५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बागमती प्रहरीले प्रशिक्षणमा काठको डमी हतियार प्रयोग गर्ने

बागमती प्रदेश प्रहरीले तयार पारेको डमी हतियार ।

बागमती प्रदेश प्रहरीले फायरिङ बाहेकका अन्य प्रशिक्षण गतिविधिमा काठको डमी हतियार प्रयोग गर्ने भएको छ । प्रहरीको प्रशिक्षण गर्ने ईकाईहरुबाट हाल नियमित प्रयोग गरिने ओरजिनल हतियार प्रयोग गर्दै आइरहेकोमा अहिले डमी हतियार प्रयोग गर्ने बताइएको छ । प्रशिक्षणको क्रममा प्रयोग गर्दा सक्कली हतियार बिग्रने, फुटेर काम नलाग्ने हुँदा डमी हतियार प्रयोग गर्न लागिएको बागमी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  

प्रदेश प्रहरी कार्यालयको वार्षिक कार्ययोजना–२०७७ मा उल्लेख भएको क्रियाकलाप अनुसार पाँचसय थान काठको डमी हतियार तयार पारिने बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका बरिष्ठ प्रहरी उपरीक्षक मीरा चौधरीले बताइन् । काठको डमी हतियार निर्माण गरी बागमती प्रदेश अन्तर्गतको प्रमुख तथा सहायक प्रशिक्षण प्रदायक ईकाईमा वितरण गरी प्रयोग गर्ने उनले बताइन् ।  

कार्यालयको आन्तरिक स्रोत साधन तथा कार्यालयको हातहतियार मर्मत शाखामा कार्यरत प्राविधिक प्रहरी जनशक्तिहरुबाट पहिलो चरणमा ५० थान काठको डमी हतियार निर्माण सम्पन्न गरिएको छ । ओर्जिनल हतियारको तौल र साईजमा निर्माण गरी बागमती प्रदेश प्रहरीको प्रमुख प्रशिक्षण प्रदान गर्ने ईकाई बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीलाई ५० थान काठको डमी हतियार प्रदान गरिएको छ । सो हतियार प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले हस्तान्तरण गरेका हुन् ।  

फायरीङ बाहेकको अन्य हातहतियार प्रशिक्षण कार्यमा सक्कली हतियार प्रयोग नगरी डमी हतियार प्रयोग गर्दा सक्कली हतियार टुट्ने, फुट्ने नभई हिफाजत हुने बरिष्ठ प्रहरी उपरीक्षक चौधरीले बताइन् । पाइलट प्रोजेक्टको रुपमा वितरण गरिएका डमी हतियारहरुले पार्ने प्रभावलाई विश्लेषण गरि आवश्यकता अनुसार थप निर्माण तथा वितरण गरिदै जाने लक्ष्य रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित: २ जेष्ठ २०७८ १३:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App