१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बाँकेको स्थिती झन् भयावहः दिनहुँ बढ्दै संक्रमण र मृत्युदर

प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, सांसद लगायतलाई हार–गुहार

भेरी अस्पतालको कोभिड वार्ड भर्ना भएका सिकिस्त कोरोना संक्रमित बिरामी । तस्बिर : अर्जुन/नागरिक

नयाँ भेरियन्टसहित तीव्र रुपमा फैलिएको कोरोना महामारीको संक्रमण र मृत्युदर दिनहुँ बढ्दा बाँकेको स्थिती झन् भयावह बनेको छ। स्थिती भयावह बनेपछि यहाँका अस्पतालले सरकारसँग हार–गुहार गरिरहेका छन्। अस्पतालमा बेड विस्तार गरेपनि अक्सिजन पर्याप्त नहुँदा स्थिती झन् भयावह बनेको हो।  

बाँकेका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल सञ्चालकले स्थिती झन् भयावह बनिरहेको भन्दै सरकारले कदम चाल्नुपर्ने बताएका छन्। भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले स्थिती झन् भयावह बनिरहेको बताए। ‘संक्रमितको संख्या अधिक रुपमा बढिरहेको छ, कोभिडका बिरामी हेर्ने अस्पताल सिमित भए,’ उनले नागरिकसँग भने ‘अस्पतालमा बेड पाउने अवस्था छैन, घरमा बसेको मान्छे मरिरहेको छ, अस्पतालमा आएका पनि बेड र अक्सिजन नपाएर मरिरहेका छन्, निकै चिन्ताजनक स्थिती छ।’

स्वास्थ्य क्षेत्रमा पुर्वाधार धेरै भएपनि ती पुर्बाधारहरु कोभिड बिरामीको उपचारमा अहिलेसम्म प्रयोगमै नआएको उनी बताउँछन्। ‘यो बेलामा संक्रामक रोग नियन्त्रण ऐन पनि सक्रिय छ, स्वास्थ्य आपतकाल घोषणा गर्नुको अर्को विकल्प छैन,’ पाण्डेले भने, ‘सरकारले सबै अस्पताललाई आफ्नो मातहतमा ल्याएपछि कोरोना संक्रमित बिरामी बेड र अक्सिजन नपाएर मर्ने यस्तो भयावह स्थिती आउदैन।’  

कोरोना संक्रमणको भयावह स्थिती आउँदा समेत अहिले अस्पतालहरुमा सबै स्वास्थ्यकर्मी पूर्ण रुपले उपचारमा नखटिएको पाण्डेले बताए। उनले थपे, ‘सरकारले सबै स्वास्थ्यकर्मीलाई हप्तामा न्युनतम ४२ घण्टा अनिवार्य र प्रत्यक्ष रुपमा काममा लगाउनुपर्छ।’  

भेरी अस्पताल विकास समितिका सदस्य धनीराम ओलीले प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री, सांसद लगायतलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमार्फत गुहार मागेका छन्। परिस्थिती हेर्दाहेर्दै भयानक रूपमा ‘काबु बाहिर’ जाने देखिन लागेको उनको भनाई छ। कोरोना संक्रमण नियन्त्रणमा कत्तिपनि बिलम्व नगर्न सरकारसँग आग्रह छ।  

‘विशेषज्ञ चिकित्सक, संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले भन्दै आएका उपायहरु कन्टयाक्ट ट्रेसिङ, पोजेटिभलाई आइसोलेशन, मध्यम र जटिल समस्या भएकाको उपचार, उपचारमा आवश्यक अक्सिजन औषधि, उपकरण, सुरक्षा सामग्री, आवश्यक जनशक्ति र सम्पूर्णलाई खोपको ब्यवस्था र  कडा लकडाउन गर्ने गरि राष्ट्रिय सहमतीका साथ कार्य योजना निर्माण गरि अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन्।  

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रका अनुसार २ सय बेड क्षमता रहेको भेरी अस्पतालको कोभिड वार्डमा अहिले २ सय ४९ जना संक्रमितले उपचार गराइरहेका छन्। यस्तै एक सय बेड क्षमताको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको कोभिड वार्डमा १ सय १५ जना संक्रमित भर्ना छन्। विभिन्न आइसोलेसन सेन्टरमा समेत गरी ५ सय ११ जना उपचाररत छन्। अस्पतालमा बेड नपाउँदा ३ हजार ८ सय ३० जना संक्रमित होम आईसोलेसनमा बसिरहेका छन्।  

२४ घण्टाभित्र १७ जनाको मृत्यु

पछिल्लो २४ घण्टाभित्रमा बाँकेमा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ, भने ७ सय २० जना नयाँ संक्रमित फेला परेका छन्। त्यसमध्ये बाँकेका मात्रै ४ सय ८६ जना रहेका छन्। मेडिकल कलेज र बागेश्वरी ल्याबमा ९ सय ३९ जनाको स्वाब परीक्षण गर्दा यति धेरै संक्रमित फेला परेका हुन्। यो भेरी अस्पताल बाहेकको रिपोर्ट हो।  

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार पछिल्लो २४ घण्टाभित्र मृत्यु हुनेमा बाँके, बर्दिया, सुर्खेत, रुकुमपुर्ब र कञ्चनपुरका रहेका छन्। गुर्भाकोट–८ सुर्खेतका ५३ वर्षीय पुरुषको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा वैशाख २३ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएको थियो। सोही दिन शिक्षण अस्पतालमा भर्ना भएका उनको स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि मंगलबार दिउँसो २ बजेर ५० मिनेटमा मृत्यु भएको हो।  

नेपालगन्ज–१४ बाँकेका ६० वर्षीय पुरुषको मृत्यु भएको छ। भेरी अस्पतालमा यही वैशाख १० गते पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ भएको थियो। त्यसपछि उनी वैशाख १२ गते भेरी अस्पतालमा भर्ना भएका थिए। स्वास्थ्यमा कुनै सुधार नआएपछि मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा भेरी अस्पतालमै मृत्यु भएको हो।  

खजुरा–३ बाँकेका ५२ वर्षीय पुरुषको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा उनको मंगलबार बिहान ४ बजे मृत्यु भएको हो। यही वैशाख ११ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएको थियो। त्यसपछि वैशाख १८ गते उनी भेरी अस्पतालमा भर्ना भएका थिए।  

जानकी–४ बाँकेकी ४५ वर्षीया महिलाको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा उनको मंगलबार बिहान ४ बजे मृत्यु भएको हो। यही वैशाख २५ गते भेरी अस्प्तालमा पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएकोमा सोमबार मात्र भर्ना भएकी थिईन्।  

बढैयाताल–३ बर्दियाकी ७८ वर्षीया महिलाको मृत्यु भएको छ। सोरहवामा यही वैशाख २३ गते पिसिआर परीक्षण गदाए उनलाई कोरोना पुष्टी भएको थियो। त्यसपछि भोलीपल्ट भेरी अस्पतालमा भर्ना भएकी उनको स्वास्थ्यमा कुनै सुधार नआएपछि मंगलबार बिहान ५ बजेर ३० मिनेटमा मृत्यु भएको हो।  

पुर्नबास–३ कञ्चनपुरका ६१ वर्षीय पुरुषको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा उनको सोमबार राती ११ बजेर ३० मिनेटमा मृत्यु भएको हो। कञ्चनपुरमा सोमबार उनको पिसिआर रिपोर्टमा कोरोना पुष्टी भएको थियो। त्यसपछि सोमबार नै उनी शिक्षण अस्पतालमा आएर भर्ना भएका थिए।  

खजुरा–२ बाँकेका ८८ वर्षीय पुरुषको मृत्यु भएको छ। होमआईसोलेसनमा बसिरहेका बेला सोमबार राती ११ बजेर १० मिनेटमा उनको मृत्यु भएको हो। खजुरामा यही वैशाख २६ गते एन्टिजेन परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएको थियो।  

ठाकुरबाबा–३ बर्दियाका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ। आर्मी अस्पतालमा वैशाख २६ गते भर्ना भएका उनलाई सोमबार पिसिआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको थियो। उपचारकै क्रममा उनको सोमबार राती ११ बजेर ५ मिनेटमा मृत्यु भएको हो।

बाँसगढी–५ बर्दियाका ६० वर्षीय पुरुषको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा उनको सोमबार राती १० बजे मृत्यु भएको हो। मेडिकल कलेजमा यही वैशाख २५ गते पिसिआर परीक्षण गर्दा कोरोना पुष्टी भएपछि उनी सोही दिन अस्पतालमा भर्ना भएका थिए।  

बारबर्दिया–६ बर्दियाकी ६३ वर्षीया महिलाको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा उनको सोमबार राती १० बजे मृत्यु भएको हो। भेरी अस्पतालमा यही वैशाख ८ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएको थियो। त्यसपछि उनी वैशाख २६ गते भेरी अस्पतालमा आएर भर्ना भएकी थिईन्।  

सिस्ने–३ रुकुमपुर्वका ५३ वर्षीय पुरुषको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा उनको सोमबार राती ८ बजे मृत्यु भएको हो। भेरी अस्पतालमा यही वैशाख २६ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएपछि सोही दिन भर्ना भएका थिए।

कोहलपुर–८ बाँकेका ६२ वर्षीय पुरुषको मृत्यु भएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा उनको सोमबार बेलुकी ७ बजेर १५ मिनेटमा मृत्यु भएको हो। मेडिकल कलेजमा सोमबार पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएपछि सोही दिन भर्ना भएका थिए।  

गुलरिया–६ बर्दियाका २१ बर्षिय युवकको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा सोमबार बेलुकी ६ बजे उनको मृत्यु भएको हो। यही वैशाख १७ गते बर्दियामा पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टी भएपछि वैशाख २५ गते भेरी अस्पतालमा भर्ना भएका थिए।  

नेपालगन्ज–१० बाँकेका ६८ वर्षीय पुरुषको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा उनको सोमबार अपरान्ह ५ बजेर ४० मिनेटमा मृत्यु भएको हो। भेरी अस्पतालमा यही वैशाख २५ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पुष्टी भएपछि सोही दिन भर्ना भएका थिए।  

बाँसगढी–९ बर्दियाका ७३ वर्षीय पुरुषको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा सोमबार अपरान्ह ४ बजेर ३० मिनेटमा मृत्यु भएको हो। भेरी अस्पतालमा यही वैशाख २१ गते भर्ना भएका उनलाई भोलीपल्ट पिसिआर परीक्षण गर्दा कोरोना पुष्टी भएको थियो।

बढैयाताल–१ बर्दियाका ८५ वर्षीय पुरुषको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान ४ बजे मृत्यु भएको हो। बर्दियामा एन्टिजेन परीक्षण गर्दा उनलाई वैशाख २३ गते कोरोना पुष्टी भएको थियो। त्यसपछि उनी सोमबार भेरी अस्पतालमा भर्ना भएका थिए।

बाँसगढी, बर्दियाकी ४२ वर्षीया महिलाको मृत्यु भएको छ। यही वैशाख २६ गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएको थियो। सोही दिन आर्मी अस्पतालमा भर्ना भएकी उनको सोमबार दिउँसो १ बजेर १५ मिनेटमा मृत्यु भएको हो।  

यो सँगै बाँकेमा कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १ सय ९८ र बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएका १ सय ५२ जनाको मृत्यु भएको केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए।

प्रकाशित: २८ वैशाख २०७८ १४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App