५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कर्णाली उत्सव : कर्णाली चिन्ने र चिनाउने अवसर

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बुधबारदेखि ‘कर्णाली उत्सव, कुडा कर्णाली’का मूल नाराका साथ कर्णाली उत्सवको दोस्रो संस्करण सुरु हुने भएको छ । ऋति फाउण्डेशनको संयोजनमा हुन लागेको कर्णाली उत्सव २९ गतेसम्म बुलबुले उद्यानमा सञ्चालन हुनेछ ।

उत्सवमा कर्णालीका सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यटकीय जस्ता अन्तरगर्भका विषयमा वृहत् बहस हुनेछ । उत्सवको सुरुमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव प्रा.डा. जगतप्रसाद उपाध्यायले ‘कर्णाली चिनाउने योगी’ शीर्षकमा प्रवचन दिनेछन् भने प्रदेश राजधानी ‘वीरेन्द्रनगरको बैभव’का विषयमा नगर प्रमुख देवकुमार सुवेदी र नीति निर्माणमा सार्वजनिक बहसको महत्वका बारेमा कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सर्वराज खड्काले विशेष मन्तव्य राख्ने कार्यक्रम छ ।

यस्तै खस भाषाका विषयमा रमानन्द आचार्य, व्यवसायका विषयमा सुर्खेत उद्योग वाणिज्य संघका सदस्य सिया कार्की, प्रदेशमा पत्रकारिताको अवस्थाका विषयमा प्रदेश पत्रकार महासंघका अध्यक्ष दुर्गा थापा, खुला छलफल र पत्रकारिताका विषयमा कलेन्द्र सेजुवाल, विश्वविद्यालय बाहिर प्राज्ञिक बहसका विषयमा कमलेश डिसीले शुभकामना मन्तव्य राख्ने कार्यक्रम तय गरिएको छ ।

उद्घाटनको दिनमै प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाले ‘कर्णाली किन घुम्ने’, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले ‘कर्णालीमा महिला नेतृत्व’ र आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ‘अर्थ र बहस’ विषयमा प्रवचन दिनेछन् ।  

कर्णाली उत्सवको दोस्रो दिन बिहीबार पाँच वटा सत्र सञ्चालन हुनेछन् । पहिलो सत्र ‘बाडो, थाडो र ओटालो’मा कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकाय, समाजशास्त्री डा. टिकाराम गौतम र अध्येता गोविन्द नेपालीले बहस गर्नेछन् भने पत्रकार दीपा दाहालले कार्यक्रमको सहजीकरण गर्नेछन् ।

‘छाउ र भाउ’मा मदन पुरस्कार विजेता लेखक राधा पौडेल, राजनीतिकर्मी विन्दा पाण्डे र बाल रोग विशेषज्ञ डा. नवराज केसी सहभागी हुनेछन् । ‘आफ्नै कथा, आफ्नै बान्की’ सत्रमा साहित्यकार बुद्धिसागर, रंगकर्मी हीरा बिजुली नेपाली, देउडा गायक नेत्रराज शाही र लेखक सरला गौतमसँग सञ्चारकर्मी भूपेन्द्र खड्काले बहस गर्दैछन् । ‘कहरी सुकालो होेला, कइले जाला कैठ ?’ मा कर्णालीको स्वास्थ्य अवस्थाका विषयमा बहस हुनेछ । पूर्व स्वास्थ्यमन्त्री गगन थापा, संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदी, जनस्वास्थ्यविज्ञ डा. सुरेश तिवारी, कर्णाली प्रदेश अस्पतालमा कार्यरत डा. दुर्गा थापासँग लेखक माधव चौलागाईले छलफल गर्नेछन् ।

यस्तै ‘हाट जान्या, भोट जान्या’ सत्रमा हाट जाँदा र भोट (तिब्बत) जाँदाको अवस्थालाई चित्रण गरिने छ । कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाही, डोल्पाका समाजसेवी धनबहादुर बुढाथोकी र मानवशास्त्री जनक राईसँग हाट र भोट जाँदाका अनुभव र भोगाईका विषयमा पत्रकार नगेन्द्र उपाध्यायले बहस गर्नेछन् ।  

बिहीबारको पहिलोसत्र ‘कर्णाली घुमाउरो पड्डो’मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेल, योजनाविद् डा. दिनेशचन्द्र देवकोटा र कर्णाली योजना आयोगका सदस्य योगेन्द्र शाहीसँग सामाजिक विकास अभियन्ता डा. रेणु अधिकारीले बहस गर्ने कार्यक्रम रहेको संयोजक कमलराज लम्सालले जानकारी दिए ।

यस्तै ‘पड्नुपड्डो छ : साक्षर, शिक्षित र प्राज्ञिक कर्णाली’ मा शैक्षिक अभियन्ता मिलन पाण्डे, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल, शैक्षिक अभियन्ता शान्ता दाहालसँग पत्रकार तुला अधिकारीले बहस गर्नेछन् भने प्राङ्गारिक प्रयासमा प्रदेश सरकारका सचिवद्वय राजेन्द्रप्रसाद मिश्र र मोहनदेव जोशी, कुमाख गाउँपालिका सल्यानका अध्यक्ष दिलमाया बुढामगर र खाद्य अधिकारकर्मी सुरेशकुमार गौतमसँग पत्रकार गणेशकञ्चन भारतीले बहस गर्ने कार्यक्रम छ ।

‘पुईँसाका कुडा, थैलीदेखि बैंकसम्म’ शीर्षकमा राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठ, प्रभु बैंकमा सिइओ अशोक शेरचन, नवील बैंकका मनोज ज्ञवाली र फरवार्ड माइक्रो फाइनान्सका भगवती चौधरीसँग पत्रकार टिकाराम यात्रीले बहस गर्नेछन् भने ‘कर्णाली, प्रर्णाली’मा पूर्वाधारविद् डा. शंकरप्रसाद शर्मा, सहसचिव घनश्याम उपाध्याय, धनिराम शर्मा र आइएसटिएसका निर्देशक डा. नम्रता पाण्डेले कर्णालीको योजना, पूर्वाधार र लगानीका विषयमा छलफल गर्नेछन् ।

तेस्रो दिन ‘कैथा नेता, कैथो नेतृत्व’ मा बहस हुनेछ । यस अन्र्तगत ‘मुख्य माण्ठ, मूल कुडा’ सत्रमा कर्णालीका मुख्यमन्त्री शाही र प्रदेश नं २ का मुख्यमन्त्री राउतसँग पत्रकार दिलभूषण पाठकले बहस गर्नेछन् । दुई प्रदेशका मुख्यमन्त्रीले एउटै मञ्चबाट संघीयताबारे आफ्ना भोगाइ एवं अनुभव साटासाट गर्नेछन् । संघीय सरकारसँग अधिकार बाँडफाँटका विषयमा असन्तुष्टि राख्ने यी दुई प्रदेशका मुख्यमन्त्रीले आफूले गरेका काम र देखेका चुनौती प्रस्तुत गर्नेछन् ।

‘पश्चिमका प्रशास’मा कर्णाली प्रदेश सरकारका पूर्व प्रमुख सचिव केवलप्रसाद भण्डारी, नेपाल सरकारका पूर्व सचिव कृष्णराज विसी, जुम्लाका पूर्व प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडे र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालसँग पत्रकार रुपेश श्रेष्ठले बहस गर्नेछन् ।

यस्तै सञ्चारकर्मी प्रकाश लामिछानेले ‘सरकारी गैरसरकारी’ शीर्षकमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, प्रदेश–२ का न्यायाधिवक्ता दीपेन्द्र झा, गैरसरकारी संस्था महासंघका उपाध्यक्ष सुमित्रा शर्मा र समृद्धि फाउण्डेशनका निर्देशक दिपेन्द्र चौलागाईसँग बहस गर्नेछन् भने ‘लोकतन्त्रको लय’मा पत्रकार अमित ढकाल, रंगकर्मी घिमिरे युवराज र रीता परियारसँग सरोजराज अधिकारीले बहस गर्ने कार्यक्रम छन् ।

प्रकाशित: २५ फाल्गुन २०७७ १०:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App