५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बिओपी राख्दा अहिंसा नियम पालना गर्न माग

गोरखा र तिब्बतको सिमाना छेकम्पारमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) राख्दा अहिंसाको नीतिनियम पूर्ण रूपमा पालना गर्न गराउन स्थानीयले माग गरेका छन्। चुम स्याग्या संरक्षण समितिले बिहीबार प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शालिग्राम शर्मा पौडेललाई ज्ञापनपत्र बुझाउँदै बिओपी आवश्यक रहेको तर बिओपी राख्दा चुमक्षेत्रको अहिंसा नीति उल्लंघन गर्न नहुने बताए।

‘चुम १९७७ सालदेखि अहिंसा क्षेत्र घोषणा भएको ठाउँ हो,’ समितिका संरक्षक निमा लामाले भने, ‘बिओपी स्थापना गर्दा हाम्रो मौलिक नियममा कत्ति पनि आँच आउन दिनुहुँदैन भन्ने माग हो।’ बिओपी स्थापना गर्न स्थानीयले सहयोग गर्ने र सुरक्षार्थ खटिने सुरक्षाकर्मीले स्थानीयको नियम पालना गर्नुपर्ने प्रजिअसमक्ष उनले बताए।

तिब्बतसँग सीमा जोडिएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाको सामागाउँ र छेकम्पारतर्फ सशस्त्र प्रहरीको बिओपी राख्ने तयारी गरेको छ। उक्त तयारी हुँदै गर्दा स्थानीयले आफ्नो परम्परामाथि खतरा हुन सक्ने भन्दै सचेत गराएको बताएका छन्। ज्ञापत्रपत्र बुझाउन संरक्षण समितिको टोली बिहीबार प्रशासन कार्यालय आएको थियो। स्थानीय सरह त्यहाँ खटिने सुरक्षाकर्मीले पनि अहिंसाको नियम मान्नुपर्नेमा सबैले प्रजिअसँग माग गरे।

ज्ञापनपत्र बुझ्दै प्रजिअ पौडेलले भने, ‘तपाईंहरूको पवित्र मान्यतालाई ठेस पुर्‍याउन दिँदैनौं।’ त्यहाँ खटिने सशस्त्र प्रहरी ६/६ महिनामा परिवर्तन हुने, उनीहरू फेरबदल भइरहने हुँदा स्थानीयको नियमलाई पालना गर्न बिओपीमा खटिएकालाई निर्देशन गर्ने उनले आश्वासन दिए। यसअघि चुमवासीले गृहमन्त्री रामबहादुर थापालाई भेटेर सोही विषयमा ध्यानाकर्षण गराएका थिए।

अहिंसा क्षेत्र कायम राख्न भन्दै स्थानीयले विभिन्न ६ वटा बुँदा सबैले पालना गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। कुनै पनि जीवजनावर काटमार नगर्ने, सिकार नखेल्ने, मह नकाढ्ने, डढेलो नलगाउने, पशुबध पूर्ण रूपमा निषेध गर्ने, मासुको प्रयोजनका लागि व्यापार गर्ने उद्देश्यले कुनै पनि जीव एवं पन्छीलाई अहिंसा क्षेत्रभित्र ल्याउन नदिने निर्णय गरेका छन्।

प्रकाशित: १३ चैत्र २०७७ ०२:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App