६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

२०७८ सालमा तीनवटा दसैं

सांकेतिक तस्बिर।

वि.सं. २०७८ सालमा तीनवटा दसैं परेको छ। यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दसैं परेको छ। वैशाख ७ गते मंगलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैं परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ।

यसैगरी वि.सं. २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दसैं परेको छ। बडा दसैंका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दसैं आगामी वर्ष असोज २१ गते बिहीबार घटस्थापना गरेर सुरु हुने भएको छ।

असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ। कात्तिक कृष्ण पक्षमा सुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मंगलबारदेखि सुरु हुनेछ। दसैं र तिहारलाई नेपालमा विशेषरूपमा मनाइन्छ। लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ।

चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दसैंलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँछन्। शक्तिको आराधना गर्न वर्षमा चार नवरात्र पर्ने भए पनि चैत्र शुक्ल र आश्विन शुक्लको दसैंलाई नेपालीले महत्वका साथ मनाउने गरेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतम बताउँछन्।

वर्षमा चारपटक अर्थात् चैत, असार, असोज र पुस महिनाको शुक्ल पक्षमा देवीको आराधना गर्ने नवरात्र पर्छ। असार र पुसमा पर्ने नवरात्रमा साधकले साधना गर्ने गरे पनि आमरूपमा मनाउने परम्परा छैन। यस वर्ष वि.सं. २०७७ असोजमा मलमास (अधिकमास) परेकाले वि.सं. २०७८ मा तीन वटा दसैं परेको उनले जानकारी दिए।

प्रकाशित: १७ फाल्गुन २०७७ ०९:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App