सोमबार विश्वभर १११ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा नेपाली श्रमिक महिलाले भने दिनभर शारीरिक परिश्रम गरेरै दिन बिताए। न उनीहरूले यो दिनको खास भेउ पाए न श्रीमान्को व्यवहारमा परिवर्तन नै।
पितृसत्तात्मक सोचले जरा गारेको नेपाली समाजमा महिलाको सामाजिक, आर्थिक, शैक्षिक तथा नेतृत्व तहमा न्यून पहुँच छ। त्यही भएर पनि महिलाहरू सधैं उत्पीडित हुनु परेको गुनासो श्रमिक महिलाहरूको छ।
पर्सा वीरगन्जकी सुनिता साह दैनिक ज्याला मजदूरी गर्छिन्। बिहान ५ देखि साँझ ७ बजेसम्म उनी बालुवा इँटा बोक्छिन्। उनको कमाईले दुई सन्तान विद्यालयमा पठनपाठन गर्नुदेखि घरगृहस्थी टिकेको छ। दैनिक सात सय कमाएर साझ कोठा फर्कदा श्रीमान् रक्सी पियर बसेका हुन्छन्। कोठमा छिर्नासाथ दिनभरको कमाइ श्रीमान्ले खोसीदिन्छन्। दिन आनाकानी गरे कुट्न थाल्छन्। २७ वर्षीय उनलाई न महिला दिवसले छोयो न अधिकारकर्मीका कुरा नै थाहा छ।
‘हामी गरिबलाई कुनै पनि दिवसले छुँदैन। दुःख नगरी खान पाइँदैन,’ भिमसेनस्थानमा बालुवा बोक्दै गर्दा भेटिएकी सुनिताले भनिन्, ‘दिनभरि भारी बोक्नुपर्छ। उल्टै अनाहकमा श्रीमान्को कुटाइ खानुपर्छ। मेरा बच्चाहरू पनि मानसिक तनावमा छन्,’ उनी भन्छिन्, ‘म कक्षा सातसम्म मात्र पढेकी छु। राम्रो काम पाइँदैन। बुवाआमाले सानैमा विवाह गरिदिए। बच्चाका कारण पनि श्रीमान्सँग सम्बन्ध बिच्छेद गर्न सक्दिन। कामुन पनि थाहा छैन। पैसा पनि छैन।’
रामेछापकी अनिता श्रेष्ठ पनि स्कुल पढ्दापढ्दै प्रेममा परिन्। उनी कक्षा १० पास नगर्दै भागेर विवाह गरिन्। १६ वर्षको उमेरमा विवाह गरेकी अनिता छोराको शिक्षादीक्षाका लागि काठमाडौं आइन्। सहर आएपछि अनिताले बिहानदेखि साँझसम्म घरघरमा भाडा माझ्ने काम गर्न थालिन्। तर श्रीमान्को जुवातास खेल्ने लत लाग्यो। उनको पनि अवस्था विगत सात वर्षदेखि बिग्रँदै गएको छ। दिनभरि काम गरेर थकित शरीर राति श्रीमान्कोे लात बर्सिन्छ। तर उनीसँग कानुनी उपचारको उपाय पनि छैन। विवाह दर्ता नगरेकोले प्रहरीमा उजुरी गर्न र श्रीमान्विरुद्ध जान नसक्ने उनी बताउँछिन्। हाल उनी श्रीमान्को कुटाइ सहन नसकेपछि अर्को कोठामा ५ वर्षको छोराको साथमा बसेकी छिन्। ‘म बिहान पाँच बजे उठेर सबै काम सकेर ठेलामा मःम बेच्ने काम गर्छु,’ अनिताले नागरिकसँग भनिन्, ‘अहिले म कोठामा एक्लै बस्छु। मःम बेचेर छोराको शिक्षा उपलब्ध गराउने काम गरकोेछु। मेरो लागि त मेरो ठेला नै नारी दिवस हो।’
ओखलढुंगाकी अमिना श्रेष्ठ एक छोरा र एक छोरीकी आमा हुन्। काठमाडौंमा एक्लै उनी दिनरात अर्काको घरमा भाडा माझ्ने र घरधन्दा गर्ने काम गरेर आफनो घर गृहस्थी चलाएकी छिन्। उनको पनि श्रीमान्सँग बेलाबेलामा ससाना कुरामा झागडा भइरहन्छ। उनले कक्षा दशसम्म पढेको र कम्तीमा फेसबुक, भाइवर चलाउन जानेकी छिन्। फेसबुकमा फोटा राखेकै कारण श्रीमान्ले नानाथरी गालीगलौज गरी उनको चरित्र हत्या गर्ने गरेको उनको गुनासो छ। ‘महिला दिवस धनीको लागि मात्र रहेछ। पाँचतारे होटल र पार्टी प्यालेसमा भोजभतेर गरेर नारी दिवस मनएर मात्र यो दिवसले सार्थकता पाउँदैन,’ २८ वर्षीया अमिनाले आक्रोश पोखिन्, ‘जबसम्म पुरुषहरूको मानसिकता परिवर्तन हुँदैन, पुरुषहरूले महिलाको कामको सम्मान गर्न जाँन्दैनन् तबसम्म हामी पीडित र शोषित भइरहन्छाैं।’ गरिब निमुखा महिलाका लागि राज्यले आर्थिक अवस्था सुधार गर्ने कार्यक्रम ल्याउनुपर्ने भन्दै उनी आर्थिक सक्षमताले मात्रै महिला दिवसको सार्थकता हुने धारणा राख्छिन्।
यस्तै, २९ वर्षीय सिर्जना पाण्डे ठेलामा चना चटपटे बेचेर दुई छोरी पढाउँदै आएकी छिन्। उनी ठेला लिएर कहिले खिचापोखरी, कहिले सुन्धारा त कहिले असनमा दिनभरि भौंतारिन्छिन्। तर बेलुका काम गरेर घर फर्कदाँ श्रीमान्बाट जस पाउनुको साटो उल्टै गालीगालौज र कुटपिटको सिकार हुनुपर्ने उनको दुर्भाग्य हो। दुई छोरीको भविष्यका लागि भए पनि सहेर बस्नु परेको दुःखेसो गरिन्। ‘श्रीमान्ले मेरो कमाएको रकमले रक्सी पिउनुहुन्छ। मैले रोके झगडा हुन्छ,’ उनी भन्छिन्, ‘जबसम्म हाम्रा समाजका पुरुषको महिलाप्रति सोच्ने र हेर्ने दृष्टिकोण परिवर्तन गर्ने सरकारबाटै कार्यक्रम आउँदैन तबसम्म यस्ता महिला दिवसले केही सार्थकता राख्दैन।’ सोमबार महिला दिवस हो भन्ने उनलाई पनि थाहा रहेछ।
अन्तर्राष्ट्रिय महिला दिवस एक श्रम आन्दोलन थियो। सन् १९०८ मा १५ हजार महिलाले न्यूयोर्क सहरमा काम गर्ने घन्टा कम गर्न, तलब बढाउन र मतदानको अधिकारको माग गर्दै आन्दोलन गरेका थिए। त्यसको एक वर्षपछि अमेरिकन समाजवादी पार्टीले पहिलोपटक राष्ट्रिय महिला दिवस मनाएका थिए। तर यस दिनलाई अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाउन कलारा जेटकिन नाम महिलाले सन् १९१०मा कोपनहेगनमा कार्यरत महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा विचार राखेपछि सुरु भएको हो।
संघीय संसद् सचिवालयले आयोजना गरेको १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा शुभकामना आदानप्रदान कार्यक्रममा अधिकारकर्मी बन्दना राणाले महिला शसक्तीकरण र महिला हिंसाबारे राष्ट्रियसभाका पदाधिकारी जो निर्णायक तहमा हुनुहुन्छ वहाँहरूले सम्बन्धित निकायमा आवाज उठाउनुपर्ने आग्रह गरिन्। ‘निर्णय तहमा हाम्रा जो महिला हुनुहुन्छ वहाँहरूको भूमिका निकै महत्वपूर्ण हुन्छ,’ उनी भन्छिन्, ‘वाहाँहरूले महिलाको सवालमा सम्बोधन, विभेद र लिडरसिप यी तीन विषय नेतृत्व तहबाटै उठाउनुपर्छ।’
प्रकाशित: २५ फाल्गुन २०७७ ०२:१४ मंगलबार