२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

सीमा वारपार अपराध नियन्त्रणमा सफलता पाउँदै सशस्त्र प्रहरी

सशस्त्र प्रहरी बल नेपालको रौतहटस्थित गणले सीमा वारपार हुने विभिन्न किसिमका अपराध तथा तस्करी नियन्त्रणमा अपेक्षाभन्दा बढी सफलता प्राप्त गरेको देखिएको छ। चालू आर्थिक वर्षको सात महिनामा सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणले राम्रो काम गरेको गण प्रमुख सशस्त्र प्रहरी एसपि सूर्यबहादुर सेन ओलीले जानकारी गराएका छन्।

अपराध नियन्त्रणका साथै मानवीय कार्यमा पनि सशस्त्र प्रहरी बलले सफलता पाउँदै गएको तथ्यांकले देखाएको छ। भारतसित जोडिएको ३२ किलोमिटर सीमा क्षेत्रमा विभिन्न बिओपिमार्फत निगरानी गरिरहेको सशस्त्र प्रहरी बल रौतहट गणले गत सात महिनामा ४१ वटा आगलागीको घटनामा उपस्थित भई आगोमाथि नियन्त्रण लिने तथा सर्वसाधारणको जीउधन जोगाउने काम गरिसकेको छ। यसैगरी गत सात महिनामा सीमा क्षेत्रबाहेक ४७ जनालाई सबारी दुर्घटनाबाट उद्वार गरिएको र बाढीबाट पनि छ जनालाई जिवितै उद्वार गरिएको गण प्रमुख सशस्त्र एसपि ओलीले जानकारी गराएका छन्।

सशस्त्र प्रहरीले चालू आर्थिक वर्षमा साढे चार करोड रुपैयाँ मूल्य बराबरको भन्सार छली गरेर नेपाल भित्र्याइएका सामानहरु नियन्त्रणमा लिएको, दुई थान अवैध हतियार, ठूलो परिमाणमा लागुऔषधहरु, ५० लाख भन्दा बढी स्रोत नखुलेको नेपाली रुपैयाँ, डेढ सय क्युविक फिट काठ बरामद गरेको पनि सशस्त्र एसपि ओलीले जानकारी गराएका छन्।

सशस्त्र प्रहरीको नियमित गस्तीको कारण सीमा वारपार अपराधमा निकै कमी आएको र सशस्त्र प्रहरीको स्थानीयवासी विश्वस्त सुरक्षाकर्मी बन्न सफल भएको देखिएको छ। सीमा वारपार अपराध तथा तस्करीको विषयमा स्थानीयवासीले पनि सूचना दिएर सशस्त्र प्रहरीलाई सहयोग गरिरहेको पाइएको छ।

सशस्त्र प्रहरी बलको नियमित गस्ती तथा निगरानीले राजस्वमा पनि सकारात्मक प्रभाव परेको एसपि ओलीको भनाइ छ।

प्रकाशित: ८ फाल्गुन २०७७ ०४:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App