२३ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

पोखरामा दुई दिनमा आठ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो दुईदिनमा पोखरामा मात्र कोरोनाका आठजनाको बिरामीको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार ती मध्ये सातजना संक्रमित पोखराका विभिन्न अस्पतालमा उपचारको क्रममा थिए । मृत्यु हुनेमा चारजना पुरुष र चार महिला रहेको स्वास्थ्य निर्देशनालयले बताएको छ ।  

निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार पोखरा महानगरपालिका–१६ का ७७ वर्षिय पुरुषको शनिबार दिउँसो होम आइसोलेसनमै मृत्यु भएको छ । उनमा गत विहीबार मात्र कोरोना पुष्टि भएको थियो । पोखरा–२६ की ५८ वर्षिया महिलाको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ ।  

त्यस्तै पर्वतको कुश्मा नगरपालिका–५ की ७६ वर्षिया महिलाको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको थियो । त्यस्तै दाङको राप्ती गाउँपालिका–५ का ४३ वर्षिय पुरुषको पनि गण्डकी मेडिकल कलेजमै मृत्यु भएको थियो ।  पोखरा–१६ का ७३ वर्षिया महिलाको मेडिप्लस अस्पतालमा मृत्यु भएको निर्देशनालयले बताएको छ ।  

पोखरा–१० की महिलाको पनि मेडिप्लस अस्पतालमै मृत्यु भएको थियो । पोखरा–१९ का ५४ वर्षिय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्य भएको निर्देशनालयको भनाई छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का७५ वर्षिय पुरुषको आइतबार बिहान साढे १० बजे मेडिप्लस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।  

गण्डकी प्रदेशमा अहिलेसम्म २३१ जना कोरोना संक्रमितको मृत्यु भएको निर्देशनालयले बताएको छ । प्रदेशमा अहिले सबैभन्दा बढी संक्रमित कास्कीमा छन् । कास्कीमा मात्र ११ सय बढी संक्रमित रहेको निर्देशनालयले बताएको छ । प्रदेशका ११ मध्ये दुईवटा हिमाली जिल्ला मनाङ र मुस्ताङमा मात्र अहिले संक्रमित शुन्य छन् । अरु सबै जिल्लामा संक्रमित बढिरहेका छन् । 

प्रकाशित: १९ वैशाख २०७८ ०७:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App