्ने योजना अनुरुप पहिलो दिन सोमबार हिटी क्षेत्रका बासिन्दालाई खाद्यान्नका सामग्री वितरण गरिएको वितरक मध्येका एक जंग सुनुवारले बताए। उनी फुनपा वडा नं ८ का वडासदस्य समेत हुन्। उनले भतिज क्षितिज सुनुवारसंग मिलेर वडाभरीका विपन्न परिवारलाई प्रतिपरिवार १० किलोग्राम चामल, १ किलोग्राम नुन, आधा लिटर खाने तेल र मास्क वितरण गरेका हुन्।

‘अघिल्लो वर्ष वडाले वितरण गर्दा करिव २ सय परिवारलाई दिएको रहेछ, त्यहिँ आधारमा गर्दा २ सय ५० परिवार जति होला भनेका थियौं, तर वितरण गर्ने परिवार ३ सय नजिक पुग्न सक्छ’, क्षितिजले भने। क्षितिज नेपाल तरुण दलका जिल्ला सदस्य हुन्। जंग २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका हुन्। काका जंग र भतिज क्षितिज दुवैले २ लाख २० हजार बढीको व्यक्तिगत लगानीमा खाद्यान्नका सामान वितरण गरिरहेको जनाएका छन्। 

ज्याला मजदुरी गरेर गर्जो टार्ने परिवारलाई बन्दाबन्दीले समस्यामा पारेको महसुस गरेर यो अवस्थामा थोरबहुत सहयोगले विपन्न परिवारको चुल्हो बल्ने देखेर सहयोग गर्ने मन पलाएको जंग र क्षितिजले सुनाए।

प्रकाशित: १० जेष्ठ २०७८ १४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App