कर्णाली नदीमा हामफालेर बेपत्ता भएका पाँच मध्ये थप दुईको शव फेला परेको छ। श्रीमानसँगको विवादका कारण दैलेखको आठबीस नगरपालिका–३ निमायलकी सुनिता बढुवालले चार छोराछोरीसहित साेमबार कर्णालीमा हामफालेकी थिइन्।
जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठले मंगलबार दिउँसो ३५ वर्षीया सुनिता बडुवाल र आठ वर्षीय छोरा ललितको शव फेला परेको बताए। सोमबार १५ वर्षीया छोरी कल्पना र १२ वर्षीया सरिताको शव अछामको पञ्चदेवल नगरपालिकाको टोट्केसाल नजिकैको कर्णाली नदीको भंगालोमा फेला परेको थियो। कर्णालीमा हामफालेर बेपत्ता भएकी थप एक छोरीको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरी चौकी राकमका इन्चार्ज ज्ञानबहादुर रानाका अनुसार आइतबार बेलुका चार बजेतिर सुनिता चार छोराछोरीसहित घरबाट हिँडेकी थिइन्। प्रहरीले सुनिताका श्रीमान मानसिंहलाई पक्राउ गरेको छ।
आठबीस नगरपालिकाका उपमेयर दीपा बोहराले घरेलु हिंसाका कारण घटना भएको बताइन्। ‘श्रीमान जहिल्यै मदिरा सेवन गरेर कुटपिट गर्ने गरेको जानकारीमा आएको छ,’ उपमेयर बोहराले भनिन्, ‘घटना भएको दिनमा पनि श्रीमानले श्रीमती र छोराछोरीलाई कुटपिट गरेपछि सुनिताले छोराछोरी लिएर घरबाट हिँडेको पाइएको छ।’
प्रकाशित: २५ फाल्गुन २०७७ ०७:११ मंगलबार