३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

लहान मालपोत कार्यालयमा विस्फोट गराएको आरोपमा दुईजना पक्राउ

मालपोत कार्यालय लहानमा कुकर बम विस्फोट गराएको आरोपमा पक्राउ परेका रामरिझन यादव र अभिमन्यु गिरी। प्रहरीले पक्राउ गर्न प्रयोग गरेको आधार सिसि क्यामेरा फुटेज। तस्बिरः मिथिलेश/नागरिक

चैत १ गते मालपोत कार्यालय लहानमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन्। विस्फोटका योजनाकार भनिएका सुखिपुर नगरपालिका ५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुरपत्तार गाउँपलिका ३ का २६ वर्षीय अभिमन्यु गिरीलाई प्रदेश प्रहरी कार्यालय जनकपुरधामको विशेष टोलीले पक्राउ गरेको हो।

प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवरत्न पौडेलअनुसार पक्राउ परेका दुबैजनाले विस्फोट आफूहरुले गराएको स्वीकार गरिसकेका छन्। प्रहरीले मोलपोत कार्यालयमा जडित सिसि क्यामेराको भिडियोमार्फत विस्फोटमा संलग्नहरुको पहिचान गर्न सफल भएको उनले बताए। 

घटनास्थलमा भेटिएको जनतान्त्रिक तराई मुक्ति मोर्चा(क्रान्तिकारी) को पर्चा, विस्फोटक राख्ने व्यक्ति लगायतको क्लूको आधारमा घटना अनुसन्धान गर्दा मुख्य योजनाकार पक्राउ गर्न सफल भएको प्रदेश प्रहरी प्रमुख डीआजी धिरजप्रताप सिंहले बताए। घटना भएको १५ दिनमै विस्फोटमा संलग्न मुख्य योजनाकार पक्राउ गर्न सफल डीआइजी सिंह भन्छन्, ‘दुबै जनालाई हतियारसहित पक्राउ गर्न सफल भएका छौं। रामरिझनको साथबाट एक थान कटुवा पेस्तोल र सोमा लाग्ने दुई राउन्ड गोली बरामद भएको छ भने अभिमन्युको साथबाट एक थान कटुवा पेस्तोल र सोमा लाग्ने दुई राउन्ड गोली बरामद भएको छ।’  

पक्राउ परेका रामरिझन यसअघि दुई वटा बम विस्फोट अभियोगमा पक्राउ परी अदालतको आदेशबाट छुटिसकेका छन्।

यसरी गरिएको थियो विस्फोट

चैत १ गते दिउँसो १२ः४७ बजे। लहान नगरपालिका ८ स्थित भाडाको घरमा संचालित मालपोत कार्यालयमा सधैंजस्तो सेवाग्राहीको खचाखच भींड थियो। सबै काममा व्यस्त भएको बेला अचानक विस्फोटको आवज आयो। मूठ फाँट नजीकै भएको विस्फोटमा परी नजीकै रहेका एक जना कर्मचारीसहित ८ जना घाइते भए। जसमध्ये धनगढीमाई नगरपालिकाका ३५ वर्षीय दिनेश भण्डारी गम्भीर घाइते भए।    

घटनास्थलबाट प्रहरीले टुक्रा टुक्रा भएको जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा फेला पार्यो। कार्यालयमा जडित सिसि क्यामेरा भिडियोबाट मास्क नलगाएका एक जना संकास्पद व्यक्तिलाई पनि प्रहरीले पहिचान गर्यो। र, उनको खोजीका लागि प्रदेश प्रहरी कार्यालय जनकपुरधामले विशेष टोली परिचालन गर्यो। घटनाको पन्ध्राैं दिन प्रहरीले मोर्चाका मुख्य व्यक्ति रामरिझनलाई गाउँबाटै पक्राउ गर्यो। उनीसँग सोधपुछको क्रममा घटनाको तथ्य खुल्दै गयो। र, अर्का संलग्न अभिमन्युलाई समेत प्रहरीले पक्राउ गर्न सफल भयो।  

पक्राउ परेका रामरिझनले ०७४ चैत ९ गते लहानको विकास ज्वेलर्समा भएको विस्फोटमा समेत संलग्न रहेको अभियोगमा पक्राउ परेका थिए। उनी जिल्ला अदालत सिरहाको आदेशमा १ लाख धरौटी बुझाएर छुटेका थिए।

०७५ साउन ३१ गते विराटनगर उपमहानगरपालिकामा भएको बम विस्फोट अभियोगमा समेत पक्राउ परेका रामरिझन जिल्ला अदालत मोरङको आदेशमा ३५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए।

पक्राउ परेका अर्का आरोपी अभिमन्यु पाँच वर्षदेखि मोर्चामा संलग्न रही बलपूर्वक चन्द असुली गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।

कहाँबाट आयो बम ?

मालपोत कार्यालय लहानमा विस्फोटका लागि राखिएको बम सीमापारिबाट नेपाल प्रवेश गराइएको पाइएको छ। भारतीय सहर लौकाहा हुँदै सीमावर्ती ठाढीमा सुखिपुर नगरपालिका ८ का आरके भन्ने रामकुमार यादवले आफूलाई गत फागुन २६ गत्ते नै दिएको रामरिझनले प्रहरीलाई वयान दिएका छन। उक्त प्रेसर कुकर बम ठाढीबाट लहान ल्याएर चैत १ गते मालपोत कार्यालयमा विस्फोट गराएको उनले प्रहरी समक्ष दिएको वयानमा स्वीकार गरेको डीएसपी पौडेलले बताए। विस्फोट गराउनुको कारणबारे पक्राउ परेका यादव र गिरीले भनेका छन्, 'मालपोत कार्यालयले भूमाफियालाई सहयोग पुग्ने काम गरिरहेका छन। पटक पटक सम्झाउँदा नमानेपछि विस्फोट गराइएको हो।'

प्रकाशित: १७ चैत्र २०७७ ११:०६ मंगलबार

बम विस्फोट लहान मालपोत कार्यालय