५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पुस्तैनी बाटोमै फर्कियो बाघ

माघ अन्तिम सातादेखि कैलालीवर्ती क्षेत्रको जंगलमा बाघले आफ्नो ‘मुभमेन्ट’ बढाउन थालेपछि स्थानीय त्रसित छन्। तर बाघको ओहोरदोहोर भने त्यस क्षेत्रमा नयाँ होइन। पुस्तैनीदेखिको बाघको बाटो भएकाले सो क्षेत्रमा आक्कलझुक्कल सिकार खेल्न आइरहने वन्यजन्तु संरक्षणविद् बताउँछन्।  

बाघ भारतको दुधुवा नेसनल पार्क हुँदै नेपाल प्रवेश गरेको हुनसक्ने भन्दै बाघबारे जानकार भन्छन्, ‘बाघको मुख्य क्षेत्र कैलालीको बसन्ता र कञ्चनपुरको लालझाडी क्षेत्र हो तर पछिल्लो समय बसन्ता क्षेत्रमा बाघको बाटोमा अवरोध आउन थालेपछि सहायक मार्ग हुँदै मसुरिया पुगेको हुनसक्छ।’ पहिले घना जंगल रहेको र बसन्ता जैविक मार्गको वैकल्पिक मार्गका रूपमा रहेको मोहनपुर–मसुरिया मार्ग हुँदै यहाँ आइपुगेको हुनसक्ने वन्यजन्तु संरक्षणमा संलग्न सामुदायिक वन समन्वय समिति मसुरियाका अध्यक्ष ओमप्रकाश सापकोटा बताउँछन्। ‘हसुलिया हुँदै मसुरियाको जंगल भनेको बाघको पुस्तैनी बाटो पनि हो,’ उनले भने, ‘यो बाटो भएर धेरै पटक बाघ ओहोरदोहोर गरिरहेको रेकर्ड हामीसँग छ।’ यो क्षेत्रमा वर्षौंदेखि बाघ रहेको बताउँदै उनले भने, ‘मसुरिया क्षेत्रमा वर्षौंदेखि बाघ बसोबास गर्दै आएको भए पनि पछिल्लो समयमा बाहिर गएका बाघ पुनः पुस्तैनी बाटो हुँदै आफ्नै ‘एरियामा’ फर्कन थालेका छन्।’

मसुरिया क्षेत्रमा मुख्यगरी तीन ठाउँमा बाघको बसोबास क्षेत्र रहेको बताउँदै उनले भने, ‘चुरेसँग जोडिएको राजघाट क्षेत्र, तालबन्द क्षेत्र र अन्डैया क्षेत्रमा बाघ पहिलेदेखि नै बस्दै आएको छ।’ केही समय बाहिर गएका बाघ पुनः त्यही पुस्तैनी बाटो फर्केको हुनसक्ने उनी बताउँछन्। ‘जुन बाटोबाट बाघ अन्डैया क्षेत्रमा पसेको थियो, दोस्रो दिन पुनः त्यही बाटोबाट पूर्वपश्चिम राजमार्गको दक्षिणी क्षेत्रतर्फ फक्र्यो,’ उनले भने, ‘यसबाट पनि के पुष्टि हुन्छ भने बाघ आफ्नो पुस्तैनी बाटोमै फर्केको छ।’ पुनः बाघले अन्डैया भएर बग्ने खोलामा बेलुकी पानी पिएको बताउँदै उनले थपे, ‘पहिलो दिन बाघले जुन ठाउँमा आएर पानी पिएको थियो, पुनः दोस्रो दिन पनि त्यसैगरी त्यही ठाउँमा आएर पानी पिएको छ।’ यो बाघका अभिभावकले खोलामा पानी पिउन जुन बाटो डोर्‍याएका थिए, त्यही बाटो पानी पिउन आएको देखिएको उनी बताउँछन्। ‘बाघले गाउँनजिकैको खोलामा पानी पिएको छ,’ उनले भने, ‘योभन्दा अघि त्यो ठाउँमा बस्ती थिएन तर अहिले बस्ती बसेको छ।’ बस्ती बस्दा मानिसले बाघको ओहोरदोहोर गर्ने बाटोमा अवरोध गरेकाले उसले आक्रमण गरेको हुनसक्ने सापकोटाले बताए।  

माघ ३० गतेका दिन कैलारी गाउँपालिकाको दुधियामा देखिएको बाघ दोस्रो दिन मसुरियाको बढैपुर जंगलमा आइपुगेको बताइएको छ। ‘बाघ आफ्नो पुस्तैनी बाटो हुँदै विचरण गर्न यहाँ आइपुगेको हुनसक्छ,’ उनले भने, ‘दुधियाबाट बढैपुर र राजिपुरको जंगलको बाटो हुँदै अन्डैयासम्म आइपुगेको हो।’ पुनः अन्डैयाको जंगलमा एक दिन बसेको बाघ दोस्रो दिन फर्केर पूर्वपश्चिम राजमार्गदेखि दक्षिणतर्फको जंगलमा बसाइँ सरेको उनले बताए। ‘हामीले क्यामेरा ट्र्यापिङ गर्दा बाघ अन्डैयाबाट फर्केर राजमार्गदेखि दक्षिणको जंगलमा फर्केको देखियो।’ बसन्ता कोरिडोरको सहायक मार्गका रूपमा रहेको सो जंगल हुँदै बाघ अन्डैयासम्म पुगेको हुनसक्ने भन्दै राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका संरक्षण अधिकृत डा. रविन कडरियाले भने, ‘भारतको दुधुवा नेसनल पार्कसँग जोडिएको बसन्ता करिडोरको सहायक मार्ग भएकाले पनि बाघको यो पुस्तैनी बाटो हो।’ 

बाघ आफ्नो पुस्तैनी बाटो हुँदै यहाँ आइपुगेको उनी बताउँछन्। ‘यो जंगलमा पहिलेदेखि नै बाघ थिए, बाघ कहिले यता त कहिले उताको जंगलमा हुन्छन्,’ उनले थपे, ‘अहिले बाघ पुनः आफ्नै पुख्र्यौली बाटोमा फर्केको छ।’ यो बाघ असोजदेखि नै त्यो ठाउँमा रहेको बताउँदै सापकोटाले भने, ‘असोजदेखि बाघ यही ठाउँमा थियो तर पछिल्लो एक महिना बाहिर गएर पुनः आफूसँगै एक झुन्ड लिएर फर्केको छ।’ अहिले मसुरिया क्षेत्रमा तीनवटा बाघ रहेको बताउँदै उनले भने, ‘चुरेको तालबन्द, अन्डैया र कैलारी गाउँपालिकाको डोङपुर क्षेत्रमा गरी तीनवटा बाघ यहाँ आइपुगेका छन्।’ क्यामेरा ट्र्यापिङले तीनवटा बाघ देखाएको उनले बताए।

बाघको मुभमेन्टको अध्ययन गर्न अहिले सो क्षेत्रमा १७ वटा स्वचालित क्यामेरा जडान गरिएको बताउँदै डिभिजन वन कार्यालय कैलालीको डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले भने, ‘यो बाघको मुख्य बासस्थान क्षेत्र भएकाले यहाँ आइपुगेको बाघको कहाँकहाँ मुभमेन्ट भइरहेको छ सो जानकारी लिन क्यामेरा ट्र्यापिङमा राखिएको छ।’ पछिल्लो समय एउटा बाघ अन्डैया–मट्कौना र तालबन्दको पेरिफेरिमा रहेको बताउँदै उनले भने, ‘हाम्रा सामुदायिक वनका पदाधिकारी तथा त्यहाँका संरक्षणकर्मीका अनुसार तीनवटा बाघ सो क्षेत्रमा रहेका छन्।’  

बाघलाई त्यही जंगलमा छोडिने या अन्त कतै सार्ने भन्नेबारे अहिलेसम्म केही टुंगो नलागेको बताउँदै उनले भने, ‘हामीले बाघको मुभमेन्ट मात्रै अवलोकन गरिरहेका छौं। यदि नरभक्षी बाघ भएमा त्यसलाई त्यहाँबाट हटाउन सकिन्छ, नरभक्षी नभए बाघलाई केही गर्न सकिँदैन।’ गत आइतबार गौरीगंगा नगरपालिका–५ अन्डैयाकी २५ वर्षीया कला धामीलाई बाघले आक्रमण गरेको थियो। बाघको आक्रमणबाट धामीको घटनास्थलमै मृत्यु भएको थियो। स्याउला ल्याउन जंगल गएको बेला उनलाई बाघले आक्रमण गरेर लगेको थियो। त्यसको दुई दिनअघि कैलारी गाउँपालिका–८ दुधियामा स्थानीय २८ वर्षिय दुर्गा चौधरी बाघ आक्रमणबाट घाइते भएका थिए। उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ।

प्रकाशित: ७ फाल्गुन २०७७ ०२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App