२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

माघमा चेलीबेटीलाई ‘त्यारमाणो’

चेलीको घरमा त्यारमाणो पुर्‍याउन जाँदै डोटी घोल्तडाका महिला। फाइल तस्बिर : नागरिक

संस्कृति तथा परम्परा ठाउँअनुसार फरकफरक हुन्छन्। सुदूरपश्चिममा माघ महिनाभरिमा कुनै एक दिन आफ्ना चेलीबेटीलाई ‘त्यारमाणो’ दिने चलन छ। छोरी, दिदीबहिनी र फुपूलाई माघमा दिइने सेलरोटी, फाउने माणा, भुनेरोटी तथा अन्य मीठा परिकारलाई त्यारमाणो भनिन्छ। माघ पुण्य महिना र चेलीबेटी देवीका अवतार भएकाले उनीहरूलाई सोही समय पारेर त्यारमाणो दिए पुण्य प्राप्ति हुन्छ भन्ने जनविश्वास रहिआएको छ।

दिए पुण्य कमाइन्छ भन्ने जनविश्वासअनुसार आफूले पनि चेटीबेटीको घरमा यसपालिको माघमा सेलरोटी पुर्‍याइसकिएको गोदावरी नगरपालिका वसन्तपुरका तीर्थराज ओझाले बताए। ‘बिहे भएका छोरी, दिदीबहिनी र फुपूलाई उपहारस्वरूप माघमा त्यारमाणो दिने गरिन्छ,’ उनले भने। सुदूरपश्चिमका पहाडी जिल्लाका साथै कैलाली र कञ्चनपुरमा बसोबास गर्ने पहाडी मूलका बासिन्दालाई चेली (छोरी) तथा दिदीबहिनीलाई सेलरोटी उपहार पठाउन भ्याइनभ्याइ छ।  

डोटेली भाषाविद् साहित्यकार डा. टीएन जोशीले विवाह गरी पठाइएकी चेलीसँगको सम्बन्ध प्रगाढ बनाइराख्न त्यारमाणो दिने चलन चलिआएको बताए। ‘त्यसकारण डोटी र डडेलधुरामा माघलाई चेली तिहार पनि भन्ने गरिन्छ,’ उनले भने। उनका अनुसार नजिक घर भएका दिदीबहिनी र छोरीलाई भने माइतीघरमै बोलाएर खुवाउने, गच्छेअनुसारको दक्षिणा दिने र टाढाकालाई माइती पक्ष घरमै पुगेर त्यारमाणो दिने गरिन्छ।  

माघे संक्रान्तिदेखि मसान्तसम्म सूर्य मकर राशिमै रहने भएकाले माघभर माघे तिहार मनाइएको ज्योतिषी मनिराज जोशीले बताए। ‘मकर राशिमा गरेको कार्य बढी फलदायी हुन्छ,’ उनले भने, ‘माघमा ब्राह्मणलाई खाना खुवाए पुण्य पाइने धार्मिक मान्यता पनि छ।’ उनका अनुसार दिदीबहिनी तथा चेलीबेटीलाई ब्राह्मणका प्रतीक मानिएकाले सेलरोटी उपहार दिने प्रचलन छ। धार्मिक मान्यताअनुसार माघमा माछामासु खानुहुँदैन। माघमा स्वस्थानी व्रत पनि पर्ने भएकाले पनि हत्याहिंसा गर्नुहुँदैन भन्ने धार्मिक मान्यता छ।  

सदियौं पहिले एक विवाहिता चेलीले आफ्ना बुबालाई आरु फुल्ने र पाक्ने बेला (आरु फुल्ने समय माघ हो भने पाक्ने समय साउन) मा खानेकुरा अभाव भएकाले घरमा नआउन अनुरोध गरेकी थिइन्। त्यति बेलादेखि चेलीको घरमा खानेकुराको अभाव टार्न सेलरोटी दिने प्रचलन सुरु भएको भन्ने मान्यता रहेको अर्का स्थानीय पिआरले चटौतले बताए। ‘पहिले–पहिले केरा तथा मालुको पातमा सेलरोटी राखेर दिने गरिन्थ्यो,’ उनले भने, ‘पछिल्लो समयमा परिवर्तित गर्दै डोकोभरि सेल रोटीका साथै अन्य परिकार दिन थालिएको हो।’ यसरी डोकोभरि सेलरोटी लगेर आमा, भाउजू, दाजु वा भाइहरू छोरी, दिदीबहिनीको घरमा जाने गर्छन्।

यो समयमा न्याउली चरी बास्ने भएकाले बिहे भएका छोरीबहिनीलाई माइतीको सम्झनाले सताउँछ। छोरीबहिनीलाई माइतीको सम्झना बिर्साउन पनि माघमा चेलीबेटीलाई त्यारमाणो दिने गरिएको वरिष्ठ डेउडा गायक दलबहादुर बोगटीले बताए। ‘छोरीबहिनीलाई माइतीको सम्झनाले नसताओस् भन्न त्यारमाणो उपहार पठाउने गरिन्छ,’ उनले भने। चेलीबेटीलाई भगवान्को रूप मान्ने गरिएकाले उनीहरूलाई मान दिनु पनि यसको अर्थ रहेको उनी बताउँछन्।  

त्यारमाणो माइतीले चेलीलाई दिएको सम्मान भएको बताउँदै लक्ष्मी रोकायाले भनिन्, ‘माइती र चेलीबेटीको सम्बन्ध त्यारमाणोले झन् प्रगाढ बनाएको छ। कामधन्दामै माइती बिर्सिएकी चेलीलाई त्यारमाणोले सम्झना दिलाउने र माइती पक्षसँग भेटघाट गराउने अवसर पनि जुटाएको उनले बताइन्। परम्परादेखि चलिआएको संस्कृतिअनुसार माघलाई धार्मिक महिनाका रूपमा पनि मानिने भएकाले चेलीबेटी र दिदीबहिनीलाई गच्छेअनुसार दान गर्दा पुण्य कमाइने विश्वास रहिआएको उनले बताइन्।  

सुदूरपश्चिममा माघमा चेलीलाई त्यारमाणोसँगै ब्राह्मणलाई खिचडी खुवाउने प्रचलन पनि छ। खिचडीले शरीरलाई तागत दिने र गर्मी गर्ने भएकाले खिचडी खुवाए पुण्य पाइने जनविश्वास रहेको छ। माघको जाडो बिस्तारै हट्न लागेको र कामकाजको समय पनि नभएकाले चेलीलाई कोसेली दिने उपयुक्त समय मानिने गरेको डेउडा गायक सुरत रावत ‘डोटेली कान्छा’ बताउँछन्। उनले यो परम्परा संस्कृतिसँग पनि जोडिएकाले सुदूरपश्चिममा छोरी बहिनीलाई देवीको प्रतीकका रूपमा मान्ने गरिएको बताए।  

माघमा छोरीबहिनीलाई कारणवश त्यारमाणो दिन नसक्नेले अर्को माघ पर्खनुपर्ने हुन्छ। माघलाई धर्मात्मी महिनाका रूपमा हेरिने भएकाले पनि यो महिनामा छोरीबहिनीलाई त्यारमाणो दिए धर्म लाग्ने र पाप नष्ट हुने जनविश्वास रहिआएको पण्डित हरिनारायण भट्टले बताए। दसैंतिहारपछि लामो समय छुट्टिएकी छोरीबेटीलाई भेटघाट गर्ने निहुँ पनि माघ महिना भएको उनी बताउँछन्।  

माघमा चेलीबहिनीलाई दान दिए हजारौं गुणा फल मिल्ने जनविश्वास रहेकाले पनि त्यारमाणो दिने चलन रहेको मदन पुरस्कार विजेता तथा सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले बताए। उनले भने, ‘यो क्षेत्रमा माघमा छोरीबहिनीको घरमा गएर पानी समेत खाँदैनन्। आफूले दिने र छोरीबहिनीको घरको केही नखाने चलन रहेको छ। छोरी बहिनीको घरको खानेकुरा खाए पाप लाग्छ भन्ने जनविश्वास रहेको छ।’  

माघमा त्यारमाणो दिने चलन सुदूरका डोटी, डडेलधुरा, बझाङ, अछाम र बाजुरामा रहे पनि दार्चुला र बैतडीमा भने चैतमा भिटौलो/चैतलो भन्दै सेलरोटी दिने चलन रहेको सुदूरपश्चिमको संस्कृतिमा विद्यावारिधि, साहित्यकार डा. बद्री बिनाडीले बताए। ‘सुदूरपश्चिममा चेलीबेटीलाई देउताका रूपमा मान्ने गरिनुका साथै उनीहरूलाई दान दिए पुण्य कमाइने विश्वास रहिआएको छ।’

प्रकाशित: २४ माघ २०७७ ०१:५७ शनिबार

संस्कृति तथा परम्परा ‘त्यारमाणो’