२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

एक सुन्दर निकाह

उनी ‘पुष्पा मामु’ कहाँ आउने बेला मात्र ११ वर्षकी मात्र थिइन्। त्यति बेला उनलाई जन्मदिने आमा जेलमा थिइन्। उनलाई आफ्नो बुवाको बारेमा केहीपनि थाहा थिएन। यतिसम्म कि उनले आफ्नो बुवाको फोटोसम्म पनि देखेकी छैनन्। सिएनएन हिरो पुष्पा बस्नेतले सञ्चालन गरेको अनाथालय ‘बटरफ्लाई होम’ मा पुगेपछि सानी हेनाले आफु जस्तै अरु साथीहरु भेटिन् तब उनलाई केही खुसी मिल्यो। त्यो खुसी विस्तारै बढ्दै गयो। उनले वर्षौंपछि त्यहीँबाट आफ्नो जीवनको नयाँ खुसी प्राप्त गरेकी छन्।

उनी त्यो बालघरमा पुगेको वर्षौं बितिसकेको छ। उनी सानी हेनाबाट एक युवती हेना बनिसकेकी थिइन्। हेना उनी त्यही ‘बटरफ्लाई होम’ मा हुर्किन् बढिन् र पढिन् पनि। उनले त्यसलाई नै आफ्नो घर र जीवनको अभिन्न अंग मान्दै अघि बढ्दै गइन्। समयसँगै उनले सोही बालघरमा काम गर्न थालिन् र महिनामा १४ हजारसम्म कमाउन थालिन्।  

उमेरसँगै मानिसका चाहना र इच्छाहरु पनि फरह हुँदै जान्छन्। जो बालपनमा हुन्छ त्यो युवा अवस्थामा आउँदा परिवर्तन हुनु स्वभाविक हो। सायद यही बुझेर पुष्पाले एक दिन हेनालाई सोधिन्, 'अब के गर्छौ?' हेनाले पुष्पा 'मामु' को प्रश्नको उत्तर दिइन्,  'बिहे गर्ने  इच्छा छ।'  

उनको इच्छा सुनेपछि एकछिन पुष्पाले एकछिन सोचिन, 'अब कसरी मिलाउने।' त्यो स्वभाविक किन पनि थियो भने, ‘बटरफ्लाई होम’ले त्यति बेलासम्म त्यहाँबाट कसैको पनि बिहे गराएको थिएन। उसले आफूले हुर्काएका बालबालिकालाई असल जीवनसँगै उनीहरुको डरलाग्दो विगतलाई भुलाउने प्रयासमै बढी ध्यान दिने गर्थ्यो। उसले बालबालिकाको चाहना अनुसारको सीप सिकाएर उनीहरुलाई सकेसम्म ब्यस्त राख्ने प्रयास गर्छ। फरक बाटो रोजेकै कारण विवाह नगरेर बसेकी पुष्पालाई आफूले हुर्काएका मध्ये ‘जेठी छोरी’ (हेना) को विवाह गराउन पक्कै पनि सजिलो थिएन। बिवाहका आफ्नै सामाजिक परम्परा छन्।

उनको इच्छा सुनेपछि एकछिन पुष्पाले एकछिन सोचिन, 'अब कसरी मिलाउने।' त्यो स्वभाविक किन पनि थियो भने, ‘बटरफ्लाई होम’ले त्यति बेलासम्म त्यहाँबाट कसैको पनि बिहे गराएको थिएन। 

‘मैले हेनाको लागि दुलाह खोज्ने प्रयास गरेकी थिएँ तर दुलाह खोज्ने काम सहज थिएन,’ पुष्पाले हाँस्दै भनिन्,‘हेनाको पढाई त्यति राम्रो थिएन, उनको अन्य सीपमा पनि खासै इच्छा थिएन। तर, मलाई हेनाको विवाह जसरी पनि गर्नुपर्छ भन्ने लाग्यो। मलाई लाग्यो कि म आफू अविवाहित भएपनि मेरा बच्चाहरु अविवाहित भएर बस्नुहुन्न।’  

सोमबार नागरिकसँग फोनमा कुराकानी गरिररहेका बेला पुष्पा चितवनमा थिइन्। उनको आवाजमा खुसी प्रष्ट झल्किन्थ्यो। उनीसहित कारमा अरु ५ जना अरु पनि थिए। हेना पनि सोही कारमा थिइन्। २४ वर्षीय हेनाको लागि भेटिएका दुलाहा चितवनको टाँडीका थिए। हेनाभन्दा २ वर्ष जेठा।  

‘हामी केही समयमा मस्जिदमा पुग्दैछौं। हेनाको निकाह (इस्लाम धर्मअनुसार हुने विवाह) स्थानीय मस्जिदमा हुँदैछ। त्यसपछि म आफ्नी छोरीलाई दुलाहको घरमा छोडेर फर्कन्छु,’ पुष्पाले भनिन्।  

त्यसको अघिल्लो दिन आइतबार आफ्नो विवाह हुन लागेको थाहा पाएर हेना निकै खुसी देखिएकी थिइन्। हेनाको खुसीले पुष्पा निकै विभोर बनेकी थिइन्। हेनाको विवाह सरल तवरबाट गर्न लागिएको थियो। त्यहाँ कुनै झकिझाउन थिए। मायाँको एउटा ठूलो पोका पुष्पाले मस्जितमा फुकाउँदै थिइन। मायाँको नयाँ डोरी जोड्दै थिइन्।

‘विना खर्च, सामान्य धार्मिक विधीअनुसार विहाह हुँदै थियो। म आफैं पहिलोपटक मुस्लिम विवाहमा सहभागी हुन लागेकी थिएँ। मैले दुलही र दुलाहा दुवै जना खुसी भएको पाएँ। दुलाहाले मलाई मामु भन्न थालिसकेको थियो,’ उनले भनिन्। ‘एक अभिभावक भइसकेपछि मेरो छोरीलाई उनीहरुले कसरी राख्छन् भन्ने कुरामा म सचेत रहनपर्छ।’ हेनाले श्रीमान् पाएकी थिइन् पुष्पाले ज्वाई।

हेनाको विवाह अपराह्नतिर भयो। अनि विवाह समारोह राति नहुन्जेलसम्म चल्यो। मुस्लिम धर्मका नेताहरु, नातेदार तथा परिवारको उपस्थितिमा भएको विवाहमा दुलही र दुलाहा विशेष पहिरनमा सजिएका थिए। उनीहरुले एक–अर्कालाई आफ्नो जीवन साथीका रूपमा स्वीकार गरे। कुनै भव्य पार्टीको आयोजना गरिएको थिएन। तर त्यो कुनै साधारण विवाह उत्सव थिएन।  

हेनाका श्रीमान अली अहमद पेसाले सेफ हुन। लामो समयसम्म ‘बटरफ्लाई होम’ मा खाना पकाउने काम गरेकी हेनाले आफूले जानेको सीप अनुसार जीवनमा केही गर्ने योजना बनाएकी छन्। उनले काठमाडौं आएर सम्भव भएसम्म आफ्नी जन्मदिने आमालाई खोज्ने योजना बनाएकी छन्। उनलाई जन्म दिने आमा कहाँ होलिन् भन्ने लागिरहन्छ। आमाको खोजी उनको एउटा उदेश्य हो।

‘मैले लामो समयदेखि आफ्नी आमालाई देखेकी छैन। सायद म १५ वर्षकी थिएँ होला जतिबेला आमा जेलबाट छुट्नुभएको थियो। त्यसपछि उहाँ हराउनुभयो। म सँग उहाँ (आमा)को फोन नम्बर पनि छ, तर त्यसमा फोन नै लाग्दैन,’ हेनाले भनिन्।

जतिबेला हेना भर्खर कुराहरु बुझ्न हुन थालेकी थिइन्, त्यति नै बेला उनकी आमा जेल परेकी थिइन्। आफ्नो जन्मदिने आमालाई के कारणले जेलमा राखिएको थियो भन्ने हेनालाई थाहा छैन। सुरुमा हेनाकी आमालाई पाल्पाको जेलमा राखिएको  थियो पछि उनलाई काठमाडौंको सुन्धारा जेलमा राखियो। त्यतिबेला सानी फुच्ची हेनाले आफ्नो आमालाई धेरै कुराहरु सोध्न सकिनन्।

‘हामी पाल्पा हुँदा म मेरो हजुरआमासँग बस्थेँ। म आफ्नो आमालाई जेलमा भेट्न जान्थेँ। त्यसपछि हामी काठमाडौं आयौँ, आमालाई पनि काठमाडौंको सुन्धारा जेल ल्याइयो। मैले आमालाई बुवाको बारेमा कहिल्यै धेरै कुरा सोधिन, उहाँ मलाई बुवाको बारेमा भन्न पनि मन पराउनुहुन्थेन,’ हेनाले सम्झिन्।

सायद ‘बटरफ्लाई होम’ नभएको भए हेनाको जीवनले गतल लय समाउन सक्थ्यो। तर, हेनालाई भाग्यले साथ दियो, पुष्पाले आफ्नो परिवारको नयाँ सदस्यका रूपमा एक लजालु र शान्त स्वभावकी हेनालाई भित्र्याइन्।  

‘यो हाम्रो लागि एउटा ठूलो उपलब्धी जस्तै हो। हेनाको विवाह हाम्रो घरमा भएको पहिलो विवाह समारोह हो। दुलहीलाई मेहेन्दीले सजाउँदा यहाँ (बटरफ्लाई होम)का सबै बालबालिका र स्टाफहरु खुसी देखिन्थे। मैले यस्तै सन्तुष्टि प्राप्तीका लागि धेरै बच्चाहरुको ‘मामु’ बन्ने बाटो रोजेकी हुँ,’ भावुक हुँदै पुष्पाले भनिन्।  

पुष्पाले हुर्काएका अन्य बच्चाहरुले विभिन्न क्षेत्रमा अब्बल हुँदै आएका छन्। उनी सन् २०१६ मा सिएनएन हिरोबाट सम्मानित भएकी थिइन्। उनका खुसीहरु यसरी नै फुलिरहेका छन्।  

 

प्रकाशित: २३ पुस २०७७ ११:०४ बिहीबार

विवाह निकाह