६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

चार लाखलाई पानी खुवाउने आयोजना

जल

पोखराको मुख्यसहित भित्री सडकमा अहिले खानेपानीको पाइप बिछ्याउने काम भइरहेको छ । सुरक्षाका विधि र सवारी चाप व्यवस्थापन गर्दै निकै व्यवस्थित ढंगले काम भएको देख्दा धेरै पोखरेलीले अचम्म मानिरहेका छन् । निकै व्यवस्थित र सुरक्षाका साथ गरिएको यो कामप्रति यहाँका स्थानीयवासी खुसी छन् ।

त्यसैले धेरैले भन्ने गरेका छन्,–‘खानेपानीको पाइप बिछ्याउँदा अपनाइएको शैली निकै व्यवस्थित र सुरक्षित छ । धेरैले रुचाएको यो काम हो, पोखरा खानेपानी सुधार आयोजनाको ।  यो आयोजनाले झन्डै चार लाख पोखरेलीलाई शुद्ध पानी खुवाउने लक्ष्य राखेको छ ।

पोखराको खानेपानी वितरण प्रणाली झन्डै चारदशक पुरानो हो । त्यसबाहेक पोखरेलीले प्रयोग गर्दै आएको खानेपानीको शुद्धता प्रति बेलाबेला गुनासो पनि आउने गरेको छ । त्यही गुनासो र पानीको वितरण प्रणालीमा सुधार ल्याउन आयोजनाले खानेपानीको पाइप बिछ्याउने काम गरिरहेको छ । पाइप बिछ्याउने र रिजर्भ ट्यांकी निर्माण गरेर अहिले भन्दा व्यवस्थित र शुद्ध पानी घर–घरमा पुर्‍याउने लक्ष्य आयोजनाको हो ।

पोखरा खानेपानी सुधार आयोजनाका उपप्रमुख इन्जिनियर आशिष कार्कीका अनुसार अहिले पोखराभित्र १ सय किलोमिटर दूरीको खानेपानी पाइप बिछ्याउने काम भइरहेको छ । त्यो मध्ये ४८ किलोमिटरमा मुख्य पाइप लाइन र ५२ किलोमिटर घर–घरसम्म पानी पुर्‍याउने नेटवर्किङ पाइप विस्तारको काम भइरहेको उनले बताए । ४८ किलोमिटर दूरीमा बिछ्याइने पाइपको आयु १ सय वर्ष र ५२ किलोमिटरमा बिछ्याइने पाइपको आयु ५० वर्ष हुनेछ ।

त्यसबाहेक भण्डारण क्षमता विस्तारका लागि ३ ठाउँमा २० लाख लिटरका दरले ‘रिजर्भ ट्यांकी’ पनि बनाउन थालिएको छ । ती ट्यांकी  पस्र्याङ, फूलबारी र कोलपाटनमा बनिरहेका छन् । कोलपाटनमा ओभरहेड बन्दै छ, भने प्रस्याङ र फूलबारीमा जमिनमुनि ट्यांकी बन्नेछन् । ‘ठूला ट्यांकीलाई जोड्नेगरि पाइप विस्तार भएका छन् भने घर–घरसम्मको नेवटर्किङ पनि विस्तार र सुधार हुँदैछ ।  

त्यसबाहेक पानी नपुगेको ठाउँसम्म पनि पुग्नेछ भने नयाँ संकलन ट्यांकीसम्म पुर्‍याउनका लागि मुख्य पाइप लाइनको कामले पूर्णता पाउनेछ,’ कार्कीले भने, ‘पोखराको खानेपानीको निकै नै पुरानो नेटवर्कमा पनि सुधार ल्याउन आवश्यक छ । त्यसबाहेक घर–घरसम्म शुद्ध खानेपानी पुर्‍याउने लक्ष्य हो, त्यही लक्ष्य पूरा गर्न आयोजनाको काम तिव्र रूपमा भइरहेको छ ।’  

तोकिएको अवधिमा काम सम्पन्न भए अबको ६ महिनामा करिब ८० प्रतिशत पोखरेलीको घरमा शुद्ध खानेपानी पुर्‍याउने लक्ष्य रहेको उनले बताए । यो आयोजना मार्फत पोखरामा खानेपानी थपिने नभई वितरण प्रणालिमा सुधार र शुद्ध हुने उनले बताए । अहिले पोखरामा भोटीखोला मार्फत दैनिक ३० लाख लिटर पानी आउँछ । मुख्य मुहान मर्दीबाट दैनिक ४ करोड ४० लाख लिटर पानी आपूर्ति हुन्छ ।  

पोखराको ८० प्रतिशत माग मर्दीले थेगेको छ । त्यस्तै कालीमुढाबाट पनि ३० लाख लिटर पानी आपूर्ति हुने गरेको छ । त्यसबाहेक खानेपानी संस्थानका ७ वटा बोरिङमार्फत दैनिक ७० लाख लिटर पानी आपूर्ति हुन्छ । प्रत्येक बोरिङले दैनिक १० लाख लिटरका दरले पानी आपूर्ति गरिरहेका छन् । खानेपानी संस्थानले अहिले पोखरा महानगरभित्रका १९ वटा वडामा खानेपानी वितरण गरिरहेको छ । पछि थपिएका वडामा संस्थानको सेवा पुगेको छैन ।

पुरानो प्रणालिमा खानेपानी वितरण गर्दा अहिले पोखरामा दैनिक साढे ६ करोड लिटर पानीको माग रहेको छ । केही पानी चुहावट पनि छ । त्यसैले पोखरामा अझै दैनिक एक करोड लिटर पानी अपुग रहेको कार्कीको भनाइ छ । ‘अहिलेको आयोजनाबाट पानीको स्रोत बढ्ने होइन,’ उनले भने, ‘आयोजनाले स्रोत बढाउने होइन, शुद्धता र वितरण प्रणालिमा केही सुधार ल्याउने हो ।’

आयोजनाका इन्जिनियर सन्तोषकुमार दासका अनुसार पोखराको यो आयोजनाको लागत ३ अर्ब ८५ करोड रुपैयाँ हो । यो रकम जापानी दातृ निकाय जाइकामार्फत आएको हो । जाइकाको ऋण सहयोगमा सरकारले खानेपानी संस्थानमार्फत यो रकम पोखरा क्षेत्रको खानेपानी शुद्ध बनाउन खर्च गर्दैछ ।  

संस्थानले आयोजना पूरा भएपछि ऋण तिर्न थाल्नेछ । आयोजनाका लागि २०१९ मार्चमा सम्झौता गरेको थियो । त्यसै अनुसार जापानी निर्माण कम्पनी हाज्मा एण्डो कर्पोरेसनमार्फत अहिले धमाधम काम भइरहेको छ । निर्माणका लागि २०२१ अगष्ट ३१ सम्मको समय तोकिएको छ ।

‘अहिलेसम्म जम्मा ३१ प्रतिशत काम सकिएको छ । कोरोना भाइरस संक्रमणका कारण यो आयोजनाले बेलैमा गति लिन नपाएको हो,’ इन्जिनियर दासले भने, ‘तर, पनि तोकिएको समयभित्र काम सक्ने प्रयासमा छांै ।’ कोरोना संक्रमण नभएको भए अहिलेसम्म ८० प्रतिशत प्रगति हुने उनको भनाइ छ । ‘कोरोनाका कारण दक्ष प्राविधिक र कामदार आउन सकेनन्,’ उनले भने, ‘काम थालेका मात्रै के थियौं, सबैतिर कोरोना संक्रमणले त्रास छायो । त्यसले गर्दा पनि देखिने गरि प्रगति हुन सकेन ।’ अहिले सबैगरि ४ सय १० जना कामदारले दैनिक काम गर्दै आएका छन् ।

पाइप बिस्तारसँगै मर्दीको मुख्य मुहानमा ४ करोड २० लाख लिटर पानी शुद्धीकरण गर्नका लागि ट्रिटमेन्ट प्लान्ट पनि बन्नेछन् । पोखरा महानगरपालिका–२५ हेम्जा र पोखरा–१९ को पूरून्चौरमा उक्त प्लान्ट बन्नेछन् । प्लान्टको ४५ प्रतिशत काम पनि सकिएको छ । त्यसबाहेक पोखरामा खानेपानी भित्रिने सहायक मुहान भोटिखोला र कालीखोलाका लागि पनि ट्रिटमेन्ट प्लान्ट बनाउने योजना रहेको इन्जिनियर दासको भनाइ छ ।

यो आयोजना पूरा भएपछि पोखरा सहरभित्रको वर्षौ पुरानो खानेपानीको नेटवर्कमा पनि केही सुधार हुने अपेक्षा छ । त्यसबाहेक अहिले वितरण भइरहेको पानीको तालिकामा पनि केही सुधार हुने आयोजनाका प्राविधिकको भनाइ छ । आयोजनाका उपप्रमुख कार्कीका अनुसार पोखराभित्र झन्डै ३ हजार किलोमिटर खानेपानी पाइपको नेटवर्किङ छ । अहिले वितरण प्रणालीमा सुधार गर्दा झन्डै ७३ सय धारासम्मको प्रणालीमा खानेपानी संस्थानमार्फत सुधार आउनेछ ।  

‘निर्माण कम्पनीसँगै संस्थानले पनि सुधारका काम गरिरहेको छ । अहिले एकैपटक काम ग¥यो भने सहज हुन्छ, पछि गरौंला भन्यो भने झनै भद्रगोल हुन्छ,’ कार्कीले भने, ‘खानेपानी सुधारका नाममा बारम्बार सडक खन्ने काम पनि गर्नुभएन ।’ पोखरामा अपुग पानीका लागि स्रोतको खोजी भइरहेको उपप्रमुख कार्कीको भनाइ छ ।  

अहिलेको अपुगलाई प्रयाप्त बनाउन मुख्य दुईवटा स्रोत पहिचान गरिएको छ । एउटा हो, मर्दीको क्षमता बढाएर दैनिक साढे ६ करोड लिटर बनाउन पनि सकिन्छ । अर्काे स्रोत फेवातालको मुल स्रोत हर्पन खोलाबाट पनि पानी ल्याउन सकिने बारे अध्ययन भइरहेको छ । फेवाताललाई पानी अभाव नहुने अवस्थमा हर्पनबाट थप खानेपानी पोखरा भित्र्याउन सकिने सम्भावना रहेको कार्कीले बताए ।

हर्पनबाट ल्याउँदा दैनिक एक करोड लिटर पानी पोखरामा थप्न सकिन्छ । हर्पनबाट पानी ल्याउन सकिने वा नसकिने बारे अहिले वातावरणीय प्रभाव मूल्यांकन (इआईए) को प्रक्रिया अघि बढिरहेको कार्कीले बताए । त्यस्तै विजयपुर खोलाबाट पनि थप ३० लाख लिटर पानी ल्याएर थप्न सकिने सम्भावनाबारे पनि अध्ययन भइरहेको छ ।

विजयपुरको पानी माटेपानीस्थित ट्यांकीमा मिसाएर वितरण गर्ने योजना पनि संस्थानसँग रहेको छ । पोखरामा ४६ हजार धारा रहेका छन् । वर्षमा करिब १५ सय धारा थपिने गरेको संस्थानका अनुमान छ । सोही अनुमानका आधारमा खानेपानीको स्रोत पहिचान गर्दै आपूर्तिलाई सहज बनाउनुपर्ने कार्कीको भनाइ छ ।  

पोखरामा अहिले एकजनाका लागि दैनिक १३० लिटरका दरले पानी खर्च हुने गरेको संस्थानको अनुमान छ । पोखरामा अहिले दैनिक ४ लाख जनाले पानी प्रयोग गर्दै आएको अनुमान छ । त्यसबाहेक करिब ३० प्रतिशत पानी चोरी र चुहावटबाट हुँदै आएको छ ।  दिनमा ७ करोड लिटर पानी भित्र्याउने हो प्रयाप्त हुने कार्कीको भनाइ छ । त्यस्तै पोखराभित्रकै साना सहरी आयोजना र स्थानीय समितिमार्फत पनि खानेपानी वितरण भइरहेको छ । स्थानीय स्रोतबाट आपूर्ति भएको पानी साना आयोजना तथा खानेपानी समिति मार्फत वितरण भइरहेको छ । लेखनाथको साना सहरी आयोजना, मझेरीपाटन र छिनेडाँडाका खानेपानी समितिलाई पनि समेट्दै संस्थान मातहत ल्याउने प्रयास भइरहेको उनले बताए । ‘हुन त अहिले ती समिति र आयोजनाले आफ्नै स्रोतको पानी वितरण गरेका छन् । तर, उनीहरूलाई संस्थान मातहत ल्याउन सक्ने हो भने अरु बिस्तारमा सहज हुन्छ,’ उनले भने, ‘ती आयोजनालाई पनि संस्थानमा जोड्ने पहल हो ।’

संस्थानका विन्ध्यवासिनीस्थित वितरण प्रमुख दिनेश्वरप्रसाद यादवका अनुसार मर्दीमा माटोको बाँध (अर्धन ड्याम) बाँधेर २०३८ मा पोखरामा खानेपानी आपूर्ति गर्न थालिएको थियो । तर, पोखरामा वस्ती बढ्दै जान थालेपछि २०५५ मा मर्दीमा पक्की बाँध बनाइयो । सुरुमा मर्दीबाट दैनिक १ कराड ३० लाख लिटर पानी पोखरा आपूर्ति हुन्थ्यो । तर, पछि पानी अभाव हुन थालेपछि जापान सरकारको ‘नन प्रोजेक्ट ग्रान्ट’ कार्यक्रम अन्तर्गन खानेपानीको क्षमता बढाउन पाइप सहयोग आएको थियो ।

जापानको सहयोगमा नेपाल सरकार, पोखरा महानगरपालिका र खानेपानी संस्थानले पाइप बिछ्याउनुपर्ने थियो । तर, लामो समयसम्म ती पाइप बिछ्याउने काम भएन । पछि सबैको दवावमा सरकारी लागतमै २०६६ मा पाइप बिछ्याएर पोखरामा पानी आपूर्ति बढाइएको हो ।

‘११ किलोमिटर पाइप बिछ्याएर पोखरामा पानी आपूर्ति बढाइएको थियो,’ यादवले भने, ‘तर, २०६९ मा सेती नदीमा बाढी आउँदा पाइप बगायो । लामो समय लगाएर पाइप मर्मत भएपछि बल्ल पोखरामा पानी आपूर्ति बढेको हो ।’ उनका अनुसार पोखरामा हरेक १० वर्षको अवधिलाई योजना बनाएर पानीको आपूर्ति व्यवस्थापन गर्न आवश्यक छ । तर, त्यो योजना अनुसार पछिल्लो समय काम हुन नसकेको उनले बताए ।

प्रकाशित: ५ फाल्गुन २०७७ ०२:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App