४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

सिन्धुलीमा संक्रमितको शव जलाइसकेपछि घाट पखाल्नुपर्ने

फाइल तस्बिर

सिन्धुलीमा कोरोना संक्रमणबाट मृत्यु भएकाको शव जलाइसकेपछि घाटलाई पानीले अनिवार्य पाखाल्नुपर्ने भएको छ। सिन्धुलीमा दुई संक्रमितको शव व्यवस्थापनमा लापरबाही भएको भन्दै स्थानीयले गुनासो गरेपछि पखाल्ने र सफा गरेर मात्रै फर्कन शव व्यवस्थापन टोलीलाई जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सुझाएको छ।  

यहाँको कमलामाई नगरपालिका गडौली खोला दोभानमा परम्परागत रुपमा शव जलाउँदै आएको ठाउँमा कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने क्रममा लापरबाही भएको गुनासो आएपछि यस्तो निर्णय भएको हो। शव पुरै नजलाई जल्दाजल्दै गर्दा मलामीहरु हिँडेकाले त्यसको त्रास गाउँमा फैलिएपछि शवको व्यवस्थित व्यवस्थापनका लागि पहल सुरु भएको हो।  शव नेपाली सेनाले स्थानीय तहको समन्वयमा व्यवस्थापन गर्नुपर्ने, शव गाड्ने भएमा स्थानीय तहले स्थान उपलब्ध गराउनुपर्ने र नेपाली सेनालेनै शवको व्यवस्थापन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भिम बस्नेतले जानकारी दिए।  

सामाजिक परम्परा अनुसारनै शव जलाउन मृतकको आफन्तले अनुरोध गरेमा नेपाली सेनाले चितामा लगेर शव राख्ने र सो पश्चातको कार्य स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मृतकका आफन्तले गर्न सक्ने निर्णय समेत भएको उनले जनाए। उनका अनुसार शव जलिसक्दासम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली बस्नुपर्ने र पुर्ण रुपमा जलिसकेपछि मात्रै हिँड्नुपर्ने निर्णय भएको छ।  

शवको पुर्ण रुपमा व्यवस्थापन पश्चात घाटको वरपर निर्मलीकरण गरेर मात्रै मलामी घर जानु पर्ने निर्णय भएको प्रशासकीय अधिकृत बस्नेतले बताए। शव व्यवस्थापनमा लापरबाही गरेमा र उक्त नियमको उल्लंघन गरेमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कोरोनाको लक्षण देखिए पनि कोभिड परीक्षण नगरि घरमै मृत्यु भएकाको वा होम आइसोलेसनमा बसी मृत्यु भएकाको शव व्यवस्थापन गर्दा स्थानीय स्तरबाटै शवलाई पोलिथिनले बेर्ने लगायतका तोकिएका सुरक्षा मापदण्ड पूरा गरेर मात्रै व्यवस्थापन गर्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले अनुरोध गरेको छ।

प्रकाशित: ५ जेष्ठ २०७८ ०५:१६ बुधबार

सिन्धुली कोरोना संक्रमणबाट मृत्यु