४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

मुल्लीका अग्नि पीडितलाई पाल

जुम्लाको तिला गाउँपालिका ९ ढिपु गाउँको मुल्लीमा आगलागीका विस्थापित भएका २५ घरपरिवारलाई पाल दिइएको छ। प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको पहलमा अग्नी पीडितलाई पाल उपलब्ध गरिएको हो। आगलागीबाट २९ घर जलेको भएपनि २५ वटा पाल आएका हुन्।  

प्रमुख जिल्ला अधिकारी थापाले भने,‘मन्त्रालयमा २५ पाल स्टक रहेछन्। तत्काल अग्नि पीडितलाई राहतको अनुभूति होस भनेर ती २५ पाल मन्त्रालयबाट पठाएको हो।’

उनले अग्नि पीडितको लागि राहत काठमाडौँमा पहल भइरहेको बताए। पाल विश्व खाद्य कार्यक्रमले दिने हो, उनले भने,‘यी पालले अग्नि पीडितलाई तत्काल आवासको लागि सहजता ल्याउनेछ। भाडाकुडा सर सामान राख्न मिल्नेछ।’

सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले तिला गाउँपालिका ९ का वडाध्यक्षलाई पाल हस्तान्तरण गरेका हुन्। सहायक प्रमुख जिल्ला अधिकारी चौलागाईले पालले अग्नि पीडितलाई बस्न र सामान राख्न मद्दत मिल्ने बताए।  

मुल्ली तिला ९ ढिपु गाउँको बर्षायामका ६ महिना बस्ने बस्ती हो। अब खेतीपातीको सिजन भएकोले यी पालले बस्न सहज हुनेछ। यो बस्तीमा अब खेतीपातीको काम सुरु होला। गोडमेल गर्न जालान्, पशु चौपाय चरीचरण गर्न लैजालान्। यो बेला बस्ने आवास नहुँदा समस्या होला, प्रमुख जिल्ला अधिकारी थापाले भने,‘पालले बस्न र मुल्लीमै बस्न सकिने अवस्था रहनेछ।’

प्रमुख जिल्ला अधिकारी आगलागीबाट अन्न सखाप भएकोले उद्योग मन्त्रालय र जिल्ला प्रशासन कार्यालय जुम्लाको समन्वयमा ५० क्वीन्टल चामल दिने तयारी भइरहेको बताउँछन्। आवश्यक खाद्यान्नको लागि पहल भइरहेको छ, उनले भने,‘यो खाद्यान्न अग्नी पीडितकोमा समयमै पुग्नेछ।'  

यसअघि तिला ७ गोठी गाउँमा पनि प्रमुख जिल्ला अधिकारी थापाको पहलमा पाल आएको थियो। गोठीका अग्नि पीडित अहिले पाल हालेर बसेका छन्। गोठीमा पनि २९ घर जलेका थिए।

प्रकाशित: २८ चैत्र २०७७ १२:३१ शनिबार

मुल्लीका अग्नी पीडित