माघ लहैली सुरिक सिकार खैली रे हाँ ।
सखियै हो माघ्क पिली गुरीगुरी जाँर...
थारू समुदायमा जाँडलाई एक विशेष प्रकारको खान्कीकै रुपमा लिइन्छ । थारू समुदायले जाँड कूल देउतालाई प्रसादका रुपमा चढाउनुका साथै पाहुना सत्कारमा पनि दिने गर्छन् । हो त्यही जाँडलाई मुख्य लयका रुपमा ढालिएको गीतले अहिले कैलाली कञ्चनपुरका थारू बस्ती गुञ्जयमान बनेका छन् ।
कोरोना भाइरसका कारण देश लकडाउनमा परेसँगै हर्दौवा, अट्वारी, अष्टिमिकीलगायतका मौलिक चाडपर्व मान्न नपाएको थारू समुदायले यसपटक माघी भने धुमधामसँग मनाउन थालेका छन् ।
कोरोना भाइरसका कारण देश लकडाउनमा परेसँगै अट्वारी, अष्टिमिकी, हर्दौवालगायतका मौलिक चाडपर्व मान्न नपाएको थारू समुदाय यसपटक माघी भने धुमधामसँग मनाउन थालेका छन् । ‘कोरोना भाइरसका कारण थारू समुदायका मौलिक चाडपर्वहरु मनाउन पाएका थिएनौं,’ गौरीगंगा–७, कैलासपुरका भलमन्सा तुलराम जोगी (थारू) ले भने,‘करिब ११ महिनासम्म चाडपर्व मनाउन नपाएको थारू समुदाय अहिले भने केही खुकुलो महसुस भएका कारण माघी मनाउन व्यस्त छौँ ।’
अहिल थारू समुदायमा मघौटा, धमार झुम्रा नाचमा रमाउन थालेका छन् । यस्तै थारूहरू माघ महिनामा भलमन्सा, चौकीदार र गुरुवाको चयनका लागि पनि तयारी गर्ने हुँदा गाउँगाउँमा नयाँ गुरुवा र भलमन्सा चुन्नका लागि चहलपहल भइरहेको छ । अन्य समुदायले माघीका रूपमा मनाउने माघे संक्रान्तिलाई थारू समुदायले भने नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । माघीमा विशेषगरी बङ्गुरको मासु, माछा, घोंगी, गङ्गटालगायत खानाका परिकार खाने चलन रहिआएको छ ।
यसरी मनाइन्छ माघी
पुसको अन्तिम दिनलाई थारू समुदायले पुरानो वर्षको अन्तिम दिनका रूपमा मनाउने गर्छन् । पुरानो वर्षको बिदाईका रुपमा पुसको अन्तिम दिन (जीता) बङ्गुर मार्ने प्रचलन छ । ‘जीता’ को प्रसादसँगै रातभर जाग्राम बस्दै मघौटा धमार, झुमा नाच नाच्ने गर्दछन् । यस्तै माघे सङ्क्रान्तिका दिन विशेषगरी थारू समुदायमा बिहानै उठेर नजिकैको नदी, तलाउमा गई नुहाएर आफूभन्दा ठूलाबाट आशीर्वाद लिने गर्छन् । विशेष स्नानपछि विवाहित छोरीचेली निसराउ (चामल, नुन, तेल, बेसारलगायतका खाद्यान्नबाट तयार पारिएको परिकार) दिने परम्परा छ । जसलाई थारु भाषामा ‘उपहार’ भनिन्छ । थारू समुदायका विभिन्न लोकसंस्कृति झल्किने एकल तथा सामूहिक नाचगान गरी रमाइलो गर्ने गरिन्छ ।
प्रकाशित: २९ पुस २०७७ ०८:१० बुधबार