५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

दत्तात्रयको कुथु मठ महन्तमा सीताराम

गुरु दत्तात्रय मन्दिरका १२ मठमध्ये भक्तपुरको दत्तात्रयस्थित कुथु मठमा सीताराम महन्तले शुक्रबार गद्दी आरोहण गरेका छन्। कुथु मठ बानेश्वर महादेवका महन्थ सानु कृष्णबहादुर गिरीको स्वर्गारोहण भएको १३औं दिनमा स्व. गिरीले मुडेको चेलो उनकै सुपुत्र सीताराम गिरीले गद्दी आरोहण गरेका हुन्।  

हजारौं वर्ष पुरानो परम्परालाई निरन्तरता दिँदै धार्मिक नीतिनियम, परम्परानुसार उनलाई महन्त घोषणा गरिएको हो। दशनामी सम्प्रदायका महन्तका प्रमुखलाई पिर महन्त, त्यसभन्दा तल शिर महन्त र प्रत्येक मठका प्रमुखलाई महन्त भन्ने प्रचलन छ। धार्मिक विधिनुसार महन्तको निधन भएको १३औं दिनमा देशभरका महन्त, पशुपतिलगायत विभिन्न ठाउँबाट आएका सन्न्यासी जोगीहरूको सहभागितामा तुराई (नागफणी) बाजा बजाएर, रातो झल्लर छाता ओढाएर सिन्दूर जात्रा गरी दत्तात्रयकोे थाली, छडीसहित पुजारीबाट मन्दिरको फूल, प्रसाद, जलले अभिषेक गरेपछि शिर महन्त र पिर महन्तले च्यादर ओढाएर महन्त घोषणा गर्ने प्रचलन छ।

यसैअनुरूप काठमाडौं उपत्यकाका महन्तहरू भारतबाट आएका १६ मठका महन्त पशुपतिलगायत विभिन्न ठाउँबाट आएको सन्न्यासी जोगीहरूको सहभागितामा तुराई (नागफणी) बाजा बजाई कुथु मठबाट गणेश मन्दिर भीमसेन मन्दिरलगायत दत्तात्रय आसपासका मन्दिरहरूमा दर्शन गराई गिरीलाई महन्त गद्दी आरोहण गराइएको थियो।

यसअघि पनि उनको जिजुबाजे गम्भीर गिरी, उनको हजुरबुबा अर्जुन गिरी र उनको हालै दिवंगत हुनुभएका बुवा सानु कृष्णबहादुर गिरीलाई पनि यही परम्परानुसार भव्यताका साथ महन्तको अभिषेक गराइएको थियो। प्रत्येक मठमा शिवको मन्दिर हुने गर्छ। जसमा बीचमा महादेव, वरिपरि नैऋत्यमा गणेश, वायव्यमा देवी, ईशानमा विष्णु, आग्नेय कोणमा सूर्य रहेको पाञ्चायन मन्दिर रहने गर्छ।

गुरु दत्तात्रय मठअन्तर्गतका भक्तपुरभित्र रहेका पुजारी मठ, क्वाठन्डौं मठ, ताजा मठ, दथु मठ, पुरानचोटा मठ, सिठु मठ, सुकुलढोका मठ, इखालछी मठ, गुचाटो मठ, चिकंफले मठ, कुठु मठ, ग्वाल्दा मठ गरी दत्तात्रयका १२ मठ र अन्य धतखा मठ, थाकल मठ, जंगम मठ, गोदावरी मठ, गरी भक्तपुरमा १६ मठ छन्।

दत्तात्रयको कुथु मठका नाममा १८०५ सालमा राम गिरीले गुठीको थालनी गरेको इतिहास छ। उनी उपरान्त उनीहरूले मान्दै आएका चेलाले नै गुठी सम्हाल्दै पनि आएका छन्।

प्रकाशित: १५ फाल्गुन २०७७ ०१:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App