१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भागरथी हत्या प्रकरण: न्यायका लागि गरिएको विरोध प्रदर्शनमा सहभागी थिए आरोपी

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने विद्यालयका एक विद्यार्थी पक्राउ परेका छन्। सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले आज उनलाई सार्वनजिनक गर्ने बताएको छ। भागरथी यही विद्यालयको कक्षा १२ मा पढ्थिन्। माघ २१ गते बुधबार विद्यालयबाट घर हिँडेकी उनको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो।

१३ दिनअघि विद्यालयबाट नफर्किएपछि खोजी गर्दा भागरथीको शव घरभन्दा तीन किलोमिटर टाढा रहेको लबलेक सामुदायिक वनमा बिभत्स अवस्थामा भेटिएको थियो। एक साताभन्दा बढी समयको प्रहरी अनुसन्धानपछि प्रहरीले भट्टको हत्या आरोपमा दिनेशलाई सार्वजनिक गर्न लागेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीले जानकारी दिए। प्रहरीले उनीमाथि शंका गरेर पक्राउ नगरी केही दिनदेखि निगरानीमा गरिरहेको थियो। पक्राउ परेका भट्ट भागरथीको न्यायका लागि गरिएको विरोध प्रदर्शनमा समेत सहभागी हुँदै आएका थिए।

विद्यालयबाट एक्लै फर्किएको मौका छोपेर बलात्कारपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी थिचेर हत्या भएको देखाएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार उनले सुरुमा भागरथीलाई भीरबाट लडाएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएका छन्। दोषीलाई कारवाहीको माग गर्दै पीडित पक्षले अस्पतालमै शव छाडेर आन्दोलन गर्दै आएको छन्।

लवलेक सामुदायिक वनमा सडकबाट ५० मिटर तल उनको शव भेटिएको थियो। घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका भट्टले भागरथीको बलात्कारपछि हत्यामा आफ्नो संलग्नता स्वीकार गरेकाले सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले जनाएको छ। भट्टले घटनामा संलग्नता स्वीकार्दै साबिती बयान दिएको भन्दै बैतडी प्रहरी स्रोतले भन्यो, ‘पुरानो परिवारिक रिसिबीले बदला लिन यस्तो गरेँ भनेका छन्।’

भागरथी हत्यालाई धेरैले कञ्चनपुरकीले निर्मला पन्तको बलात्कारपछि हत्यासँग जोडेर हेरेका थिए। त्यो घटनाको जस्तो नियति नदोहोरिओस् भनेर खबरदारी समेत गरेका थिए। घटनाको संवेदनशीलतामा ध्यान दिँदै सुरुवातदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली खटाएको थियो। प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी पनि अनुसन्धानमा खटिएका थिए। निर्मला पन्त प्रकरणमा असफल देखिएको प्रहरी भागरथी घटनाका दोषी जसरी पनि पत्ता लगाएर गुमेको विश्वास फर्काउने जोसमा थियो।

प्रकाशित: ५ फाल्गुन २०७७ ०३:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App