४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

जनगणनाको पूर्वतयारीमा जिल्ला जनगणना कार्यालय

खोटाङमा राष्ट्रिय जनगणना २०७८ को सन्दर्भमा जिल्लास्तरीय सचेतना गोष्ठी गरिएको छ। आगामी जेठ २५ देखि असार ८ गतेसम्म देशव्यापी रूपमा हुने जनगणनाबारे जानकारी दिँदै आसन्न राष्ट्रिय जनगणनालाई सफल बनाउने लक्ष्यका साथ जिल्ला जनगणना कार्यालयले बुधबार जिल्लास्तरीय सचेतना गोष्ठी गरेको हो।  

जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा जनगणनाको परिचय, जनगणनाको आवश्यकता, नेपालको जनगणनाको इतिहास, जनगणनाका क्रममा गरिने घर तथा घरपरिवार लगत सूचीकरण, सामुदायिक प्रश्नावली, मुख्य प्रश्नावली, जनगणनाको तालिका, जनगणनामा समेटिने विवरणलगायत बारेमा जानकारी दिइएको छ। सहभागीलाई राष्ट्रिय जनगणना २०७८ को संक्षिप्त जानकारी र तयारी कार्यबारे जानकारी गराइएको जिल्ला जनगणना कार्यालय खोटाङका जनगणना अधिकारी जितबहादुर कोइराला (जेबी)ले बताए।  

आसन्न राष्ट्रिय जनगणनालाई फलदायी बनाउन जिल्ला जनगणना कार्यालयले राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, संघसंस्थाका प्रमुख, पत्रकारलगायतलाई सहभागी गराएर सचेतनामूलक गोष्ठी गरेको हो। ‘जनगणना के हो, यो किन गरिन्छ भन्नेदेखि जनगणनाबाट प्राप्त हुने तथ्यांकको प्रयोग, जनगणनाको इतिहास, आगामी जनगणनाको विशेषतासम्मका बारेमा जानकारी दिन सचेतना गोष्ठी गरिएको हो,’ जनगणना अधिकारी कोइरालाले भने, ‘सहभागीलाई गनगणनाका प्रश्नावली, घरपरिवार लगत सूचीकरण, जनगणना २०७८ को मुख्य दिनहरू, जनगणनामा समेटिने विवरणबारे पनि जानकारी गराइएको छ।’ कार्यक्रम जिल्ला जनगणना समन्वय समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माको अध्यक्षता एवं जिल्ला समन्वय समितिका उपप्रमुख गोमादेवी खत्रीको प्रमुख आतिथ्यमा आयोजना गरिएको थियो।  

जनगणना अभियान २०७८ अन्तर्गत दिक्तेलमा गत चैत ३ गते जिल्ला जनगणना कार्यालय स्थापना गरिएको हो। आगामी वैशाख १ गतेदेखि ४ गतेसम्ममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका कार्यक्षेत्र रहनेगरी दिक्तेलमा स्थानीय जनगणना कार्यालय स्थापना गरिने जनगणना अधिकारी कोइरालाले बताए। यस्तै, हलेसी तुवाचुङ नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका कार्यक्षेत्र रहनेगरी हलेसी तुवाचुङ नगरपालिकाको हलेसीमा, बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिका कार्यक्षेत्र रहनेगरी खोटेहाङ गाउँपालिकाको खोटाङबजार तथा रावाबेँसी गाउँपालिका, केपिलासगढी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिका कार्यक्षेत्र रहनेगरी रावाबेँसी गाउँपालिकाको कुभिन्डेमा स्थानीय जनगणनाको कार्यालय स्थापना गरिने जनाइएको छ।  

दुई चरणमा हुने राष्ट्रिय जनगणनाका लागि जिल्लामा सुपरिवेक्षक र गणक गरी करिब ३६० जनाको हाराहारीमा जनशक्ति परिचालन गरिने कोइरालाले बताए । नियुक्त भएका सुपरिवेक्षकले आगामी वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म घरपरिवार सूचीकरणको काम गर्नेछन्। यस्तै, गणकले जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणनाको काम गर्ने जिल्ला जनगणना कार्यालयले जनाएको छ । ‘पहिलो चरणमा सुपरिवेक्षकद्वारा प्रत्येक घरपरिवारमा अक्सर बसोबास गरेका परिवारका पुरुष, महिलाको संख्या, परिवारको कृषिसम्बन्धी विवरण, सरकारी अनुदानबाट घर निर्माण, बैंक खाता, प्राविधिक तथा व्यावसायिक शिक्षा, बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणसम्बन्धी विवरण संकलन गरिन्छ,’ जनगणना अधिकारी कोइरालाले भने, ‘दोस्रो चरणमा मुख्य प्रश्नावलीमार्फत घरपरिवार तथा व्यक्तिको जनसांख्यिक तथा अन्य विवरण संकलन गरिन्छ।’

जिल्ला जनगणना कार्यालयका अनुसार चैत २० गतेसम्ममा सुरपरिवेक्षकको सूची सार्वजनिक गर्ने, चैत १९ देखि २५ गतेसम्म स्थानीय जनगणना अधिकारी तालिम सञ्चालन गर्ने, चैत २९ र ३० गते स्थानीय जनगणना अधिकारीको नियुक्ति गर्ने, वैशाख १ गतेदेखि ४ गतेको बीचमा स्थानीय जनगणनाको कार्यालय स्थापना गर्ने, वैशाख ११ देखि १५ गतेभित्र गणना सामग्री स्थानीय तहमा पठाउने, वैशाख १३ देखि १५ गतेसम्ममा सुपरिवेक्षक नियुक्ति गरी जिम्मेवारी तोक्ने र तालिमको तयारी गर्ने, वैशाख १५ भित्र गणकको प्रारम्भिक सूची सार्वजनिक गर्ने, १६ देखि २२ गतेबीच सुपरिवेक्षक तालिम आयोजना गर्ने, वैशाख २४ देखि २५ गतेभित्र सुपरिवेक्षक कार्यक्षेत्रमा पुग्ने, वैशाख २६ देखि जेठ १४ गतेसम्म घर परिवार सूचीकरण गर्ने कार्यतालिका तयार गरिएको छ।

यस्तै, जेठ १० देखि १४ गतेसम्ममा गणक नियुक्ति तथा जिम्मेवारी तोक्ने, जेठ १७ देखि २२ गतेसम्म गणकलाई तालिम दिने, जेठ २४ गते गणक कार्यक्षेत्रमा पुग्ने र जेठ २५ देखि असार ८ गतेसम्म गणनाको काम गर्ने, जेठ २५ देखि असार ८ गतेकै अवधिमा गणनाको अनुगमन तथा सुपरिवेक्षणको काम हुनेछ। असार १५ देखि २० गतेसम्ममा संकलित फाराम रुजु गरी बुझ्ने, असार २३ देखि २७ गतेसम्ममा कन्ट्रोल फाराम इन्ट्री गर्ने, असार २८ देखि ३० गतेभित्र संकलित फाराम विभागमा पठाउने र असार असान्तमा जनगणनाको कार्यालय बन्द हुने जिल्ला जनगणना अधिकारी कोइरालाले बताए । २०६८ सालको जनगणना अनुसार खोटाङको जनसंख्या २ लाख ६ हजार ३ सय १२ थियो भने विदेशमा बस्ने १७ हजार ६ सय ६२ जना थिए।  

प्रकाशित: २० चैत्र २०७७ ०१:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App