१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

सुनिता खड्कालाई चेतनाको ‘आदर्श सन्तान’ सम्मान

चेतना संरक्षण प्रतिष्ठान विराटनगरले आदर्श सन्तान सम्मानबाट एक जनालाई सम्मान गरेको छ।  

१५ औं साधारणसभाको अवसर पारेर प्रतिष्ठानले विराटनगर–८ अमरटोलकी सुनिता खड्कालाई आदर्श सम्मानबाट सम्मान गरेको हो। परिवारबाट ज्येष्ठ नागरिकलाई अवहेलना हुने क्रम बढ्दै गएकाले आदर्श सन्तान सम्मान सुरु गरिएको प्रतिष्ठानले जनाएको छ। कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी, अग्रज साहित्यकार रमाप्रसाद रिजाल, समाजसेवी तोरेन्द्रमानसिंह प्रधान, वेनिगोपाल मुन्दडालगायतले खड्कालाई नगद ११ हजारसहित सम्मानपत्र हस्तान्तरण गरे।

आमाको निधन भएपछि खड्काले बुवा लीलावल्लभ गौतमलाई आफ्नै घरमा ल्याएर राखेकी छन्। गौतमका ६ सन्तानमध्ये खड्का काँहिली सन्तान हुन्। सो अवसरमा सुनिताका श्रीमान केदार खड्कालाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा मेयर पराजुलीले बुवाआमा देउता सहर भएको र यस्तो सम्मानले समाजलाई मार्गनिर्देशन गर्ने छ।  

प्रतिष्ठानकी अध्यक्ष सुवेदीले परिवारबाटै ज्येष्ठ नागरिकमाथि हेला भइरहेको चर्चा गरिन्। उनले सकारात्मक सोच र पवित्र उद्देश्यले आदर्श सन्तान सम्मान प्रतिष्ठानबाट सुरु गरिएको बताइन्। त्यस्तै समारोहमा विश्व कविता प्रतियोगितामा प्रथम हुन सफल कवि राधिका गुरागाईंलाई पनि सम्मान गरिएको थियो।  

यसैबीच, साधारणसभाले सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमतिसमेत चयन गरेको छ। प्रतिष्ठानको उपाध्यक्षमा सरला चापागाईं, महासचिवमा उमेश दाहाल, कोषाध्यक्षमा राधिका गुरागाईं निर्विरोध चयन भए। त्यस्तै श्रीओम श्रेष्ठ ‘रोदन’, दिङ्लाली कान्छो, बाबुराम श्रेष्ठ ‘वर्षा’, हरिप्रसाद बराल, दीपेश सुवेदी, दिवस सुवेदी र मीनकुमार नवोदित सदस्यमा चयन भएका छन्। प्रतिष्ठानले वार्षिकोत्सवका अवसरमा हरेक वर्ष विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई नगदसहित सम्मान गर्दै आएको छ।

प्रकाशित: १५ चैत्र २०७७ १०:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App